ब्लगबुधवार, आश्विन ११, २०७४

घरको भर

केदार शर्मा

हामी नेपालीलाई घरको भर यति धेरै छ कि हामीमध्ये धेरैको जीवनको एउटा मुख्य प्राथमिकता 'आफ्नै घर' हुने गरेको छ।

सम्पदाविद् रवीन्द्र पुरीको डिजाइनमा साँगा भक्तपुरस्थित नेपाली मौलिक शैलीमा निर्मित नमूना घर। तस्वीरः गोपेन राई

“अनि घर चाहिं कता पर्‍यो नि?” 

हामी नेपालीको चिनजान नै ठेगानाबाट शुरू हुन्छ, त्यो पनि सकेसम्म 'स्थायी' ठेगानाबाटै। कदाचित् उत्तर दिनेले 'काठमाडौं' भन्यो भने सोधिने अर्को सम्भावित प्रश्न हुन्छ, “घर नै? (कि डेरा?)”

कसैले बानेश्वर, अनामनगर, गोठाटार, काँडाघारी, कपन, इमाडोल, कौशलटार जस्ता नयाँबस्तीमा घर बतायो भने ऊ काठमाडौं उपत्यकाको 'नयाँ स्थायी' रहेछ भन्ने बुझिन्छ। डिल्लीबजार, बत्तीसपुतली, ताहाचल, हाँडीगाउँ जस्ता ठाउँ बतायो भने प्रश्नकर्ताले सोध्छ, “पहिल्यैदेखि?”

त्यति सोध्ने बित्तिकै मान्छेको आर्थिक मात्र नभएर पारिवारिक हैसियतको पनि रूपरेखा तयार हुन थाल्छ। 'काठमाडौंको घर' मध्यमवर्गीय नेपालीको सबभन्दा स्पष्ट हैसियत मापक भएको छ।

यो काठमाडौंमा मात्र सीमित छैन। कुनै पहाडेले मधेशको ठेगाना बताउने बित्तिकै प्रश्न आइहाल्छ, “अनि पहाड कहाँ?”

“बाका पुस्तामा झरियो कि हजुरबाका पुस्तामा?”

यस प्रश्नले उत्तरदातासित बिघामा नापिने जमीन छ कि कट्ठा मात्र भन्ने जानकारी खोज्छ। कदाचित उत्तरदाता आफ्नै पुस्तामा मधेश झरेका रहेछन् भने धुरमा नापिने जमीन मात्र हुनसक्छ।

मधेशका रैथानेहरूको परिचयमा त अझ् गाउँ, मधेशको शहर र काठमाडौंमा कहाँ–कहाँ र कति वटा घर छन् भन्ने बुझिने गरी प्रश्न गर्ने चलन हुन्छ।

“घर कहाँ?” भन्दा उत्तरदाताले मधेश वा पहाडको कुनै एउटा मात्र ठेगाना बतायो भने सम्भवतः प्रश्नकर्ताले स्वतः बुझछ– यो गरीबले अन्त घरघडेरी जोड्न सकेको रहेनछ! त्यसैले उत्तरदाताहरू पनि भनिहाल्छन्, “यता इलाम, तल हल्दीबारीतिर, बिर्तामोडतिर पनि बसिन्छ।”

वा, “अहिले त यतै, सुकेधारातिर...।”

यस्तो उत्तरमा 'अहिले त' मा विशेष जोड दिइएको हुन्छ। ठाउँका नामहरू फरक पर्न सक्छन्, प्रश्न र उत्तरका आशयहरू उही हुन्छन्।

ठेगाना, सकभर स्थायी ठेगाना विना परिचय पूरा नहुने ठाउँ अन्त पनि छन् कि नेपाल मात्रै हो, मलाई थाहा छैन।

अंग्रेजीको प्रश्न “ह्वेर आर यु फ्रम?” ले 'घर' सोध्दैन, ठाउँ मात्र सोध्छ। हिन्दीमा “आप कहाँ से हैं?” वा “कहाँ के रहने वाले हैं?” भनेर सोध्दा पनि नेपालीमा जस्तो 'घर' सोधिएको हुँदैन। हामीलाई मात्र घरको भर किन यति धेरै?

आजसम्ममा आफूले पनि कैयनलाई घर सोधियो, अर्काले पनि आफूलाई सोधे र अर्काले अर्कालाई सोधेको पनि सुनियो। घर सोधेकोमा कोही कसैसित रिसाएको, “जहाँ भए पनि तपाईंलाई किन खस्खस्” वा त्यस्तै अरू कुनै रूखो जवाफ दिएको सुनिएन।

कसैले “मेरो घर छैन” भनेको पनि सुन्नु परेको छैन। यो अचम्मको चलन देखेर कहिले रमाइलो लाग्छ, कहिले दिक्क। जे लागे पनि यो हाम्रो चलन हो, यसै हट्दैन।

पहिले त हाम्रो समाजमा सीधै जात सोध्ने चलन थियो, “कसमा पर्नुभो?”

२०४४ सालमा पहिलो पटक डोटी जाँदा एउटा होटलमा मलाई नै सोधिएको थियो, “तल्लो कि मल्लो?” मैले फ्याट्टै 'तल्लो' भनेपछि, 'होइन सर यति लामो नाक छ' भन्दै 'मल्लो' को व्यवहार पाएको बिर्सेको छैन।

हिजोआज जात सोध्नु सामाजिक रूपले सही मानिंदैन। त्यसैले अप्ठ्यारो मान्दै भए पनि थर सोधिन्छ। कसैले नाम मात्र भन्यो भने प्रश्नकर्तालाई साह्रै खस्खस् हुन्छ। थर नभन्ने उत्तरदातालाई दलित रहेछ भन्ने अनुमान गरिन्छ।

ठरठेगाना र नातागोता नभएको व्यक्तिलाई 'घर न थरको' भन्ने चलन छ। तर खुशीको कुरा, हाम्रो समाजमा जति गरीब भए पनि 'घर न थरको' अवस्थामा पुगेका मान्छे हत्पति भेटिंदैनन्। 

काठमाडौं. शान्तिनगरस्थित वागमती नदी किनारमा रहेको सुकुम्वासी वस्ती।

धन्न शब्द छैनन्
कहिलेकाहीं, खासगरी अनुवादको काम गर्दा अंग्रेजीका होम र हाउस जस्ता मिहिन अन्तर भएका शब्दहरू नेपालीमा नभएकोमा भाषिक हिसाबले हामी गरीब भए जस्तो लाग्छ।

ठाउँ हेरी 'होम' लाई 'घर' भन्ने हो भने 'हाउस' लाई 'भवन' भनेर काम चलाउन कर लाग्छ, तर त्यो कागजमा मात्र चल्छ, जनजिब्रोमा भिज्दैन। अनि खुशी लाग्छ, हामीकहाँ होम र हाउसका लागि मात्र होइन, होमलेस र हाउसलेसका लागि पनि शब्द छैनन् र धन्न छैनन्!

कुनै कुरा बुझाउने शब्द नहुनु भनेको समाजमा त्यो अवधारणा पनि नहुनु हो। शब्दहरूको निर्माण आ–आफ्नो संस्कृति अनुसार भएको हुन्छ।

अंग्रेजीमा न हाम्रो 'गृहस्थ' को अवधारणा ठ्याक्क बुझाउने शब्द छ, न 'सुकुम्बासी' नै एक शब्दमा अनुवाद हुन्छ। सुकुम्बासीहरू होमलेस होइनन्, हाउसलेस पनि होइनन्।

उनीहरू आफ्नो जमीन नभए पनि, सानै भए पनि घर र घरजम भएका भूमिहीन गृहस्थ हुन्। होमलेसका लागि नेपाली र संस्कृत जोडजाड पारेर बनाइएको शब्द 'घरबारविहीन' ले काम चलाइन्छ। बोलीचालीमा सामान्यतया प्रयोग नभए पनि यस लेखमा 'घरबारविहीन' चलाइएको छ।

घरवारविहीनता (होमलेसनेस) को समस्या संसारका धेरै देशमा छ। यसको परिभाषा देश र समाज अनुसार फरक हुन्छ, तर सामान्यतया 'आफ्नो' बासस्थान नभएका व्यक्तिहरूलाई 'होमलेस' भनिन्छ। 'आफ्नो' भनेको 'आफ्नो स्वामित्व' मात्र होइन, 'आफ्नो भोगचलन' पनि हो।

हाम्रो समाजमा भूमिहीन छन्, सुकुम्बासी छन्, डेरामा बस्नेहरू पनि धेरै छन् र बढ्दै छन्। तर डेरामा बस्ने लाखौं (देशभरमा १२ प्रतिशत र काठमाडौं उपत्यकामा ५६ प्रतिशत) नेपाली आफूलाई 'होमलेस' ठान्दैनन्। किनभने, उनीहरूमध्ये अधिकांश आफ्नो पृष्ठभूमिसित जोडिएकै हुन्छन्। धेरै त नयाँ घरजम जोड्ने कुरामा प्रयत्नशील र आशावादी हुन्छन्।

