रिपोर्टशुक्रवार, आश्विन १३, २०७४

त्यो घर

बच्चु विक

द्वन्द्व, प्राकृतिक विपत् तथा अन्य विविध कारणले घर छोड्न बाध्य सर्वसाधारणलाई अरू समयभन्दा चाडपर्वको बेला घरको हुटहुटीले पिरोल्छ।

“सेनाले गोली हानेर श्रीमान्‌लाई मारे, घरमा आगो लगाइदिए”, म्यानमारबाट भागेर ज्यान जोगाएकी अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायकी रोहिङ्गा दिलारा (२०) ले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) का प्रतिनिधिसँग भनेकी छन्, “म १८ महीनाको बच्चा बोकेर भागें।” 

म्यानमार सरकारले दमन बढाएपछि अहिले करीब चार लाख रोहिंग्या बाङ्लादेश, भारत र केही नेपालमा समेत शरणार्थी बनेका छन्। 'बौद्ध राष्ट्रवाद' हावी भएको म्यानमार (पहिले बर्मा) मा अल्पसंख्यक समुदायमाथि सरकार समर्थित साम्प्रदायिक हिंसा हुने गरेको छ।

सन् १९६२ मा करीब ४० हजार नेपाली मूलका बर्मेलीहरूलाई पनि देश छाड्न बाध्य पारिएको थियो। सन् १९९० मा नेपाली मूलका करीब सवा लाख भूटानी नागरिकलाई त्यसैगरी देश छाड्न बाध्य पारिएको थियो।

गृहयुद्धका कारण गत वर्ष ६० लाख सिरियाली शरणार्थी बनेका थिए। त्यसबेला बुवाको हातबाट छुटेर समुद्रमा खसेका तीन वर्षका अलम कुर्दीको शवको तस्वीरले विश्वलाई नै स्तब्ध पारेको थियो।

यी त भए बाहिरका कुरा। नेपालमा माओवादीको १० वर्षे हिंसात्मक द्वन्द्वको उत्कर्षमा दुइटा तस्वीरले संसारभर चर्चा पाएका थिए– एउटा, ३२ साउन, २०६० मा रामेछापको दोरम्बामा सेनाले हत्या गरेका १८ माओवादी कार्यकर्तामध्ये बाबुराम तामाङ र त्यसको दुई वर्षअघि ३ माघ, २०५८ मा माओवादीले हत्या गरेका लमजुङको दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको तस्वीर।

ती दुईमध्ये शिक्षक अधिकारको परिवारले घर छाड्नु पर्‍यो, अन्य हजारौं विस्थापित जस्तै।

'घर काँ हो?'

बलजफ्ती आफ्नो घर छाडेर अनिश्चित यात्रामा निस्कनुपर्दा कस्तो पीडा हुन्छ? छाडेको घरको सम्झ्नाले कति पिरोल्दो हो?

घर नजिकै रूखमा बाँधेर बुवा मुक्तिनाथको हत्या गरिएपछि गाउँ छोडेर हिंड्न बाध्य पारिएका सुमन अधिकारी भन्छन्, “कुनै पनि मान्छेले सबभन्दा सुरक्षित महसूस गर्ने ठाउँ आफ्नै घर हो, त्यही घर छोड्नु पर्दाको पीडा अवर्णनीय हुन्छ।”

गाह्रोसाह्रो पर्दा मानिसलाई घरकै याद आउँछ। अपरिचितसँग 'घर कहाँ हो?' भनेर कुरा थालिन्छ। सशस्त्र द्वन्द्वले हजारौं परिवारलाई बस्न नपाएको आफ्नो गाउँ बताउन र घर सम्झेर रुन बाध्य पार्‍यो।

माओवादीको दशक लामो हिंसात्मक विद्रोहमा करीब १७ हजारको ज्यान गयो, ८० हजार थातथलोबाट विस्थापित भए। राज्य र विद्रोही दुवै पक्षका पीडितहरूको संस्था द्वन्द्वपीडित साझा चौतारीका अनुसार करीब २० हजार द्वन्द्वपीडित अझ्ै घर फर्कन सकेका छैनन्।

घाइते र अपाङ्गहरूलाई घर फर्किन गाह्रो छ, उपचार र हेरचाहका हिसाबले पनि। परिवारका सदस्य गुमाएका र जग्गाजमीन खोसिएकाहरू घर फर्कंदा पीडा बल्झिने वा जीविका नहुने समस्यामा छन्।

कति विस्थापितले शहरबजारतिर गुजाराका नयाँ पेशा अपनाएर बालबालिका हुर्काएका छन्। उनीहरूलाई गाउँ फर्केर दैनिकी चलाउन सजिलो छैन। र पनि, मनमा त्यही पुरानो घर बसेको छ।

स्वर्गीय मुक्तिनाथ अधिकारीको परिवार अहिले राजधानीमै घर बनाएर बसेको छ। लमजुङको सुन्दरबजार नगरपालिका–३ मा रहेको उनको घर भत्किसकेको छ, मतान (पाली) मात्र बाँकी छ। तैपनि चाडपर्व आयो कि उही घरको याद आउने छोरा सुमन अधिकारी बताउँछन्।

“दशैं–तिहार त आउनै हुन्न, आमा 'अब त घर जाने होला नि!' भन्नुहुन्छ” उनी भन्छन्, “घरमै बसेको बेला आमाले अनायासै घर जाऔं भन्दा कोही बोल्न सक्दैनौं, ऐंठन हुन्छ।”

आफू हुर्किएको घर
कतिपयले न्यायको लागि गरेको कानूनी लडाइँकै कारण पनि घर फर्केर ढुक्कले बस्न सकेका छैनन्। जस्तो, जनकबहादुर राउत अहिले पनि कपिलवस्तुको शिवपुर नगरपालिका–१ स्थित घरमा असुरक्षित महसूस गर्छन्।

उनलाई शिवदल गणका सैनिकहरूले २ वैशाख, २०६२ मा माओवादी भन्दै गोरुसिङ्गे ब्यारेकमा ल्याएर १६ दिन यातना दिएका थिए। त्यसपछि हरेक दिन हाजिर हुने गरी तारिख लगाइएको थियो।

त्यसपछि काठमाडौं विस्थापित भएका उनी शान्ति प्रक्रिया शुरू भएपछि कानूनी उपचारमा लागे। १२ असार, २०६४ मा जिल्ला अदालत, कपिलवस्तुले यातना सम्बन्धी मुद्दामा शिवदल गणका तत्कालीन गणपति कुमार लामालगायतका सैनिक विरुद्ध र राउतको पक्षमा फैसला गर्‍यो।

अदालतले कर्णेल लामासहितका सैनिकहरूलाई डेढ वर्ष जेल सजाय र राउतलाई रु.७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गर्‍यो, तर सेनालाई त्यसले केही फरक पारेन।

“बरु म नै अझ् जोगिएर हिंड्नुपर्ने अवस्था सिर्जना भयो” राउत भन्छन्, “मान्छे सुरक्षित हुन जाने घर नै असुरक्षित भएपछि केही बाँकी रहँदैन।”

अदालतको फैसला कार्यान्वयन नभएपछि उनले मानवअधिकारका क्षेत्रमा कार्यरत संस्थाको सहयोगमा बेलायतको सेन्ट्रल क्रिमिनल कोर्टमा उजुरी दिए। अनि परिवार भेट्न लण्डन पुगेका कर्णेल लामा 'विश्वव्यापी क्षेत्राधिकार' अन्तर्गत १९ पुस, २०६९ मा पक्राउ परे। तर, लामो कानूनी प्रक्रियापछि लामाको मुद्दा मुल्तबीमा राखियो र उनी हिरासत मुक्त भए।

एक्लै काठमाडौंमा डेरा लिएर बसेका राउत साँझ–बिहान खाना खाने बेला चाडपर्वमा घरको सम्झनाले सताउने बताउँछन्। त्यस्तै, घोडाघोडी नगरपालिका–३ कैलालीका लालबहादुर चौधरी भन्छन्, “जतिसुकै ठूला कुरा लिएर जहाँ पुगे पनि त्यो घरभन्दा न्यानो ठाउँ कहीं हुँदैन।”

