वरिष्ठ रेडियोकर्मी तथा गायक बासुदेव मुनाल रहेनन्
वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको निधन भएको छ । ६८ वर्षीय मुनालको १२ असोज साँझ भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो ।
सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सरबाट पीडित थिए । ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।
विराटनगरमा २००६ सालमा जन्मेका मुनालले रेडियो नेपालबाटै आफ्नो करियर शुरु गरेका थिए । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भए ।
मुनालले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ चर्चित गीत गाएका छन् । रासस