ब्लगबुधवार, आश्विन ११, २०७४

आँगन के आदमी, मकान के मनई

चन्द्रकिशोर

'मकान' सँगै पक्की घर र शहर पलायन बढेपछि मधेशका गाउँभित्रै गाउँ खोज्नुपर्ने अवस्था आएको छ।

बलरा, सर्लाहीका स्थानीयहरू।

'जब खायेगा बडे बडे कौर, तब पायेगा दुनिया में ठौर (जसले खान्छ ठूला ठूला गाँस, उसले पाउँछ दुनियाँमा बास)', 'माई पकाई गरर–गरर पुआ, हम खाइब पुआ, ना खेल जुवा (आमा पकाउनुहुन्छ गरर–गरर पुआ, म खान्छु पुआ, खेल्दिन जुवा)'– घर भन्ने बित्तिकै सबैभन्दा पहिले सानैमा हजुरआमाले खान कर गर्दै भनेका यी वचन मनमा आउँछ। सँगै आमाबुवाको सान्निध्य सम्झ्ना आउँछ।

काका, काकी, हजुरबुवा, हजुरआमाको आशिष याद आउँछ। अनि विस्तारै आउँछन्, ओरियानी अर्थात् छाना जोडिएको घरका छिमेकीहरू। ढीठ, निर्भय, आत्मीय, मंगलास्पद अनुभूति। जति वर्ष डेरामा बसे पनि घरमा जत्तिको सुरक्षित अनुभव कहिल्यै भएन। घर पुग्दाको आनन्द कतै पाइँदैन। 

अचेल देहातमा मानिसका दुई थरीका परिचयको चर्चा हुन्छ, 'आँगन का आदमी' र 'मकान के मनई'। यो वर्गीकरण बुझाइ, स्वभाव र व्यवहारका आधारमा गरिएको जस्तो देखिन्छ। घर भन्ने वित्तिकै आँगन हुन्थ्यो, बाहिर दलान हुन्थ्यो, चारैतिर खुला। सामूहिकता, संयुक्त परिवारको आत्मीयता।

तर, मकान भन्नासाथ चारैतिरबाट घेरिएको, समाजसँग टाढिंदै गरेको एक्लो सानो परिवारको बिम्ब खडा हुन्छ। अहिलेको मधेशमा घर र मकान बीचको खाडल गहिरिंदै गएको छ, जसले बदलिंदो मधेशी समाजको समाज मद्दत गर्छ।

भनिन्थ्यो नै, 'जुन घरमा भँगेराको बास हुँदैन त्यो घर निवंशी हुन्छ।' अर्थात् घरको बनोट यस्तो हुन्थ्यो जहाँ भँगेराले सहज बास पाउन सकोस्। दलानमा परेवाले ओत लिन सकोस्। आफू जे जस्तो खाए पनि 'कौर' कुकुरलाई खुवाउने गरिन्थ्यो।

यसको भाव आफू मात्र होइन, वरिपरिका चराचुरुङ्गी र जनावर पनि पालिनुपर्छ भन्ने लाग्दथ्यो। आँगनमा तुलसीको मठ घरको हिस्सा मानिन्थ्यो। र, त्यस्ता घरमा घनश्याम अर्थात् भगवानको बास हुन्छ भन्ने ठानिन्थ्यो।

केही दशकअघिसम्म, रोजीरोटीका निम्ति जता भौंतारिए पनि पर्वका बेला भने मानिस पुर्ख्यौली घरमै फर्किन्थे। दशैं, त्योहारमा लामो समयदेखि घर जाने प्रतीक्षा हुन्थ्यो।

अहिले त छठ जस्तो पर्व पनि आफू जहाँ बस्छन् त्यहीं मनाउन थालेका छन्। यस्तो बेला कसैले 'तपाईंको घर कहाँ हो' भनी सोधिहाले भने जवाफ नभेटिन पनि सक्छ।