 “कुनै पनि मान्छेले सबभन्दा सुरक्षित महसूस गर्ने ठाउँ आफ्नै घर हो, त्यही घर छोड्नु पर्दाको पीडा अवर्णनीय हुन्छ।” 
-सुमन अधिकारी

चौधरीले 'मुक्तिको सपना' देखेरै घर छोडेका थिए। २०५९ माघमा माओवादी बनेका उनी त्यसपछिको तीन वर्षमा मध्यपश्चिम र सुदूरपश्चिमका सबै जिल्ला पुगे। पहिले सांस्कृतिक र पछि सैन्य टोलीमा सामेल उनी 'जनताको घर नै हाम्रो घर हो' भन्दै सयौं घरमा बास बसे।

तर, मनले सधैं आफ्नो परिवार भएको घर खोजिरहने उनी बताउँछन्। “दिउँसो त दिमाग अन्तै भुल्थ्यो” चौधरी भन्छन्, “राति लखतरान भएर हिंड्दा र बिरामी परेको बेला घर सम्झेर आँसु झ्र्थ्यो।” 

बर्दियाको बबई नगरपालिका–६ बगनाहामा हुर्किएका गोपाल शाही २०५८ मा माओवादीहरूले 'सुराकी' भन्दै कुटपिट गरेपछि परिवारसँगै विस्थापित भएर कैलालीको टीकापुर पुगे।

अहिले उनी काठमाडौंमा बस्छन्, बगनाहामा उनको घरको अवशेष पनि छैन। तर, कसैले 'घर कहाँ हो?' भनेर सोध्दा उनको मुखबाट फुत्किहाल्छ– बगनाहा। “त्यहीं हुर्कें, बढें बाल्यकालका साथीभाइ त्यहींका छन्” शाही भन्छन्, “घर भन्ने बित्तिकै बगनाहाकै त्यही घर सम्झिन्छु।”

त्यस्तै हुन्छ सुमन अधिकारीलाई पनि, जब बुवाबारे समाचार र कुराहरू सुन्छन्। त्यस्तो बेला उनलाई अहिले नाम निसान नै नरहेको दुराडाँडाको आफू हुर्किएको घरको माया लाग्छ। बुबाले बनाएको त्यो घर त कहिलेकाहीं सपनामा देखिने, तर काठमाडौंमा आफूले बनाएको घर कहिल्यै नदेखिने उनी बताउँछन्।

घर एक सपना
माओवादी द्वन्द्व बाहेक अन्य विभिन्न राजनीतिक आन्दोलनका क्रममा पनि कैयौं नेपाली विस्थापित भएका, घर गुमाएका छन्। मधेश आन्दोलनताका पहाडी समुदायका धेरै परिवार तराई–मधेशबाट रातारात विस्थापित भए।

अखण्ड सुदूरपश्चिम र थरूहट आन्दोलनका क्रममा थुप्रै पहाडी र थारू समुदायका घरमा आगजनी भयो। वर्षेनि प्राकृतिक प्रकोपमा घर गुमाउनेहरू पनि धेरै छन्। गत २७–२९ साउनमा आएको बाढीमा पनि पूर्वी तराईका ७९ हजार ८१२ परिवार घरविहीन भए।

उनीहरूमध्ये कोही पालमा त कोही आफन्तका घरमा आश्रय लिइरहेका छन्। १२ वैशाख, २०७२ को महाभूकम्पमा घर गुमाएका सात लाख ६५ हजार ६१८ परिवारका लागि पनि 'घर एक सपना' बनेको छ।

त्यस्तै घर हुँदाहुँदै पनि घरविहीन हुनेहरूमा पर्छन्– अनाथ बालबालिका र वृद्धवृद्धा। अनाथालय र वृद्धाश्रममा रहेकाहरू दशैं–तिहारलगायतका चाडपर्व नजिकिंदै जाँदा घर सम्झेर आँसु चुहाउँछन्।

प्रतिकृया दिनुहोस