विश्व ब्यांकको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत
नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्ष ४.५ प्रतिशतमा सिमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
नेपाल सरकारले चालू आवमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरेको बेला विश्व ब्यांकले ४.५ मा सिमित हुने जनाएको हो । यसअघि विश्व ब्यांकले नै नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।
हालै तराईमा गएको बाढी र त्यसले कृषि र आर्थिक क्रियाकलापमा ल्याएको क्षतिले लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने विश्व ब्यांकले जनाएको छ । त्यस्तै रेमिट्यान्स वृद्धिदरमा आएको प्रभाव र भारतले लिएको गुड एण्ड सर्भिस ट्याक्स (जीएसटी) ले नेपालको निर्यातमा परेको प्रभाव लगायतको कारणले पनि अपेक्षित आर्थिक वृद्धिदर हुन नसक्ने विश्व ब्यांकले उल्लेख गरेको छ । विश्व ब्यांकको रिपोर्टकाअनुसार दक्षिण तराईको ८० प्रतिशत खेतीयोग्य जमिन बाढीले प्रभावित गरेको छ ।
२०७२ को भूकम्प, नाकाबन्दी र तराईको बाढीलाई विश्व ब्यांकले अर्थतन्त्रका तीन ठूला धक्काको रुपमा प्रस्तुत गरेको छ ।