एमालेका निर्वाचन क्षेत्रीय कमिटी भंग
नेकपा (एमाले)ले देशका सबै निर्वाचन क्षेत्रमा रहेका निर्वाचन क्षेत्रीय कमिटीलाई भंग गरेको छ ।
२६ भदौमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले नयाँ निर्वाचन क्षेत्र निर्धारण भएकोले पुरानो निर्वाचन क्षेत्रमा रहेका क्षेत्रीय कमिटी भंग गर्ने निर्णय गरेको जनाएको छ ।
त्यससँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको एमाले कावा सविच मीना ज्ञवालीले बताइन् ।
एमालेले एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा जिल्ला कमिटीलाई नै संघीय निर्वाचन क्षेत्र समन्वय कमिटीको जिम्मेवारी दिने तथा यस अघि क्षेत्रीय कमिटीमा रहेका पदाधिकारी तथा सदस्यहरु संघीय निर्वाचन क्षेत्र समन्वय कमिटीको सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्ने निर्णय गरेको छ ।
यससँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने पनि एमालेको स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।