रिपोर्टसोमवार, आश्विन ९, २०७४

वन्यजन्तु जोगाउने चुनौती

मुकेश पोखरेल

आर्थिक समृद्धिको आधार मानिने पूर्वाधार निर्माण वन्यजन्तु र पर्यावरण संरक्षणमा चुनौती बन्दैछ ।

चुरे महाभारत वन्यजन्तु करिडोरको चितवन, बरण्डाभारस्थित राजमार्ग क्षेत्र । तस्वीरः मुकेश पोखरेल

पूर्व–पश्चिम राजमार्गमा गुडिरहेको ना ४ ख २८८७ नम्बरको बसले ठक्कर दिंदा ६ पुस २०७३ मा बर्दिया राष्ट्रिय निकुञ्जभित्र एक वयस्क पाटेबाघ मर्‍यो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार एक वर्षयता निकुञ्जभित्र पर्ने राजमार्गको ७० किलोमिटर खण्डमा गाडीको ठक्करबाट ९१ वटा जनावर मारिएका छन् । साउन र भदौमा मात्र निकुञ्ज हुँदै बग्ने बबई नदीको सिंचाइ नहरमा डुबेर चित्तल, जरायोलगायतका १५ वटा जनावर मरिसकेका छन् ।

राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र ती आसपासका क्षेत्रमा निर्मित विकासका पूर्वाधार वन्यजन्तु संरक्षणमा चुनौती बन्न थालेका केही उदाहरण हुन्, यी । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, “राजमार्गमा बढ्दो सवारी चापले वन्यजन्तु जोगाउन धौ–धौ भएको छ ।”

विभागका अनुसार २०७३/७४ मा निकुञ्ज क्षेत्रमा गाडीको ठक्करबाट १९० वटा वन्यजन्तु मारिए, जसमध्ये धेरै बर्दिया राष्ट्रिय निकुञ्जका थिए । पूर्व–पश्चिम राजमार्गमा बर्दिया बाहेक चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष समेत पर्छन् । राजमार्गको कुल एक हजार ३० किमिमध्ये २५३ किमि निकुञ्ज र आरक्ष क्षेत्रभित्र छ ।

निकुञ्ज र आरक्ष बाहेक महोत्तरी, बारा, पर्सा, रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ र बाँकेलगायत जिल्लाका वन क्षेत्र पनि वन्यजन्तुका वासस्थान र ओहोर–दोहोर गर्ने क्षेत्र हुन् । “वन्यजन्तुहरू निकुञ्जमा मात्र नबसी सबैतिर ओहोरदोहोर गर्छन्” विभागका महानिर्देशक खड्का भन्छन्, “उनीहरूको संरक्षणबारे सोच्ने बेला आएको छ ।”

जोखिममा मानव ज्यान

वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा निर्मित भौतिक संरचना वन्यजन्तुका लागि धराप बनिरहँदा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या पनि बढ्दैछ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको बटुकदल गणका अनुसार २०७३ जेठदेखि २०७४ साउनसम्म वन्यजन्तुको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । यसमध्ये गैंडा, बाघ र हात्तीको आक्रमणबाट ज्यान जोगाउनेहरू क्रमशः आठ, तीन र पाँच जना छन् ।

राजमार्गमा गाडीको ठक्करबाट वन्यजन्तुले मात्र ज्यान गुमाउँदैनन् । ९ माघ २०७३ मा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा मोटरसाइकल र जरायो एकापसमा ठोक्किंदा मोटरसाइकल चालक विष्णुभक्त रावलको घटनास्थलमै मृत्यु भयो । गत साउनमा बाटो काट्दै गरेको मृगसँग मोटरसाइकल ठोक्किंदा त्यसमा सवार कैलालीका लीलाबहादुर भट्टराई र लालवीर चौधरी घाइते भए ।

१९ असोज २०७१ मा मर्निङवाक्मा निस्केकी गंगा रावल (३५) ले बाराको अमलेखगञ्जस्थित आयल निगमको कार्यालय अगाडि हात्तीको आक्रमणबाट ज्यान गुमाइन् । सोही ठाउँमा गत वर्ष एकजना ट्यांकर चालकको हात्तीकै आक्रमणबाट मृत्यु भयो ।

हात्ती, बाघ, गैंडा, चितुवालगायतका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य करिडोर हो, अमलेखगञ्ज । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता नारायण रूपाखेतीका अनुसार, बारा र पर्सालाई एशियाली रैथाने हात्तीको मुख्य वासस्थान मानिन्छ । ती हात्ती अमलेखगञ्जको राजमार्ग क्षेत्र पार गरेर पूर्वमा वागमती नदी र पश्चिममा नवलपरासीसम्म पुग्छन् । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भन्छन्, “राजमार्गमा चौबीसै घण्टा हुने गाडीको ओहोरदोहोरले हात्तीलगायतका वन्यजन्तुको आवागमन असहज बनाएको छ ।”

वन्यजन्तुको आक्रमण बढ्नुमा वनक्षेत्र अतिक्रमण गरी जथाभावी भइरहेको बस्ती विकासलाई मुख्य कारण मानिन्छ । अमलेखगञ्जका स्थानीय नरेन्द्र रावलका अनुसार २० वर्षअघि अमलेखगञ्ज क्षेत्रमा ४०० हाराहारी घर थिए । अहिले त्यहाँ २५०० घर थपिएका छन् । वनक्षेत्र अतिक्रमण गरी बस्ती बसाउने क्रम वर्षेनि बढ्दो छ ।

वन्यजन्तुको वासस्थान अतिक्रमित भएपछि वन्यजन्तु र मानिसबीच द्वन्द्व बढेको बताउँदै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल भन्छन्, “डिस्टर्ब नहुँदासम्म चूपचाप बस्ने वन्यजन्तु आफैं असुरक्षित महसूस गरेपछि मानिसलाई आक्रमण गर्छन् । यो वन्यजन्तुको वासस्थान अतिक्रमणकै परिणाम हो ।”

संरक्षणमा नयाँ चुनौती

राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षित क्षेत्र भएर पूर्व–पश्चिम राजमार्ग मात्र सञ्चालन हुँदै आएकोमा अब पूर्व–पश्चिम हुलाकी मार्गको निर्माण पनि शुरू हुँदैछ । पूर्व–पश्चिम रेलमार्ग निर्माण पनि चर्चामै छ । हुलाकी मार्ग अहिलेकै प्रस्ताव अनुसार निर्माण भए त्यसले पर्साको ठोरी–अमुवादेखि चितवनको माडी बनकट्टा र कसरासम्मको राष्ट्रिय निकुञ्ज क्षेत्रलाई दुई भागमा छुट्याउनेछ ।

हुलाकी मार्गमा पर्ने नारायणी नदीमा पुल निर्माण गरेर नवलपरासी जोड्ने प्रस्ताव गरिएको चितवनको बाँदमुडा क्षेत्र बाघ र गैंडाको प्रमुख वासस्थान हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेल भन्छन्, “प्रस्तावित क्षेत्रमै हुलाकी मार्ग बनेमा त्यसले वन्यजन्तुको बासस्थान तहसनहस पार्नेछ ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक खड्का विश्व सम्पदामा सूचीकृत र विश्वमै दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी मार्ग निर्माण गर्नु नेपालको मात्र वशमा नरहेको बताउँछन् । कारण, निकुञ्जहुँदै प्रस्तावित हुलाकी मार्गप्रति युनेस्कोले समेत आपत्ति जनाइसकेको छ । खड्का भन्छन्, “हाम्रो मात्र स्वीकृतिले अर्थ नराख्ने हुँदा यसको विकल्पबारे सोच्नै पर्छ ।”

पर्सा र चितवन राष्ट्रिय निकुञ्जहुँदै नवलपरासीको तम्सरियासम्म रेलमार्ग निर्माणको प्रस्ताव गर्दा संरक्षणकर्मी र स्थानीय समुदाय नै विरोधमा उत्रिए । यो विरोधपछि प्रस्तावित मार्ग परिवर्तन गरी पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर विसहजारी ताल क्षेत्रमा पु¥याइएको छ । सडक विभागका सहायक प्रवक्ता रमेशकुमार सिंह भने हुलाकी मार्ग निर्माण गर्दा वन्यजन्तुलाई कुनै हानि नहुने गरी ‘इको फ्रेन्ड्ली’ मार्ग बनाइने दाबी गर्छन् ।

वन्यजन्तु संरक्षणमा चुनौती मानिएको अर्को परियोजना हो, काठमाडौं–निजगढ द्रूतमार्ग । द्रूतमार्गअन्तर्गत बाराको चुरे–भावर क्षेत्रमा पर्ने ८ किमि खण्ड वन्यजन्तु आवतजावत गरिरहने क्षेत्र हो । संरक्षणकर्मीहरूका भनाइमा, निकुञ्ज र आरक्ष बाहेकका क्षेत्रमा विस्तृत वातावरणीय अध्ययनपछि वन्यजन्तु र वातावरणमा क्षति नहुने गरी पूर्वाधारका काम गर्न सकिए पनि ‘वफर जोन’ क्षेत्रमा गर्नै मिल्दैन ।

द्रूतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाको इन्जिनियरिङ विभागका महासेनानी विकास पोखरेल भने वन्यजन्तुको आवतजावतमा असर नपर्ने गरी सडक निर्माण गरिने बताउँछन् ।

संरक्षित क्षेत्रहरूमा संरक्षणको काममा बाधा नपुग्ने गरी पूर्वाधार निर्माण गर्न सकिने विकल्प पनि छन् । जस्तो– राजमार्ग क्षेत्रमा वन्यजन्तु वारपार गर्ने ‘अण्डर/ओभर पास’ बनाएर वन्यजन्तुको ‘मूभमेन्ट’ लाई कायम राख्न र दुर्घटना घटाउन सकिन्छ । विभागका महानिर्देशक खड्काका अनुसार, यसका लागि विश्व ब्याङ्क, एशियाली विकास ब्याङ्क (एडीबी) र सडक विभाग समेत सहमत छन् ।

एडीबीको सहयोगमा चारलेनको बनाउन लागिएको नारायणगढ–बुटवल सडकखण्डका पाँच ठाउँमा वन्यजन्तु वारपार गर्न मिल्ने ‘अन्डर पास’ निर्माणको प्रस्ताव गरिएको छ । सडक विभागको आयोजना निर्देशनालयका प्रमुख केशव शर्मा राजमार्गमा वन्यजन्तुको आवागमन सहज बनाउन यस्तो प्रस्ताव गरिएको बताउँदै भन्छन्, “यसको साइजबारे चाहिं हामी वन्यजन्तु विज्ञहरूसँग छलफल गरिरहेका छौं ।”

पूर्व–पश्चिम राजमार्गमा वन्यजन्तु वारपार गरिरहने थुप्रै यस्ता ठाउँ छन् । वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवालीका अनुसार पर्सा राष्ट्रिय निकुञ्जका बालगंगा दुधौरा, तेह्र किलो र पसाहा नदी हात्ती विचरण गर्ने ठाउँ हुन् । त्यसैगरी, बाराको निजगढ, अमलेखगञ्ज र रौतहटको चन्द्रनिगाहपुरका तीन स्थान, सर्लाहीको सागरनाथ वन परियोजना, झापाका सुरुङ्गा र चारआली, चितवनको वरण्डाभारका दुई स्थान, वर्दघाट–नारायणगढ सडकखण्डका पाँच स्थान, दाङको लमही–सुरइ नाकालगायतका स्थान समेत वन्यजन्तु वारपार गरिरहने ठाउँ हुन् । “केही ठाउँमा अहिलेकै पुलको उँचाइ बढाए पुग्छ, केही ठाउँमा चाहिं नयाँ अन्डर पास बनाउनैपर्छ” ज्ञवाली भन्छन्, “शुरूमा महँगो परे पनि वन्यजन्तुको संरक्षणमा यो दिगो उपाय हुन्छ ।”

विज्ञहरूका अनुसार हात्ती वारपार गर्ने ठाउँमा कम्तीमा ९ मिटर अग्लो र अन्य ठाउँमा ५ मिटरसम्म उँचाइका अण्डर पासको व्यवस्था गर्नुपर्छ । ज्ञवाली चाहिं जलवायु परिवर्तन र चुरेको अनियन्त्रित दोहनले तराई क्षेत्रका पुल जोखिममा परेकाले अब बन्ने पुल कम्तीमा ३० फिट अग्ला हुनुपर्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस