रिपोर्टशुक्रवार, भाद्र ३०, २०७४

व्यापार बढाउन महामारीको हौवा

रामु सापकोटा

महामारीजन्य रोगको आतंक फैलाएर स्वास्थ्य संस्थामार्फत जथाभावी भ्याक्सिन र ट्याब्लेट औषधिको बिक्री बढाइएको छ ।

गत २६ साउनमा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्वास्थ्य मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) लाई पत्र पठाएर 'चितवन र छिमेकी जिल्लाहरूमा इन्फ्लुएन्जा रोगको संक्रमण भएका बिरामीलाई डाक्टरहरूले टामीफ्लु ट्याब्लेट दिने गरेको' उल्लेख गर्दै उक्त औषधि सेवन गर्नुपर्ने वा नपर्ने जानकारी माग्यो।

चितवन जिल्ला जनस्वास्थ्यले उपचार गर्न आउने बिरामीहरूमा इन्फ्लुएन्जा भए/नभएको परीक्षण गर्न भरतपुर अस्पताल पठाउने गरेको छ। अस्पतालले र्‍यापिड टेस्ट गर्दा 'फ्लु ए' देखिए ओसेल्टामाभिर भनिने टामीफ्लु ट्याब्लेट सिफारिश गर्ने गरेको जानकारी जनस्वास्थ्य कार्यालयले स्वास्थ्य मन्त्रालयलाई गराएको छ। 

'ड्रग रेसिस्टेन्स' निम्तिन्छ
सिजनल फ्लुका बिरामी बढेपछि अस्पतालहरूमा औषधिको माग बढेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले टामीफ्लु ट्याब्लेट सकिएको जनाउँदै ईडीसीडीसँग थप औषधि माग गरेको छ। कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा ७५ एमजीको ५००, ४५ एमजीको ३०० र ३० एमजीको २०० क्याप्सुल टामीफ्लु माग गरेको बताउँछन्।

जिल्ला अस्पतालहरूमा यो औषधिको माग बढेपछि ईडीसीडीले २६ साउनमा ७५ वटै जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरूलाई अनावश्यक रूपमा टामीफ्लु प्रयोग नगर्न परिपत्र गरेको छ। (हे.पत्र) १००.४ डिग्री फरेन हाइट ज्वरो आएको, कडा खालको टाउको दुखाइ भएको, घाँटी दुख्ने र चर्को खोकी लागेको गम्भीर बिरामी र इन्फ्लुएन्जा प्रमाणित भएकाहरूलाई मात्र फिजिसियनको सिफारिशमा एन्टी भाइरल टामीफ्लु दिनुपर्ने परिपत्रमा उल्लेख छ।

ईडीसीडीका निर्देशक डा. भीम आचार्य सामान्य रुघाखोकीमा टामीफ्लु औषधि चलाउन नहुने बताउँछन्। 'एचवान एनवान–ए' भएर सिकिस्त भई वार्डमा भर्ना भएका बिरामी, बिरामीका कुरुवा र चिकित्सकले सेवन गर्नुपर्ने औषधि सामान्य बिरामीलाई पनि खुवाउने दबाब आएपछि त्यसो गर्न नहुने निर्देशन दिनुपरेको उनले बताए। डा. आचार्य भन्छन्, “खासमा, यो औषधि खानैपर्ने हल्ला फैलाइएकाले अनावश्यक माग बढेको हो।”

विश्व स्वास्थ्य संगठनले कस्तो अवस्थामा टामीफ्लु चलाउने भनेर मापदण्ड बनाएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा माइक्रोबायोलोजीका सह–प्राध्यापक तथा विश्व स्वास्थ्य संगठनका इन्फ्लुएन्जा विशेषज्ञ डा. प्रकाश घिमिरे पनि इन्फ्लुएन्जा (एचवान एनवान–ए) लागेर अस्पताल भर्ना भएका बिरामीलाई मात्र टामीफ्लु दिन मिल्ने बताउँछन्। उनी भन्छन्, “जथाभावी टामीफ्लु चलाए 'ड्रग रेसिस्टेन्स' को समस्या निम्तिन सक्छ।”

भ्याक्सिन बिकाउने खेल
कडा खालको मौसमी रुघाखोकीलाई स्वाइनफ्लु भन्ने हल्ला चलाइएका कारण भ्याक्सिग्रिप भनिने भ्याक्सिनको पनि माग ह्वात्तै बढ्यो। फ्रान्सको सानोफी कम्पनीले उत्पादन गर्ने भ्याक्सिग्रिपको नेपाली आयातकर्ता यतिकेएम र नेदरल्याण्डको एब्बोट बायोलोजिकल बि.भिले उत्पादन गरेको औषधि सिनर्जी ओभरसिज प्रा.लि फार्मेसी युनिटले आयात गर्दै आएका छन्।

यतिकेएमले औषधि व्यवस्था विभागबाट २९ साउन २०६१ देखि भ्याक्सिग्रिप एडल्ट १५ एमसीजी र भ्याक्सिग्रिप पीडीआर्टिक ७.५ एमसीजी तथा सिनर्जीले २० फागुन २०७३ देखि इन्फ्लुभ्याक ०.५ एमएल भ्याक्सिन आयात गर्ने अनुमति लिएका थिए। नेपालमा इन्फ्लुएन्जाको भ्याक्सिन आयात गर्ने अनुमति लिएका यी दुई कम्पनी मात्र हुन्।

यतिकेएमले २०१७ जनवरीदेखि १० अगस्टसम्म रु.४० लाख २५ हजार मूल्य बराबरको ३५०० वटा भ्याक्सिग्रिप बिक्री गरेको छ। कम्पनीका अनुसार, एउटा भ्याक्सिग्रिपलाई रु.११५० पर्छ। तर, कम्पनीले भ्याक्सिन अभाव भएको भन्दै यही औषधिलाई रु.१७०० सम्ममा बिक्री गरिरहेको छ। यसको अन्तर्राष्ट्रिय बजार मूल्य दुईदेखि पाँच डलर (करीब रु.५००) सम्म छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका फिजिसियन डा. अनुप बास्तोला औषधिको माग ह्वात्तै बढेपछि 'ब्ल्याक' मा भ्याक्सिन बिक्री भइरहेको बताउँछन्। भाइरलका बिरामी बढेसँगै औषधि बेच्ने कम्पनीहरूको चलखेलमा भ्याक्सिन बिक्री बढेको उनको भनाइ छ। “जति हल्ला फैलायो, उति धेरै भ्याक्सिन बिक्री हुन्छ” डा. बास्तोला भन्छन्, “हल्लाकै कारण अहिले बजारमा भ्याक्सिन अभाव भएको छ।”

औषधि व्यवस्था विभागले भ्याक्सिग्रिपको मूल्य तोक्न सकेको छैन। विभागका महानिर्देशक नारायणप्रसाद ढकाल आयातकर्ता कम्पनीले तोकेको मूल्यमा नै बिक्री गर्न अनुमति दिने गरेको बताउँछन्।

विभागमा पेश गरेको भन्दा बढी मूल्यमा भ्याक्सिग्रिप बिक्री गरे कारबाही गरिने उनले बताए। स्टकमा रहेका औषधि अर्को वर्ष बिक्री गर्न नमिल्ने र त्यसबाट घाटा हुने भएकोले व्यापारीहरूले बढी मूल्यमा बेच्नुलाई अस्वाभाविक मान्न नहुने महानिर्देशक ढकालको भनाइ छ। उनी भन्छन्, “धन्न अभावको बेला पनि भ्याक्सिन पुर्‍याएका छन्।”

विभागले नेपाललाई वार्षिक कति भ्याक्सिग्रिप औषधि चाहिन्छ भन्ने हिसाब राखेको छैन। वर्षेनि इन्फ्लुएन्जाको कति भ्याक्सिन प्रयोग भयो र कति स्टकमा रह्यो भन्ने तथ्यांक पनि विभागसँग छैन। यो अवस्थामा इन्फ्लुएन्जाको जोखिम समूह पत्ता नलगाई मुलुकमा जथाभावी भ्याक्सिन र ट्याब्लेट औषधिको बिक्री भइरहेको छ।

खोइ जोखिम समूह ?
सरकारको प्यान्ड्यामिक इन्फ्लुएन्जा प्रिप्रेयर्डनेस एण्ड रेस्पोन्स प्लान (पीआईपीपी) निर्देशिकामा जोखिम समूहलाई भ्याक्सिन दिन मिल्ने भनिएको छ, तर विश्वव्यापी रूपमा जोखिम समूह पहिचान भए पनि नेपालमा जोखिम समूह पहिचान भइसकेको छैन। कसलाई, कसले, कुन समयमा सिजनल इन्फ्लुएन्जाको भ्याक्सिन दिने भन्ने स्पष्ट नीति पनि बनेको छैन। स्वास्थ्य मन्त्रालयले तीन वर्षअघि इन्फ्लुएन्जाको जोखिमबारे अध्ययन गर्ने भने पनि विभिन्न स्वार्थ समूहका कारण काम हुनसकेको छैन।