नेपालका करीब पौने तीन लाख सुकुम्बासी पनि 'होमलेस' होइनन्। विदेश जाने चलन र अलिकति पैसा कमाउनासाथ थोरै जमीन किनिहाल्ने नेपाली बानीका कारण हिजोसम्म भूमिहीन वा सुकुम्बासीका रूपमा हामीले नै चिनेका कतिपय परिवार अहिले लालपुर्जाका धनी भएका देखिन्छन्। तथ्याङ्कमा नदेखिए पनि (वा देखाउन नचाहे पनि) देशमा वास्तविक सुकुम्बासीको संख्या क्रमशः घट्दैछ।

नेपालीको घर र भूमिप्रतिको यस्तै मोहका कारण यहाँ घरवारविहीनताको समस्या छैन। दशकभन्दा लामो सशस्त्र द्वन्द्वमा धेरै नेपालीलाई नियतपूर्वक नै उठिबास लगाइयो, तर जति दुःख गरेर भए पनि उनीहरू थान्को लागेरै बसे, 'होमलेस' भएनन्। उनीहरूले जसरी हुन्छ आफ्नो थातथलोको स्वामित्व आफ्नै हातमा फिर्ता लिने प्रयास गरे, धेरै सफल पनि भए।

२०७२ सालको भुइँचालो पछि पनि कसैले आफ्नो घरघडेरी छाडेर हिंडेको देखिएन। मधेशमा वर्षेनि बाढी आउँछ, आघौं पनि बाढी आउँछ भन्ने जान्दाजान्दै पनि मान्छे रासोबासो छाड्दैनन्।

नेपालीहरू जति गरीब भए पनि साँझ परेपछि वा पानी पर्दा ओत लाग्न सार्वजनिक ठाउँ खोज्दै हिंडेका देखिंदैनन्। यसको सामाजिक–मनोवैज्ञानिक कारण पर्गेल्न सकियो भने हाम्रो राष्ट्रिय चरित्रको रेखाङ्कनमा मद्दत पुग्न सक्छ।

माओवादीले ध्वस्त पारेको धनकुटा मुगास्थित पूर्व प्रम स्व. सूर्यबहादुर थापाको  घर ।

नसरेको रोग
हामीसित सामाजिक–आर्थिक परिस्थितिहरू मिल्ने, खुला सिमाना पारिको भारतमा भने 'होमलेसनेस' को समस्या विकराल छ। सन् २०११ को तथ्याङ्क अनुसार त्यहाँ करीब १८ लाख मानिस 'होमलेस' छन्।

भारतका महानगरहरूमा रात परेपछि विश्रामका लागि जाने निश्चित ठाउँ, आफ्नै ओछ्यानमा सुत्ने परिस्थिति वा सुविधा नभएका अनगिन्ती मानिस छन्। त्यहाँका सरकारप्रमुखहरू लोकलाई रिझाउने हजारौं करोडका योजना लिएर टेलिभिजनमा झुल्किइरहन्छन्, तर ०.२ प्रतिशतभन्दा कम जनसंख्याको 'होमलेसनेस' समस्या कहिल्यै समाधान गर्न सक्दैनन्।

पुलमुन्तिर, पार्क, सडक, अरू सार्वजनिक वा बेवारिसे ठाउँहरूमा गुजारा गर्ने जनसंख्या भारतीय समाजको अङ्ग बनिसकेको छ। जे पनि सजिलै भित्रिने–बाहिरिन हाम्रो खुला सिमानाबाट 'होमलेसनेस' को रोग छिर्न नसक्नुका कारण जे–जे भए पनि ती गर्व गर्न लायक छन्।

रित्ता ठूला घरहरू
विभिन्न कारणवश नेपालमा घरविनाका मान्छे भन्दा मान्छेविनाका घरको संख्या बढ्दै गएको देखिन्छ। धेरै गाउँका धेरै घरहरू रित्ता छन्। सबभन्दा पहिले त्यसरी रित्ता हुनेमा धेरैजसो त गाउँभरिकै ठूला र राम्रा घरहरू छन्।

त्यसको कारण स्पष्ट छ। लामो समयसम्म हुनेखानेका ठूला घरहरू नै गाउँमा सबै कुराका केन्द्र थिए। जिल्लाबाट आउने कर्मचारी, शिक्षक आदि सुविधा र प्रभाव– दुवै कुराका लागि ठूलै घरमा बस्थे। ठूला घरेले अरूले भन्दा पहिले बाहिरफेरका कुरा बुझन पाउँथे।

