वीरगञ्जः उम्मेदवारका योजना, शौचालय निर्माणदेखि स्मार्ट सिटीसम्म
जियालाल साह, वीरगञ्जबाट
तेस्रो चरणमा (२ असोजमा) स्थानीय तहको निर्वाचन हुने एकमात्र महानगरपालिका हो वीरगञ्ज । वीरगञ्ज महानगरमा मेयरका उम्मेदवारहरु अहिले ‘विकास सपना’ बाँडिरहेका छन् । यसै सन्दर्भमा वीरगञ्जमा मेयरको प्रतिपस्पर्धामा रहेका ६ जना उम्मेदवारसँग गरिएको कुराकानी ।
पुरानो शहरको सुधार, नयाँ शहरको निर्माणः अजय द्विवेदी (नेपाली कांग्रेस)
वीरगञ्ज महानगरपालिकाका लागि नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार अजय द्विवेदी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी यसअघि सांसद र उपमेयर समेत भैसकेका छन् । आफू मेयरभएपछि वीरगन्जलाई हराभरा शहर बनाउने र यहाँको पूर्वाधार विकास गर्ने उनको योजना छ ।
वीरगञ्जवासीले यहाँलाई किन भोट दिने ?
वीरगञ्जलाई समृद्ध, स्वस्थ्य र सक्षम शहर बनाउनका लागि जनताले मलाई भोट दिने छन् । नेपाली कांग्रेसको त्यही सोच अनुसार म मेयरको उम्मेदवार बनेको हुँ ।
पहिलो कुरा त म नेपाली कांग्रेसको उम्मेदवार भएकोले जनताले मलाई भोट दिन्छन्, किनभने मधेशमा यत्तिको भरोषायोग्य पार्टी अर्को छैन । अर्को कुरा मेरो जत्ति अनुभव, स्पष्ट दृष्टिकोण र वीरगञ्जवासीका चाहना पूरा गर्ने स्पष्ट योजना भएको उम्मेदवार अर्को छैन । योजनाका कुरा गरेर मात्रै हुँदैन, सीप, साहस, अठोट, अनुभव सबै चाहिन्छ र त्यो मभित्र छ भन्ने जनतालाई थाहा छ ।
कसरी हुन्छ वीरगञ्जको विकास ?
महानगरपालिका घोषणा भएपछि वीरगञ्ज शहर पहिलेभन्दा तीन गुणा ठूलो भैसकेको छ । पूरानो योजनाले अब काम गर्दैन, त्यसैले योजना पनि फरक छन् ।
एकातिर पुरानो शहर वीरगञ्जलाई सुविधायुक्त र आधुनिक बनाउनु पर्ने छ भने अर्कोतिर कृषि र कृषकलाई प्राथमिकतामा राखेर उनीहरुको विकासका लागि काम गर्नुपर्ने छ । क्षेत्रफलमा ठूलो भए पनि महानगरभित्रै थुप्रै गाउँ छन्, त्यसैले गाउँलाई नगर बनाउँदै महानगर भन्न सुहाउने बनाउनु पर्नेछ । त्यसको लागि सेवा विस्तार र रोजगारीका अवसरको सृजना गर्नुपर्ने छ ।
त्यसका लागि के गर्नुहुन्छ ?
वीरगंजमा थपिएका नयाँ ग्रामिण वडाहरुलाई शहरसँग जोडने योजना ल्याउँछु । सडक यातायात, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति सबैतिर काम गर्नुपर्ने छ । पूर्वाधार विकास र हराभरा शहर मेरो प्राथमिकतामा छन् ।
देशभरमै तेस्रो धेरै बोलिने भोजपुरी भाषा–संस्कृतिको विकास पनि गर्नु छ । यहाँ भोजपुरी फिल्महरु पनि प्रशस्तै बन्न थालेका छन्, वीरगञ्जलाई फिल्म सिटीको रुपमा पनि विकास गर्ने मेरो योजना छ । भएका सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा पनि ध्यान दिइने छ ।
वीरगञ्जलाई ‘स्मार्ट सिटी’ बनाउछुः बसरुद्दिन अंसारी (नेकपा एमाले)
नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक समेत रहेका बसरुद्दिन अन्सारी नेकपा एमालेबाट वीरगञ्जको मेयर पदका उम्मेदवार हुन् । वीरगञ्जलाई स्मार्ट सिटी र शिक्षाको हब बनउने उनको योजना छ ।
मेयरमा तपाईँको उम्मेदवारी किन ?
लामो समय जनप्रतिनिधि नहुँदा वीरगञ्ज सबैतिरबाट तहसनहस भएको छ । निरन्तर खस्किंदै गएको यो शहरलाई साँच्चिकै सुविधायुक्त महानगरपालिका बनाउन र २० वर्षदेखि रोकिएका कामहरु सम्पादन गर्न मेयरमा उम्मेदवारी दिएको हुँ ।
कसरी सुधार हुन्छ वीरगञ्जको ?
मेरो एउटै सपना छ वीरगञ्जलाई सुन्दर र स्मार्ट सिटी बनाउने । यहाँको सडक र नालाको सुधारका साथै फोहर व्यवस्थापन तत्कालै गर्नुपर्ने छ ।
महानगरलाई सुव्यवस्थित बनाउनका लागि हामीले ‘नयाँ वीरगञ्ज’ अवधारण अघि सारेका छौं ।
आर्थिक गतिविधि प्रशस्तै हुने यो औद्योगिक नगर पनि हो, यहाँ स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि ठूलो सम्भावना छ । अधिक जनघनत्व भएकोले यहाँ स्वास्थ्य र शिक्षामा जति पनि काम गर्न सकिन्छ । त्यसैले वीरगंजलाई शिक्षाको हब बनाउने मेरो योजना हो ।
हामीले वृद्ध भत्ता (ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता) रु ५ हजार पु¥याउने छौं, दलित, असहाय र गरीबहरुका लागि स्वास्थ्य र शिक्षाको विशेष व्यवस्था गर्ने छौं । महानगरपालिकाको सम्पूर्ण जनसंख्याको स्वास्थ्य विमा गरिनेछ ।
जनता आवास अन्तर्गत ५ वर्षभित्र करीब १० हजार घर निर्माण हुनेछन् । बेरोजगारीको समस्या हटाउनका लागि बढी भन्दा बढी रोजगार सृजना गरिनेछ । म आफैं व्यापारी भएकाले स्थानीय उद्योगी, व्यवसायीसँग छलफल गरी रोजगारमा वृद्धीका लागि नयाँ उपायको खोजी हुनेछ ।
थप काम के गर्नु हुन्छ ?
विभिन्न कारणले पछिल्लो समय यसक्षेत्रमा जातीयताका कुरा बढी उठेका छन्, यस्तो कुराले समाजलाई पछि पार्छ । जातीय सद्भाव र आपसी हार्दिकताले मात्रै समाजको विकास हुन्छ, त्यसैले हामी वीरगञ्जलाई उदार र सदभावयुक्त शहर बनाउनका लागि हरसम्भव प्रयास गर्ने छौं ।
यसक्षेत्रको अर्को ठूलो समस्या बन्द हडताल हो, बन्द हडतालले फाइदाभन्दा बढी नोक्सान नै गर्छ । त्यसैले बन्द गर्नुपर्ने अवस्था आउन नदिने र बन्द हुन नदिन हामी प्रयास गर्ने छौं ।
महानगरपालिका भित्र राम्रो अडिटोरियम र विभिन्न ठाउँहरुमा पार्क निर्माण गर्ने छौं । ‘एक व्यक्ति, एक रुख’ नारालाई कार्यान्वयन गर्दै महानगरपालिकालाई हराभरा बनाइने छ । मुख्य शहरी क्षेत्रमा रिंगरोडको निर्माण हुनेछ ।
परिवर्तनका लागि युवाः रहबर अंसारी (नेकपा माओवादी)
माओवादी केन्द्रबाट वीरगञ्जमा मेयरका उम्मेदवार रहबर अन्सारी अरु उम्मेदवार भन्दा कान्छा भएको र युरोपको विश्वविद्यालयबाट पढेर आएकाले बढी चर्चामा छन् । ३१ वर्षीय अंसारी राजनीतिमा नयाँ अनुहार हुन् । वीरगञ्जको सडक सुधार, फोहरमैला व्यवस्थापन र स्थानीय स्तरमै रोजगार सृजना गर्ने नाराका साथ उनी चुनावी प्रचारमा छन् ।
किन मेयरको प्रतिस्र्धामा उत्रिनुभयोे ?