ईडीसीडीले मुलुकभरका अस्पताललाई टामीफ्लु औषधिको अनावश्यक प्रयोग नियन्त्रण गर्न पठाएको पत्र ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गाइडलाइन अनुसार टामीफ्लु औषधि इन्फ्लुएन्जा ए एचवान एनवान पहिचान भएका तथा जोखिम समूहभित्र पर्ने गम्भीर बिरामीलाई मात्र प्रयोग गरिन्छ। मोटोपनको समस्या भएका, ६५ वर्ष माथिका वृद्धवृद्धा, मिर्गौला, मुटु, फोक्सो र कलेजोका दीर्घ रोगी, गर्भवती, कुपोषित बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका समूहलाई यो रोग लागेमा टामीफ्लु औषधि सावधानीपूर्वक प्रयोग गर्नुपर्छ।

त्रिविको माइक्रोबायोलोजी विषयका सह–प्राध्यापक डा. घिमिरे इन्फ्लुएन्जाको जोखिम समूह पहिचान नै नभई जथाभावी भ्याक्सिग्रिप भ्याक्सिन तथा टामीफ्लुको प्रयोग अनुपयुक्त रूपमा भइरहेको बताउँछन्। उनका अनुसार, सिजनल इन्फ्लुएन्जा भ्याक्सिनमा पहिले ए–एचवान एनवान, ए–एचथ्री एनटु र बी गरी तीनवटा मात्र स्टे्रनको मिश्रण हुन्थ्यो। तर गत वर्षदेखि चारवटा स्ट्रेन भएको क्वाड्रुभ्यालेन्ट भ्याक्सिन समेत बनाउन थालिएको छ। इन्फ्लुएन्जाको स्वरुप परिवर्तन हुने भएकाले हरेक वर्ष नयाँ भ्याक्सिनहरू बनाइन्छ।

डब्लुएचओको वार्षिक बैठकले सिफारिश गरे अनुसार औषधि कम्पनीहरूले उत्तरी र दक्षिणी गोलार्द्धमा पर्ने ठाउँका लागि फरक फरक नयाँ भ्याक्सिन बनाउँछन्। हरेक वर्ष इन्फ्लुएन्जाको नयाँ स्वरुप देखिने भएकाले हरेक देशले जोखिम समूह र संक्रमणमा रहेको इन्फ्लुएन्जाको भाइरल स्ट्रेन पहिचान पनि गर्नुपर्छ।

प्रत्येक मुलुकको स्वास्थ्य नीति अनुसार जोखिम समूह पहिचान गरेर भ्याक्सिन दिइन्छ। बूढाबूढी, मोटोपनको समस्या भएका, मधुमेहका रोगी, उच्च रक्तचाप भएका, गर्भवती, दुई वर्ष मुनिका बालबालिका, दीर्घ रोगीलगायतका जोखिम समूहलाई भ्याक्सिन दिने गरिएको ईडीसीडीका निर्देशक डा. आचार्य बताउँछन्। सन् २००९ को प्यान्ड्यामिक अघिसम्म गर्भवती महिला र मोटोपनको समस्या भएका व्यक्ति इन्फ्लुएन्जाको जोखिम समूहमा थिएनन्, त्यसपछि परेका हुन्।

ईडीसीडीका निर्देशक डा. आचार्य इन्फ्लुएन्जाको जोखिम समूह पहिचानका लागि अध्ययन–अनुसन्धान नभए पनि नेपालको ६० लाख जनसंख्या जोखिममा रहेको बताउँछन्। इन्फ्लुएन्जाबाट बिरामी परेकाहरूको पीआईपीपी गाइडलाइन अनुसार औषधि उपचार गर्ने विधि पालना भने नभएको उनको भनाइ छ। उनी भन्छन्, “प्रक्रिया नपुर्‍याई उपचार भएको थाहा भएपछि चिकित्सकहरूलाई गाइडलाइन अनुसार गर्न परिपत्र गरेका छौं।”

प्रतिकृया दिनुहोस