आफ्ना सन्तान पढाउन सक्ने र मौकामा अझ् उपयुक्त ठाउँमा बसाइँ सर्ने पनि उनीहरू नै हुन्थे। मधेश, शहर वा विदेशमा अन्य उत्तम विकल्प हुँदा गाउँका ठूला घरहरूमा तिनका मूल मालिक अपवादका रूपमा मात्र बस्छन्।

जमानामा गाउँका थरी, मुखिया, जमीनदारका स्वामित्वमा रहेका ठूला घरमध्ये कतिपय अहिले जराजीर्ण भएका छन्। कति लड्न लागेका वा लडिसकेका छन्। कतिमा लागेको तालामा खिया जमिसकेको छ।

त्यस्ता कतिपय घरमा गाउँका सबभन्दा कमजोर आर्थिक–सामाजिक हैसियत भएका परिवारहरू बस्छन्। कति घर हेरालु मात्र भएका छन् र कतिले ठूलाघरेको सम्पत्ति कमाएर प्रगति पनि गरेका छन्। ठूल्ठूला रित्ता घरले कविशिरोमणिको प्रसिद्ध कविता सम्झाउँछन्–

तिमिले भन्छौ यो घर मेरो

म पनि कहन्छू यै घर मेरो।

वास्तव तिम्रो हो वा मेरो

खूब लगाउ मनमा फेरो।।

अघि कति भन्थे यै घर मेरो

कतिकति घस्थे रङ्ग कमेरो?

अब सब तिनको नाता पर भो

विधि–वश अहिले हाम्रो घर भो।।

पछि कतिकतिको यो हुन जाला

कतिकति जीवन यसले खाला?

कति छौं अहिले यसमा हामी

हेर कलेजा भरसख छामी।।

(गौंथलीको चिरिबिरी)

घरविनाको घरजम
अविवाहित अवस्थाका १० वर्षसहित म निरन्तर ३४ वर्ष काठमाडौंमा घरजम गरेर बसें। शुरूमा हामीसित घर बनाउने क्षमता थिएन। सानो कुटुरो हाल्न सकिने अवस्थामा पनि घर हाम्रो प्राथमिकता भएन।

अंग्रेजीमा एउटा चल्तीको कथन छ– 'होम इज ह्वेर द हार्ट इज' (जहाँ मन रमाउँछ त्यही घर हो)। घरको प्रसङ्ग भएकाले म मेरी श्रीमतीको पनि सहमतिमा यी हरफहरू लेख्दैछु। हाम्रा हकमा घरको स्वामित्वसित मन रमाउनुको सम्बन्ध कहिल्यै भएन।

कतिपय समयमा 'आफ्नो घर' को रहर वा चाहना हामीलाई पनि नभएको होइन, तर त्यस पछाडिका कारण अरू नै थिए। कहिले त्यसलाई सम्पत्तिका रूपमा हेरियो होला, कहिले पौरखका रूपमा। घर आफैंमा खुशी वा दुःखको कारण कहिल्यै भएन।

हाम्रो घर भएन तर हामीले सामान्यतयाः कहिल्यै आफूलाई 'घर नभएको' ठानेनौं, कहिल्यै आफ्नो बासस्थानलाई 'डेरा' पनि भनेनौं।

घरबेटीहरूसित सधैं नै पारस्परिक सम्मानकै सम्बन्ध रह्यो। सौभाग्यवश पैसा तिर्न सकेजति सुविधासित सन्तुष्ट रहन जानियो, त्यसैले गरीब हुनुपरेको नमीठो अनुभूति भएन।

अहिले लाग्छ, धन्न त्यसबेला घर प्राथमिकतामा परेन। परेको भए न छोराछोरीको पढाइका लागि मन फुकाएर खर्च गर्न सक्थ्यौं, न अहिलेको स्वतन्त्रता नै उपभोग गर्न पाउँथ्यौं।

पाँच वर्षअघि इलाम गएर हामी ३०० वर्गफीटको घरमा बस्यौं। पछि त्यसमा १२० वर्गफीट जतिको पाली थप्यौं। घर सानो भएकाले कहिलेकाहीं, खासगरी अलि धेरै पाहुना भएका बेला असुविधा जस्तो पनि भयो।

पाहुनालाई पाल (टेन्ट) मा सुताएर रमाइलो पनि गर्‍यौं। केही महीना अघि भारतको असममा एकजना नेपाली महिलाबाट सुनेको कथनले आफ्नै विचारलाई शब्द दिएको जस्तो लाग्यो। उनले भनेकी थिइन्, “ठूलो घरको के काम, घरमा बसुञ्जेल पानी नचुहियोस्, छाडेर हिंड्नुपर्दा आँसु नचुहियोस् भन्ने विचार गरे पुग्छ।”

पाँच वर्ष त्यसरी बिताएपछि हामी पनि एउटा घर बनाउने टुङ्गोमा पुग्यौं। तर, घरलाई स्थायित्व र सुविधाको भरपर्दो साधन मान्दामान्दै पनि त्यो जीवनका अरू प्राथमिकताहरूसित सम्झौता गर्नुपर्ने गरी महत्वपूर्ण भन्ने लागेको छैन।

त्यसैले, बन्दै गरेको घर छाडेर हामी साथीहरूसित अन्नपूर्ण पर्वतमाला परिक्रमा गर्न निस्कियौं। 'दशैंसम्ममा घर बनाइसक्न पाए...' भन्ने लोभले हामीलाई छोएन।

बरु 'अहिले त्यता गइएन भने फेरि जाने मौका नपर्न सक्छ' भन्ने सोचाइले हामीलाई यात्री बनायो। घर विस्तारै, आफ्नै सुरले सकिएला, हामीलाई उस्तो हतार पनि छैन।

तर सबैका प्राथमिकता हाम्राजस्ता हुँदैनन्, हुनु जरूरी पनि छैन। सबैलाई घर चाहिन्छ र त संसारले घर बनाएको छ। आफ्नो घर मन अड्याउने, शिर ओताउने ठाउँ हो।

कसले के भन्ला नभनी खुट्टा पसारेर सुत्न पाइने ठाउँ हो। घरले मान्छेलाई भर दिन्छ। ठेगाना दिन्छ। पहिचान दिन्छ। मेरा शिरमाथि मेरै छानो छ भन्ने आभास दिन्छ। जोरीपारीलाई लोभ्याउने मन छ भने त्यसको पनि अवसर दिन्छ। घरविनै त घरजम हुन्छ भने घरमै घरजम गर्न पाउनु सबैका लागि राम्रो हो।

मूल ढोकामा
सबै घरले तिनका परिकल्पनाकार, डिजाइनर, मालिक वा तिनमा आश्रितहरूको जीवनबारे पनि केही न केही भनिरहेका हुन्छन्। त्यस्ता अधिकांश भनाइ मौन हुन्छन् तर केहीकेही मुखर पनि।

मान्छेले आफ्नो घरको नाम राख्नुको कारण पनि त्यस घरको परिचय, विवरण वा 'भनाइ' स्पष्ट पार्न खोज्नु नै हो। हामीलाई पनि बल्लबल्ल बनाएको र तयार हुँदै गरेको आफ्नो घरलाई अलिकति मुखर बनाइदिन मन लागेको छ। घरको मूल ढोकामा लेख्न हामीले तलका चार हरफ ठीक पारेका छौं।

जो सात बित्ता मटिया म पाऊँ

त्यहीं म यौटा कुटिया बनाऊँ

डाँडा र काँडा अनि ढाकिजाऊँ

गाडेर मौलो चिनु राखिजाऊँ।

हामीले अहिलेसम्ममा भेटेको घरको सबभन्दा राम्रो अर्थ, वर्णन, चित्रण वा परिभाषा यही हो। माधव घिमिरेको यस कविताले घरलाई मान्छेको चिनिने र फैलिने चाहनाको आधार मानेको छ।

यसले घरलाई एउटा साधन मानेको छ। यी हरफहरू घर वा आफ्नाबारे अरूलाई थाहा दिन भन्दा पनि आफ्नो र आफ्नो घरको भौतिक र अभौतिक सम्बन्ध आफैंलाई सम्झाइराख्नका लागि हामीले रोजेका हौं।

आफूले एउटा घर पूरा गरी नसकेको स्वीकार्ने लेखकले घरबारे अझ् धेरै गफ गर्‍यो भने पाठकलाई झर्को लाग्न सक्छ। त्यसैले यो लेख अब टुंग्याउनुपर्छ तर यसै होइन, कविशिरोमणि लेखनाथ पौड्यालका केही हरफ कवितासित–

ईंट–काठको बटुली राश

यो घर ठाडो पार्ने खास।

सकल विलाए कर्मी ज्यामी

ओत बसेका छौं सब हामी।।

(गौंथलीको चिरिबिरी)

प्रतिकृया दिनुहोस