परिवर्तन र विकासका लागि मैले वीरगञ्ज महनगरको मेयरमा उम्मेदवारी दिएको हुँ । वीरगञ्ज महानगरलाई मुलुककै समृद्ध महानगर बनाउन सकिने सम्भावना देखेपछि कार्यान्वयनका लागि त मेयर बन्नै पर्यो । मलाई अन्य उम्मेदवारले ‘राजनीतिको कच्चा खेलाडी’ भनिरहेको सुनिन्छ तर, पुरानाले केही गर्न नसकेपछि नै नयाँ चाहिएको हो । समयले कोल्टो फेरिसकेको छ, वीरगंजले परिवर्तन चाहेको छ । पुरानाको अब दिनगन्ती शुरु भयो, यहाँको विकासका लागि नयाँ सोच, योजना र सीप चाहिएको छ, जसलाई हामीजस्तै युवाले पूरा गर्नसक्छन् ।
वीरगञ्जवासीले तपाइँलाई किन भोट दिने ?
वीरगञ्जलाई अहिले नयाँ सोच भएको, इमान्दार, पढे–लेखेको र स्थानीय तह बुझेको नेतृत्व चाहिएको छ । यहाँका जनताले चाहेको परिवर्तन म जस्तै युवाबाट मात्रै सम्भव छ । अरु नेताहरुलाई यहाँका जनताले परीक्षण गरिसकेकाले यसपटक उनीहरुले मलाई अवसर दिनेछन् ।
परिवर्तनको त्यो चाहना कसरी पूरा गर्नुहुन्छ ?
वीरगंज महानगरपालिकाको विकासको लागि मेरो स्पष्ट योजना छ । यहाँका सडकको सुधार, फोहरमैला व्यवस्थापन र स्थानीय स्तरमै रोजगार सृजना गर्ने मेरो प्राथमिकताका विषय हुन् । वीरगञ्जलाई निशुल्क वाईफाईयुक्त ‘स्मार्ट सिटी’ बनाउने, शव बाहन र एम्बुलेन्स सेवा निशुल्क गर्ने, गरीब तथा जेहेन्दार विद्यार्थीका लागि ठूलो मात्रामा छात्रवृति कोषको व्यवस्था पनि मेरो योजनामा छन् ।
२० वर्षमा हुन नसकेको विकास ५ वर्षमाः विजय सरावगी (संघीय समाजवादी फोरम)
व्यापारिक पृष्ठभूमिबाट भर्खरै सक्रिय राजनीतिमा आएका विजय सरावगी संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्ज महानगरको मेयरका उम्मेदवार हुन् । उनी आफू मेयर भएमा २० वर्षदेखि हुन नसकेको विकास ५ वर्षभित्रै गर्ने बताउँछन् ।
मेयरमा उम्मेदवारी किन ?
आर्थिक र औद्योगिक नगर वीरगञ्ज ६ महीनासम्म बन्द हुँदा पनि कुनै नेताले वास्ता गरेनन् । सरकारमा रहेका पार्टीहरुले पनि वास्ता गरेनन्, उल्टै जनतामाथि दमन भयो । यहाँको सम्पूर्ण आर्थिक, समाजिक क्षेत्र लथालिङ्ग भयो । अहिले आन्दोलन, बन्द केही छैन तर पनि कसैले वीरगञ्जलाई पूर्ववर्त अवस्थामा फर्काउनेसम्म प्रयास गरेको छैन । हामी मधेशमै बस्छौं, कर्म क्षेत्र यही हो, हामीले नगरे अर्को आएर गरिदिंदैन भन्ने लागेर म राजनीतिमा उत्रिएको हुँ ।
यहाँ जति बजेट आए पनि समयमा खर्च हुँदैन, पैसा खर्च गर्ने क्षमता नै नभएको जस्तो देखियो । सबै अधिकार प्राप्तिको लडाइ भन्छन, विकासको कसैलाई मतलब छैन ।
यहाँका जनतालाई कसरी अगाडि बढाउने, समाजलाई कसरी सुधार्ने, उनीहरुलाई असल र सक्षम नेतृत्व कसरी दिने भन्ने विषयमा छलफल हुँदा सबैले ‘वीरगञ्जको विकासका लागि तपाईँ आउनै पर्छ’ भनेकाले मैले मेयरमा उम्मेदवारी दिएको हुँ ।
वीरगञ्जको अहिलेको अवस्थाले नयाँ पुस्ताका युवाहरुको चाहनालाई सम्बोधन गर्नै सक्दैन । त्यसैले युवा पलायन डरलाग्दो छ । म वीरगञ्जलाई ‘क्वालिटी सिटी’ बनाउनेछु, जसले यो गुणस्तरीय र रहन योग्य शहर बनोस, यहाँको जीवनशैली गुणस्तरीय होओस् । रोजगार, शिक्षा, स्वास्थ्य, प्रविधि लगायतका क्षेत्रमा आमूल परिवर्तनका लागि नै मैले उम्मेदवारी दिएको छु ।
२० वर्षमा हुन नसकेको विकास ५ वर्षमै पुरा गर्न सक्छु भन्ने आत्मविश्वस छ । किनभने हामीसँग रकमको अभाव छैन, त्यसलाई कसरी उपयुक्त ठाउँमा खर्च गर्ने र अत्यधिक उपयोग गर्ने मलाई राम्रोसँग थाहा छ ।
तपाईँले भनेजस्तो विकास कसरी सम्भव छ ?
