कला/साहित्यशुक्रवार, आश्विन १३, २०७४

नेपाल सानै छ, देवकोटाज्यू!

हिमालखबर

विनोदविक्रम केसी


हे महाकवि! हे पण्डितपुत्र! 
आफ्नै हुर्मत लिने
कस्तो स्वाँठ प्रश्न गर्नुभएको तपाईंले–
के नेपाल सानो छ?

नेपाल सानै छ, देवकोटाज्यू!

हुँदै नभएको विशालता
बेलुनको अहंकार जसरी
छिरेको छ पाठ्यक्रममा
रमाइरहेका छन् कलिला केटाकेटी
(झूट र जङ्कफूड दुवैमा बानी पारिंदैछ बिचराहरूलाई!)

थोत्रो हिमाल
पुरानो बुद्ध
नदीनालाका आदिम प्रवाह
र, पुर्खाका प्राचीन ढाल–तरबार...
यत्ति छन्, बस् यत्ति
गफ लडाउनकै निम्ति सही
यति थोरै खुराक दिने देश
कसरी विशाल हुन सक्छ?

जहाँ विज्ञान अपहेलित हुन्छ
र, आरनमा फोक्सो कुहाएर मर्छ

जहाँ आविष्कारका नाममा
ट्रिगर दबाउने औंला
र गोली थाप्ने छाती मात्र बन्छन्

जहाँ केही विशाल सोच्न सक्ने हरेक मस्तिष्क
कुल–गोत्रको अँध्यारोमा हराउँछ
जहाँ प्रेम गरेको अपराधमा
दलितको गला काटिन्छ
र, विष्टहरूको राज्य–सत्ता
अनवरत प्रेमको महानता फलाक्छ

जहाँ छालाको रङ कालो
र ठाउँको नाउँ मधेश मात्रै हुनुपर्छ
जिन्दगी र कलबिखमा कुनै अन्तर बाँकी रहँदैन

जहाँ शब्दकोश
एउटै शब्दको अर्थ
जात र तदनुरूप औकात हेरेर बाँड्छ
एउटालाई भन्छ सुन मूल्यवान् धातु
अर्कोलाई भन्छ पित्तलजस्तै पहेंलो वस्तु

जहाँ युगौंदेखि एउटै फूल
बसिरह्यो देशलाई सुहाउने बनेर
र, गुलामहरूले
हजारौं फूलका रूपमाथि
हजारौं फूलका सुवासमाथि
सिर्जेनन् एक सुर धुन

जहाँ लाखौं चिम्सा आँखामाथि
एउटै रोमान्टिक कविता लेखिएन

अपराधीको खोपडीभित्र चलिरहने
दुर्नियतको रागजस्तो देश
कसरी विशाल हुन सक्छ?

शासन गर्ने दुईचार जनालाई
विशाल होला
शासना पाउने दुई–तीन करोडलाई
नेपाल सानै छ, देवकोटाज्यू!

प्रतिकृया दिनुहोस