कला/साहित्यबिहिवार, आश्विन १९, २०७४

गुमनामहरुको गीत

हिमालखबर

 

उहिल्यै एकदिन 

तिमीले खनेको बेनाम गोरेटो पहिल्याउँदै

पछ्याउँदै फिता चुँडिएको चप्पल र पाइतालाको डोब

सुनेर छिनो, झम्पल र खञ्जरको अविराम संगीत

तिम्रो हराएको कथा खोज्दै

आइपुगेको हुँ म तिम्रो गाउँसम्म ।

छ्याम छ्याम छप्काइरहेथ्यो खुर्पाले हाँगाहरू

झ्याम झ्याम बजिरहेथ्यो कोदालो दल्छिन ढुंगा काट्दै

बज्दै थिए धुन छर्दै हरिया पात रुखका

जल्दै थिए पत्कर र कसैले छोडिगएको काँचुली

त्यही बेला छुटेको हावाको लस्कर र पसिनाको सुगन्ध

पहिलोपल्ट थाहा पाएको हुँ मैले

तिम्रो गाउँमा आइपुग्दा ।

अनवरत चलिरहे झै पृथ्वीको यात्रा

कसरी चलेका हुन् तिम्रा पाखुरा जुगानुजुग ?

निगुरा झै कुर्लुङ्ङ कपाल

त्यो बोकिहिंडेको जूनजत्रै टाउको

कसरी अडिएको हो ब्रह्माण्डमा ?

कति बलिया हुन् ती औंलाहरू

जो लुछिरहेछ विशालु झार धर्तीभरिको

सबभन्दा शक्तिशाली ती खुट्टा हुन्

जो सिंगो पृथ्वीलाई बोकिहिंडेको छ

समयको गणित शुरु हुनु अघिदेखि ।

म अचम्मित छु

विज्ञानले कोर्नुअघि पहिलो सीधा रेखा

बनाइसक्यौ श्रमको करोडौं माइल बाङ्गाटिङ्गा बाटाहरू

घोषणा गर्नुअघि धर्मगुरुहरूले धर्म/अधर्मको सिमाना

रोपिसक्यौ पसिनाको बीउ अरबौं ओसिला हृदयहरूमा

नउठाई ढाड उभ्यायौ पिरामिड, ग्रेट वाल, उनिरी स्क्वायर

सिंहदरबार, बकिंमघम प्यालेस, ह्वाइट हाउस

यहाँ पृथ्वीभित्रको पृथ्वी

फनफन्ती घुमिसक्यो मानिसको हत्केलामा

अविश्रान्त खनिरहेका छौ पर्वत फुटाएर डेथ हाइवे ।

तिमीले नहानेको भए गैंती

कसरी बन्ने थियो जेम्स डेल्टन हाइवे अलास्कामा

हजारौंपल्ट मर्दै तिमीले नफुटाएको भए पहाड

कसरी बन्ने थियो पनामा नहर

न बन्ने थियो बर्माको डेथ रेलवे

तिमीले नबिछ्याएको भए आफ्ना करङ

कसरी बन्थ्यो सिल्क रोड ?

कसले उभ्याउँथ्यो मोहनजोदाडो सभ्यता ?

तिमी नभएको भए कसले जोड्थ्यो कर्णालीलाई देशसँग ?

कसले झुण्ड्याउँथ्यो ग्लास स्काईवाक आकाश नजिकै

को पुरिन्थ्यो कोइलाखानीमा ?

को जल्थ्यो तेलको कुवामा ?

को ?

ए सभ्यताका सर्जक !

बेखबर छौ तिमी

खोपडी रित्याएर बजार ब्राण्डिङ गरिरहेछ तिम्रो गिदीको

तिम्रा लागि निषेधित शासकको दरबारमा

कहिलेसम्म कुँदिरहन्छौ कामकला ?

कहिलेसम्म खनिरहन्छौ अरुको चिहान र फालिन्छौ आफू बेवारिस लास ?

फर्काऊ अब उज्यालोतिर अनुहार

उठाउ ढाड र छामिहेर छाती

खोज हिसाब !

कसले निल्यो तिम्रो मुटु, कलेजो ?

कसले झिक्यो आँखा, नाक र जिब्रो ?

सभ्यताको भव्य बजारमा

कसले बेनाम गर्‍यो तिमीलाई ?

प्रिय गुमनाम शिल्पी !

हल्लिने गरी टेक्दै यो सभ्यताको जरा

आउ घुमिरहेको पृथ्वीको उच्च विन्दुमा

गाउँदै तिम्रो इतिहासको गुमनाम गीत

म तिमीलाई सिंगो प्रेम गर्न उभिएको छु ।

प्रतिकृया दिनुहोस