एमाले प्रवेश गरेकालाई जिम्मेवारी, संविधान दिवसमा वृहत् पदयात्रा आयोजना
विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुले नयाँ जिम्मेवारी पाएका छन् । राजधानीमा ३० भदौमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले डा. डिल्लीराज खनाल, घनश्याम भट्टराई, मझिलाल थारु थनेत, चक्रपाणि तिमिल्सिना र घनप्रसाद गौतमलाई केन्द्रीय सल्लाहकार परिषद्का सदस्य बनाउने निर्णय गरेको हाे ।
यस्तै बैठकले कृष्णबहादुर शाहीलाई ज्येष्ठ कम्युनिस्ट मञ्चको सदस्य मनोनित गरेको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थायी समितिको ४३औँ बैठकले बमबहादुर बिसी, रूपबहादुर परियार, लक्ष्मी फुयाँल, ट्रिपल पी गुरुङ, चन्द्रलाल केप्छाकी मगर, विजय राई र ठाकुर गजुरेललाई प्रदेश सङ्गठन कमिटीको सदस्यको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै प्रादेशिक ढाँचा अनुसार छविलाल विश्वकर्माको नेतृत्वमा ५२ सदस्यीय सम्पर्क समन्वय कमिटी गठन गर्ने बैठकले निर्णय गरेको छ । जसको सहइन्चार्ज विजय गुरूङ र सचिवमा नरेन्द्र श्रेष्ठ छन् ।
यस्तै ३ असोजमा पहिलो संविधान दिवस विभिन्न कार्यक्रम गरी देशैभरि धुमधाम पूर्वक मनाउने निर्णय गरेको छ । ३ असोज मध्यान्ह एक बजे शान्ति वाटिकाबाट बाजागाजासहित बृहत् पदयात्रा गरिने र वसन्तपुरमा आयोजित बृहत् सभामा पार्टी अध्यक्ष ओलीलगायत नेताले सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ ।