शौचालय नहुँदा महीनावारीका बेला विद्यालय जाँदैनन् छात्रा
विद्यालयमा शौचालय नहुँदा कक्षा ८ देखि १२ सम्मका छात्रा महीनावारी भएको बेला पढाइबाट बञ्चित हुने गरेका छन् ।
त्रिशक्ति उमावि, बाह्रबिसमा कक्षा १० मा अध्ययनरत माया रावल महीनावारी भएको बेला विद्यालय जाने गरेकी छैनन् । छात्राका लागि शौचालय नभएकोले महीनावारी भएका बेलामा समस्या हुने गरेको बताउँदै उनी भन्छिन्, “विद्यालयमा सहज वातावरण हुँदैन, स्यानिटरी प्याड व्यवस्थापन गर्न गाह्रो हुन्छ ।”
महीनावारी भएको बेला कहिल्यै विद्यालय नगएकी कक्षा १० कै निरा वड छात्रका लागि शौचालय भए पनि छात्राका लागि नभएको बताउँछिन् । “छात्र शौचालयमा पनि पानी हुँदैन, हामीलाई त समस्या नै हुन्छ” अर्की विद्यार्थी सरिता बानियाँ भन्छिन् । विद्यालयमा ३५७ छात्रा अध्ययनरत छन् ।
सबैतिर समस्या
जनप्रकाश उमावि, कोल्टीमा पनि छात्राहरूका लागि शौचालयकै समस्या छ । कक्षा १० मा अध्ययनरत सन्तोषी रोकाया महीनावारी भएको पाँच दिन विद्यालय जाने नगरेको बताउँछिन् । उनी भन्छिन्, “प्रत्येक महीना पाँच दिन पढाइ छुट्छ ।”
छात्राहरूका लागि शौचालय नहुँदा महीनावारी भएको बेलामा मात्रै नभएर अन्य समयमा पनि समस्या हुने गरेको अर्की छात्रा कल्पना विक बताउँछिन् । उनी भन्छिन्, “गाउँ खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ, विद्यालयमा खुला ठाउँमा दिसापिसाब गर्नुपर्छ ।”
उसो त जिल्ला शिक्षा कार्यालय, बाजुराले महीनावारी भएका समयमा छात्राहरूलाई नियमित विद्यालय आउन प्रेरित गर्न र उनीहरूका समस्या सुल्झाउन सहयोग पुग्ने गरी जनप्रकाश उमाविकी शिक्षिका शकुन्तला भुर्तेललाई तीन दिनको तालीम पनि दिएको थियो । “मैले तालीममा सिकेको कुरा छात्राहरूलाई सिकाउने हो तर, शौचालय नै छैन, तालीमले मात्रै हुँदोरहेनछ” शिक्षिका भुर्तेल भन्छिन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार, शौचालय नहुँदा कक्षा ८ देखि १२ सम्मका छात्रा महीनामा ५/६ दिन अनुपस्थित हुने गरेका छन् । शिक्षा कार्यालयका विद्यालय निरीक्षक धर्मराज जोशी भन्छन्, “कतै छात्रा शौचालय छैन, कतै पानीको अभाव र व्यवस्थापन नहुँदा प्रयोगमा आएका छैनन् ।”
भगवती मावि, सिगाडा मावि, शारदा मावि, त्रिभुवनेश्वरी उमावि र काँडा उमाविमा मात्रै छात्रामैत्री शौचालय निर्माण भएका छन् । तर, ती पनि प्रयोगमा छैनन् । जबकि जिल्लामा १९ उमावि, ४१ मावि, ६६ निमावि र १२३ प्रावि गरी २४९ सामुदायिक विद्यालय छन् ।
तर, जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा भने ६८ विद्यालयमा छात्राका लागि शौचालय बनेका छन् । कोल्टीकै जनप्रकाश उमाविमा दुइटा छात्रामैत्री शौचालय निर्माणका लागि दुई पटकमा रु.६ लाख निकासा भएको छ । शिक्षा कार्यालयले आर्थिक वर्ष २०७०÷७१ मा रु.२ लाख ५० हजारका दरले १६ वटा, २०७१/७२ मा ४५ र २०७२/७३ मा ७ वटा छात्रामैत्री शौचालय निर्माणका लागि रु.४ लाखका दरले रकम निकासा गरिएको थियो ।
घरमा पनि रोक
महीनावारी भएको बेला विद्यालय नजाने छात्राहरू घरमा पनि शौचालय प्रयोग गर्न भने पाउँदैनन् । “शौचालयमा राखिएको पानी छोइन्छ भनेर प्रयोग गर्न दिइँदैन” कक्षा १२ मा अध्ययनरत बूढीगंगा–९ बासुरेकी सुशीला शाही भन्छिन् ।
बासुरेकै कक्षा १२ कि छात्रा रीता शाही पनि महीनावारी भएको बेला कहिल्यै शौचालय प्रयोग नगरेको बताउँछिन् । उनी भन्छिन्, “५/६ वर्ष भयो, प्रयोग गर्न पाएकी छैन ।”
महीनावारी भएको बेला पाँच दिनसम्म खानेकुरा, पानीलगायतका घरायसी सरसामान छुन दिइँदैन । घरभन्दा टाढा छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको छ ।
प्रकाश सिंह, बाजुरा