मुख्य कुरा त युवा र महिलाहरुलाई रोजगार दिने हो । सबै आत्मनिर्भर बन्न सके भने विदेश पलायन हुने अवस्था आउँदैन । युवा यहीँ रहे भने विकास अवश्य हुन्छ ।
अर्को कुरा रकमको औचित्यपूर्ण खर्च हो । हामीसँग भएको रकमलाई कसरी पूर्वाधार विकासमा लगाउने भन्ने सीप चाहिन्छ । मेरा लागि यो गाह्रो काम होइन ।
केही त जनताको दैनिक जीवनलाई सुविधापूर्ण बनाउनु पर्ने स–साना विषयहरु छन् । हामीसँग भएको स्रोत र साधनको अत्यधिक उपयोगबाट अहिलेभन्दा पाँचगुणा बढी विकास गर्न सकिन्छ । म मेयर भएँ भने पूँजीको थप सृजना गर्न सक्छु जसले वीरगञ्जवासीको थप विकासको चाहना पूरा हुने छ ।
अधुरा योजना पूरा गर्नेछुः बिमल श्रीवास्तव (नेपाल लोकतान्त्रिक फोरम)
४ पटकसम्म वीरगञ्जको मेयर भइसकेका विमल श्रीवास्तव नेपाल लोकतान्त्रिक फोरमबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । वीरगञ्जमा घडिअर्वा पोखरी, स्वीमिङ्ग पुल, लिङ्क रोड, लक्षमणवा पार्क लगायतका कामहरु उनको पालामा भएका हुन् । उनी निर्वाचनका लागि झुट्टा सपना बाँड्नु भन्दा गर्न सकिने कामहरु इमान्दारीपूर्वक गर्ने बताउँछन् ।
तपाईँको उम्मेदवारी केका लागि ?
स्थानीय तह भनेको स्थानीय सरकार नै हो । स्थानीय विकासका लागि स्थानीय तह जिम्मेवार हुन्छ । केन्द्रीय सरकारले गर्ने भनेर स्पष्ट तोकिएका केही काम बाहेक अब सबै काम स्थानीय तहले गर्छ ।
स्थानीय आकांक्षा र आवश्यकताको सम्बोधन, यसक्षेत्रको चौतर्फी विकास र आधुनिकिकरणको विषयहरुलाई समेटेर जुन महानगरपालिका घोषणा भएको छ त्यसको औचित्य पुष्टीका लागि हो मेरो उम्मेदवारी ।
पञ्चात र प्रजातन्त्रमा गरी चार पटक वीरगञ्जको नेतृत्व सम्हालिसकेको छु । मेरो एउटै उद्देश्य जनताको सेवा गर्नु हो । जनताको चाहनालाई आफनो क्षमता अनुसार पूरा गर्ने भन्ने नै हो ।
स्थानीय तहको अहिलेको जस्तो अधिकार नभएको मेरा विगतका कार्यकालमा गर्न नसकेका थुप्रै योजनाहरु बाँकी छन्, ती अधुरा योजनाहरु अब पूरा गर्ने बेला आएको छ ।
मेरा विगतका काम हेरेर पनि जनताले ममाथि विश्वास गरेका छन् । ती योजना पूरा गरेर वीरगञ्जको सर्वाङ्गिण विकासका लागि मैले उम्मेदवारी दिएको हुँ ।
कसरी हुन्छ वीरगञ्जको विकास ?