नेपाली समाजभित्र पनि मधेशी समाज लामो समयसम्म आफ्नो थातथलोसँग जोडिइरह्यो। पुरानो थातथलोलाई 'डीह' भनिन्थ्यो, पुस्तौनी गाउँमा बिताएकाहरू आफूलाई 'डीही' भनाउँदा गर्व गर्थे। यसप्रति मोह पनि देखिन्थ्यो।

कतिसम्म भने, अहिले पनि सदरमुकाम वा राजधानी, जहाँ बास सरे पनि दुई मधेशीबीचको परिचयको शुरुआत नै परिचित हुँदा 'पुर्ख्यौली घर कहाँ छ?' बाट हुन्छ। यसो हुनु घरकै 'नोस्टाल्जिया' हो।

विशेष वास्तुकला
घरको सम्झनामा वास्तुकलाको परिदृश्य पनि उदाउँछ। जहाँ हुन्छन्, फुस वा खपडाको गुजुमुजिएको घर, दलान, खलिहानमा बाँधिएका गाईबस्तु। गाईबस्तुका अगाडि 'नाद'। आपसमा जेलिएका घरका छेउछाउमा केरा, अम्बा, आँप, मेवाको रूख। छेउछाउमा बाँस र आँपका घारी। 

प्रायः भुईंतल्ले यस्ता घर बनाउँदा खम्हा (खम्बा) गाडेर चारैतिरबाट टाट (बार) लगाएर ढोका र झयाल राखिन्छ। टाटको स्थानमा चारैतिरबाट माटोको गारो पनि हालेको पाइन्छ, जसलाई भित्ता भनिन्छ। इँट पनि प्रयोग गरेको देखिन्छ।

घरलाई छानाको बनावटको आधारमा एकचारी (एक छानो भएको), दुचारा (दुई छाना भएको) र चौचार (चारवटा छाना भएको) नाम दिइन्छ। चारैतिर घर र बीचमा आँगन भएको घरलाई चौपार भनिन्छ। चौपारको एउटा कुनामा अगाडिपट्टि गोलो आकारको खुला घर बनाइन्छ, जसलाई नौगोल भनिन्छ। दुईतल्ले काठको घरलाई खलङ्गा भनिन्छ।

पाहुनाका लागि बनाइएको छुट्टै घरलाई दलान, बैठका वा बरघरा भनिन्छ। गाईबस्तु बाँध्न बनाइने छाप्रोलाई 'घारी' र दाउरा राख्न बनाइएको संरचनालाई 'गोरहिया' भनिन्छ। घरको पूर्णताका निमित्त त्यसमा ढिकी र जाँतो पनि आवश्यक मानिन्थ्यो। धनीमानी र शक्तिशाली व्यक्तिको घरलाई भने हवेली वा ड्योढी भन्ने चलन अहिले पनि छ।

घरका बाहिरी र भित्री भागलाई चित्रकलाहरूले सजाउन प्रायः महिलाहरू अग्रसर हुन्छन्। कला र वास्तुकलाको विशिष्ट शैली तराईका विभिन्न क्षेत्रमा पाइन्छ। मिथिला, अवधी, थारू, राजवंशी, सन्थाललगायतका कलाका आ–आफ्नै परम्परा छन्।

पहिलेपहिले आँगनभित्र महिलाहरू र दलानमा पुरुषहरू हुन्थे। उमेर पुगेका पुरुषहरू हत्तपत्त दिनमा घरमा छिर्दैनथे। खाना खानुपर्दा बोलावट हुन्थ्यो, जसलाई 'बिजो' भनिन्थ्यो। भित्र छिर्नुपर्‍यो भने भित्र र बाहिर दुवै पट्टिबाट ढोका खुल्ने कोठा दुरुखा पुगेर खकार्थे।

खाना खाने ठाउँमा गोबरले लिपिसकेपछि माटो–पानीले पुनः लिप्ने चलनलाई 'ठाँ करव' भनिन्छ। प्रायः घर फुस वा खपडाका हुन्थे। घरभित्रको फोहोर पानी निकासका लागि बनाइएको खाल्डोलाई अइठार–गडही र अन्य फोहोर थुपार्ने ठाउँलाई 'मान' भनिने कुरा पनि मधेशवासीलाई नौलो नहुनुपर्ने हो।

मधेशमा कोठी, ठेक, बेढी, डेहरी, धनसरजस्ता शब्दले भकारी बुझाउँछ। यी भकारी माटो वा बाँस–काठबाट बनेका हुन्छन्। भकारीलाई पनि गेरुवा र पिठारले विभिन्न चित्र बनाई सजाउने गरिन्छ। सिकहर (बिरालोबाट दूध, दही जोगाउन डोरीले बनाइने जालो) मा अरू समान पनि राखिन्छ।

तर, पछिल्लो दशक गाउँमा पक्की घरहरू बाक्लिन थालेका छन्, अब गाउँभित्र पनि 'मकानका मान्छे' बढ्न थालेका छन्। घरका नयाँ संरचनाले बदलिंदो मौसमको रुप रङ्ग अनुकूल छैनन्। तर, यसबारे खासै छलफल हुनसकेको छैन।

रोचक कुरा चाहिं किन हो, मधेशी मानसमा अहिले पनि पुरानो घडेरीको मोह कायम छ। अंशबण्डा भइसक्दा पनि पुरानै घडेरीमा अटेसमटेस गरेर घर बनाउने तर बाहिरको जग्गा, खेतमा सर्न नचाहने मनोविज्ञान हट्न सकेको छैन।

घरसँग जोडिएका अनेकौं उखान टुक्काहरू पनि छन्, जसले मधेशी समाजभित्र घरको बहुआयाम दर्शाउँछ। 'घर मे दिया जराके तब मस्जिद में जरावे के' (पहिले आफ्नो घर राम्ररी सपार्नुपर्छ अनि मात्र बाहिर), 'घर घर देखा एके लेखा' (सबैको घरमा माटोकै चुल्हो हुन्छ), 'घर में दही त बाहरो दही' (घरमा ठीकठाक छ भने बाहिर पनि ठीक नै हुन्छ) केही उदाहरण हुन्। यी कहावत, कहाउतीले मधेशी समाजको चित्रण र चिन्तन पद्धतिलाई पनि उजागर गर्दछ।

हराउँदो संयुक्त परिवार
हजुरबुवादेखि पनातिसम्मको पुस्ता एउटै परिवारमा बस्नु सामान्य थियो। परिवारको कुनै सदस्य रोजगारीका लागि बाहिर पलायन भए पनि पारिवारिक व्यवस्थापन पुर्ख्यौली घरबाटै हुन्थ्यो। वर्षभरि बाहिरै बसे पनि छठ र फागु, इद र बकरिदमा उनीहरू गाउँमै फर्किन्थे।

घर भन्ने वित्तिकै संयुक्त परिवार बुझिन्थ्यो। आँगनमा बालबालिका लडिबडी गरिरहेका हुन्थे, दलानमा उफ्रिरहेका हुन्थे। पुरुषलाई आफ्नो बच्चा आफैं खेलाउने एक किसिमको सेहन्ता (लालसा) हुन्थ्यो। कारण, संयुक्त परिवारमा बच्चाहरूलाई अरूले नै हातैहात खेलाइरहेका हुन्थे।

यतिबेला तराईको संयुक्त परिवार संकटमा छ। अधिकांशको रोजाइ एकल परिवार नै बनिरहेको छ। संयुक्त नै भनिएको कतिपय परिवारमा पनि सबै सदस्यको मिलन कुनै खास स्थिति र अवसरमा पर्खनु परेको छ।

नातिनातिनाले हजुरबुबा–आमासँग खेल्न पाउनु, नातिनातिनाको तोते बोलीमा हराउने बेला विस्तारै उहिलेका कुरा बनिरहेका छन्। बच्चाहरूको किलकारीले गुन्जिने घर विस्तारै हराउँदै छन्।

प्रतिकृया दिनुहोस