निलम्बन फुकुवाका लागि क्यानको अधिवेशन प्रक्रिया शुरु
नेपाल क्रिकेट संघ (क्यान)ले जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन प्रक्रिया शुरु गरेको छ ।
२ असोजमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले प्रेस विज्ञप्ती जारी गरी ९ पुषभित्र तीनै तहको अधिवेशन सम्पन्न गरिसक्ने गरी प्रक्रिया शुरु भएको जनाएका छन् । आईसीसीले गरेको निलम्बन फुकुवा गर्न क्यानले अधिवेशन प्रक्रिया शुरु गरेको हो ।
आईसीसीको सल्लाहकार कमिटीले प्रस्ताव गरेको मस्यौदा अनुसार ६ भदौमा क्यानको विशेष साधारणसभाले पारित गरेको विधानलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पनि २६ भदौमा स्वीकृति गरिसकेको छ । राखेपले स्वीकृत गरेपछि क्यानले अधिवेशनको प्रक्रिया शुरु गरेको हो ।
जसअनुसार, असोज मसान्तभित्र विधान बमोजिम योग्यता पुगेका व्यक्तिलाई सदस्यता वितरण गर्न ३९ वटै जिल्लालाई परिपत्र गरेको जनाएको छ । त्यस्तै ८ कात्तिकभित्र जिल्ला, ८ मंसिरभित्र प्रदेश र ९ पुषभित्र केन्द्रको अधिवेशन गरिसक्ने क्यानले तय गरेको छ ।