वीगरगञ्ज नगरपालिकामा पहिले १६ वडा थिए त्यसपछि १९ हुँदै महानगरपालिका बन्दासम्म ३२ वटा वडा छन् । अहिले थुप्रै गाउँहरु महानगरपालिकामा थपिएका छन, गाउँलाई महानगरपालिका क्षेत्रमा रुपान्तरण गर्नु पर्ने ठूलो जिम्मेवारी थपिएको छ ।
प्रत्येक घरमा शौचालयको निर्माण, निःशुल्क स्वच्छ पानीको वितरण, युवाहरुका लागि रोजगार जस्ता कामहरु शुरुमै गरिनेछ । युवाहरुको क्षमता विकास र स्वरोजगारका लागि विशेष कार्यक्रम ल्याइने छ ।
एकातिर गुणस्तरीय शिक्षाको समस्या छ भने महानगरभित्रै विद्यालय नजाने बालबालिकाको संख्या पनि ठूलो छ । त्यसैले सबै बालबालिकालाई शिक्षाको व्यवस्था र शिक्षाको गुणस्तरमा वृद्धिका लागि मैले काम गर्नेछु ।
छात्राहरुका लागि निःशुल्क पोशाकदेखि शैक्षिक सामाग्री पनि निशुल्क उपलब्ध गराइने छ । महिलाहरुमा सीप विकास गराई उनीहरुलाई सक्षम बनाउनु पर्ने छ ।
पूर्वाधारका क्षेत्रमा पनि प्रशस्तै काम गर्नुपर्ने छ । यहाँको बसपार्कको आधुनिकीकरण, सडक, ढलको सुधार गरिनेछ ।
समुन्नत वीरगञ्ज बनाउछौंः राजेशमान सिंह (राजपा नेपाल)
राजपाबाट मेयरका उम्मेदवार राजेशमान सिंह दोसो संविधानसभामा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट सभासदका उम्मेदवार थिए । वीरगञ्जको टोल–टोलका समस्या बारे आफू जानकार रहेको र वीरगञ्जबासीलाई प्रत्येक सुखदुखमा साथ दिएकाले यसपटक आफूलाई वीरगञ्जवासीले साथ दिनेमा उनी ढुक्क छन् ।
तपाईँलाई वीरगञ्जवासीले मेयर किन बनाउने ?
म शुरु देखि नै समाज सेवामा लागेको व्यक्ति हो । सम्मुन्नत वीरगञ्ज निर्माणका लागि मैले यहाँका युवाहरुसँग मिलेर जुन काम गरिरहेको छु त्यसलाई अझ परिमार्जनसहित पूरा गर्नका लागि उम्मेदवारी दिएको हुँ । समग्र वीरगञ्जको विकास नै मेरो उद्देश्य हो ।
वीरगञ्जबासीको दुःखमा, उनीहरुको विकास निर्माणको चाहनामा मेरो निरन्तर साथ छ । चुनावका बेला आएर मात्रै ठूला कुरा गर्ने मानिस होइन म । त्यसैले पनि मलाई वीरगञ्जबासीले मेयर बनाउँछन् ।
यहाँका जनतासँग मिलेर हामीले सम्मुन्नत वीरगञ्जको सपना देखेका छाैँ, विकासका लागि साझा प्रयास गरेका छौं । म एक्लै कहिल्यै पनि भएन, वीरगञ्जबासीको विश्वास छ ममाथि । यहाँका युवाहरुको साथ र सहयोग छ ।
कसरी गर्नुहुन्छ विकास ?
एउटा ड्राइपोर्ट बनाउँदैमा वीरगञ्जको उन्नती हुँदैन । यहाँका सडक, विजुलीका पोल, वातावरण, स्वास्थ्य सबै क्षेत्रमा चौतर्फी विकास गरिनुपर्छ ।
विकासको त्यो भिजन र योजना छ मसँग, तपाइँले हाम्रो घोषणापत्रमा सबै हेर्न सक्नुहुन्छ । ‘समुन्नत वीरगञ्ज, गे्रटर वीरगञ्ज’को अवधारणालाई म पूरा गर्छु ।
निर्वाचनका बेला एक्कासी आएर सपना बाँडनेहरुबाट यहाँको विकास सम्भव छैन । व्यवसायबाट राजनीतिमा आउने वा राजनीतिलाई व्यवसाय बनाउने दुबैबाट वीरगञ्जको विकास सम्भव छैन भन्ने जनताले थाहा पाइसकेका छन् ।