दुई थान मूर्ति सहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय दोलखाले दुई थान मूर्ति सहित दोलखा भीमेश्वर– ३ बस्ने इन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
सदरमुकाम चरिकोटस्थित रोयल किङ्स होटलमा अस्वभाविक क्रियाकलाप भएको सूचनाको आधारमा प्रहरीले खानतलासि गर्दा कोठा नम्बर ४०४ बाट दुई थान मूर्ति सहित ५८ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
पुरातात्विक महत्वको हुनसक्ने उक्त मूर्ति कहाँबाट ल्याइएको होे भन्ने बारे केही नखुलेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि श्रेष्ठलाई थुनामा राख्न अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।
शर्मिला बुढाथोकी, दोलखा