टिप्पणीआइतवार, आश्विन ८, २०७४

तामाङ होइनन् लिमेल

हिमालखबर

आफूलाई तिब्बती भनिनबाट जोगाउन पहिचान लुकाए पनि हुम्लाका लिमेल (लिमीवासी) तामाङ भने होइनन्।

हुम्लाका एक लिमेल । तस्वीर सौजन्य: नरेश कुसी

- कमल मादेन
हुम्ला सदरमुकाम सिमकोटबाट लिमी उपत्यका पुग्न पाँच दिनको पैदल यात्रा गर्नुपर्छ। ६ महीना जति हिउँले बाटो ढाक्ने गरेकाले आवतजावत बन्द हुने यो गाउँबाट पश्चिमी सीमा तिब्बतको ताक्लाकोट भने एकै दिनमा पुगिन्छ। 

सन् १९७४ मा हुम्लास्थित लिमी पुगेका अमेरिकी मानवशास्त्री मेल्भियन गोल्डस्टेनले 'लिमेल (लिमीवासी) भाषिक र सांस्कृतिक रूपमा तिब्बती मूलका हुन्' भन्ने तर्कसहितको अनुसन्धानमूलक लेख छपाए। उनले लेखमा लिमीवासीको आजीविकाका साथै बहुपति प्रथाको परम्पराबारे पनि पहिलोपटक विश्वलाई जानकारी गराए।

त्यसपछि सन् १९८५ मा अमेरिकी मानवशास्त्री क्यारोल डन्हाम र फोटोग्राफर थोमस केली लिमी पुगे र दुई वर्षपछि 'द हिडन हिमालयज्' पुस्तक प्रकाशित गरे। हुम्ला र लिमेलको भूगोल र जीवनशैली बुझाउने यो नै पहिलो सचित्र पुस्तक थियो।

समाजशास्त्री एवं सांसद् डा. गणेशमान गुरुङको हिमाली क्षेत्रको बहुपति प्रथाबारे एक लेख छ। सन् १९९३ मा प्रकाशित लेखमा उनले हुम्लाको सिमकोटबाट एक दिन पैदल दूरीको तान्गिन गाउँमा बस्नेमध्येको तिब्बती भाषा र संस्कृति बोल्ने समुदायलाई 'हुम्ली तामाङ' लेखेका छन्।

हुनत लिमेलहरूले पनि नागरिकतामा तामाङ नै लेखिरहेका छन्। तर, यी देशका अन्य भूभागका तामाङ जस्ता 'तामाङ' भने होइनन्।

ड्रोग्पा
तिब्बतमा चौपाया चरिचरनका साथ घुमन्ते जीवन बिताउनेलाई 'ड्रोग्पा' भनिन्छ। उसो त तिब्बतमा 'ड्रोग पा' नामको भाषिका पनि छ। हुम्लाको लिमी उपत्यकामा बसोबास गर्ने लिमेल तिनै तिब्बती संस्कृति र तिब्बती भाषा बोल्ने 'ड्रोग्पा' भएको र जुम्लामा मल्ल राज्य स्थापना हुनुअघि नै लिमीमा उनीहरूको बसोबास भएको, गर्दै आएको डन्हामको दाबी छ। 

डन्हामका अनुसार, १९५९ मा तिब्बतमाथि पूर्ण कब्जा जमाएपछि चिनियाँ पक्षले हजार वटा चाँदीका सिक्काको लोभ देखाउँदै लिमेललाई चीनतर्फ फर्कन आग्रह पनि गरेका थिए।

तर, लिमेलले 'हामी नेपाली हौं र नेपाली नै रहन्छौं' भनिदिए। रिसाएका चिनियाँहरूले उनीहरूलाई तिब्बततर्फ आउजाउ गर्न कडाइ गर्न थाले, याक चराउन प्रतिबन्ध नै लगाए।

चरिचरन क्षेत्र घटेपछि याक र भेडामा निर्भर गाउँलेको जीवन नै प्रभावित बन्यो। त्यसो त अहिले पनि लिमीको प्रत्येक घरबाट कम्तीमा एकजना रोजीरोटीका लागि ताक्लाकोटमै मजदूरी गर्छन्।

तिब्बत नै गाउँलेको बाँच्ने आधार बनेको छ। अहिले लिमीबाट ३० किलोमिटर दूरीमा तिब्बती सीमा पुगिन्छ। तर, तिब्बत प्रशासनले मन लागेका बेला मात्र नाका खोल्छ।

अनुसन्धानका लागि पटकपटक लिमी पुगेका जन्तुविद् नरेश कुसीका अनुसार, लिमीमा एउटा मात्र प्राथमिक विद्यालय छ। ५ कक्षा उत्तीर्ण व्यक्ति भेट्न मुश्किल पर्छ।

हुम्लाका पूर्व सांसद् तथा सहायक मन्त्री छक्कबहादुर लामाले आफ्नो पुस्तक कैलाश मन्डल मा लिमी उपत्यकाको रीतिरिवाजबारे पनि लेखेका छन्। “लिमी बासिन्दाले तामाङ हौं भनेर नागरिकतामा लेखे पनि उनीहरू तामाङ होइनन्”, हालैको पंक्तिकारसँगको वार्तामा उनले भनेका छन्।

खोलापारि तिब्बत, खोलावारि नेपाल । 

अस्पष्ट तथ्यांक
गोल्डस्टेनका अनुसार, १९७४ मा लिमीको जनसंख्या ७९१ थियो। २०६८ सालको राष्ट्रिय जनगणनामा यो संख्या ९०४ जना पुगेको जनाइएको छ। यसलाई आधार मान्ने हो भने लिमीको जनसंख्या वृद्धिदर ०.५ प्रतिशत भन्दा कम छ।

वन्यजन्तु अनुसन्धानकर्ता कुसीका अनुसार, लिमीमा एकै समुदायका बासिन्दाको बसोबास छ। उनीहरूको मातृभाषा पश्चिमी तिब्बती र दोस्रो भाषा नेपाली हो। तर, जनगणनाको तथ्यांकमा पूरै हुम्लामा १४ जना तिब्बतीभाषी भएको लेखिएको छ। यसबाट लिमीवासीले जात तामाङ लेखाए जस्तै मातृभाषा पनि खुलाउन चाहेका देखिंदैनन्। 

जनगणनाले मुलुकका २३ जिल्लामा कुल ४ हजार ४४५ जना तिब्बती भाषी रहेको जनाएको छ। तर, ती तिब्बतीभाषी को हुन्, थर के हो, भन्नेबारे भने उल्लेख छैन। यसो नहुँदा तिब्बती मूल भएका एकै समुदाय विभिन्न जातिमा सूचीकृत भएको देखिन्छ।

गोल्डस्टेनको लेख अनुसार, लिमेलहरू पश्चिमी तिब्बती भाषिका बोल्छन्। बौद्ध धर्मअन्तर्गतको कग्युक्पा सम्प्रदायका उनीहरूको भेषभुषा, खानपान, संस्कार र कृषि तथा पशुपालन तिब्बती शैलीको छ।

लिमी भन्ने शब्द नै 'ले' र 'मी' अक्षरबाट उद्भव भएको मानिन्छ, जसको अर्थ दुई नदीको बीचको भूभागमा बस्ने हुन्छ। लिमीको भूगोलले पनि त्यस्तै बताउँछ।

जस्तो कि जुम्ला, डोल्पा, मनाङ, मुस्ताङमा पनि परापूर्वकालदेखि बसोबास गरिरहेका तिब्बती भाषी लामा वा भोटे समुदायको बसोबास छ। उनीहरूको परिचय कतै डोल्पो, मनाङ्गे, ताङ्वे, लार्के, ल्होपा, सियार (चुम्बा), ह्योल्मो आदि बनेको छ।

यिनीहरूमध्ये धेरै सरकारको 'आदिवासी जनजाति' मा सूचीकृत छन्। तर, ताङ्वे, लार्के, सियार जाति भने कतै फेला परेको छैन।

लिमेल यी जातिजस्तै हुन् या फरक? देशभित्रकै समाजशास्त्री, मानवशास्त्री र जनसंख्याविद्हरूबाट थप अध्ययनको आशा गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस