दस्तावेजशनिवार, भाद्र २४, २०७४

६४ साल पर्व

९३ जना स्त्री-पुरुष मारिएको भण्डारखाल पर्वको सेरोफेरो

ज्ञानमणि नेपाल

सित्ताकेल कुशबिर्ताका बिर्तावार गोपाल नेपालका नाति हरिनारायणका छोरा पीताम्बर उपाध्याय (पीतांपाध्या) नेपालसँग जोडिएको एउटा सामाजिक र अर्को राजनीतिक घटना उल्लेखनीय छ।

गोपाल नेपालका चार छोरा थिए– जेठा हरिनारायण, माहिला जयनारायण, साहिला देवदत्त र कान्छा बलभद्र। चौदण्डीका राजाले यज्ञ गर्दा जयनारायणलाई एकसोली पैसा पूर्णपात्रमा दान दिएछन्। सो पैसा पाएपछि उनले 'मलाई बिर्ताको अंश चाहिएन, पूर्वथलो सिपामण्डनतिर जान्छु' भनेर गएछन्।

कुशबिर्ताको मूलघरमा अरू भाइका जहानपरिवार बस्तथे। जेठा हरिनारायण आहाले खर्कको गोठमा बस्ता रहेछन्। घरमै बसेकी उनकी पत्नी एकबिहान चामल केलाउँदै रहिछन्। त्यसैबेला अकस्मात् गलाको मङ्गलसूत्र पोतेको झुत्तो फत्रक्क खसेछ। यो के अपशकुन भो भनेर अत्तालिंदै छोरो पीताम्बरलाई बोलाएर 'बाबालाई सन्चो भएन कि के भो दौडेर गोठ जा' भनेर कराइन्।

पीताम्बर जङ्गी र मुहफट पनि थिए। 'किन एकाबिहानै त्यसै कराउँछिन् बूढी' भनी जङ्गिदै अवाच्य बोलेछन्। त्यसपछि आमा चाहिंले देवरलाई 'ए बाबु! दाजुलाई के भो, गोठ जानु न, छोरो यस्तो दुर्मुखा छ, मान्दैन' भनिछन्।

तत्क्षणै देवदत्त गोठतिर दौडिए। गएर हेर्छन् त दाजु प्राणविमुक्त भइसकेका। झ्टपट मानिस भेला गरेर लास घर पुर्‍याए, बूढीमाउ शोकसुर्ता नगरी रातो गुन्यूँ, राता चुरा, सिन्दुरपोते पहिरेर सती जान निस्किइन्।

गाउँभरिका स्त्रीपुरुषहरूले पनि सिन्दुर, चुरापोते पहिर्‍याउँदै अर्को जन्ममा पनि ऐ भाँत (शौभाग्यवती) भइरहनु भन्दै आसिक दिन लागे। एकोहोरो शंख फुक्तै बाजा घन्काउँदै अघि–अघि लास पछि–पछि सतीको डोली चलाइयो।

पिखुवा खोलाको आफ्नै बिर्ता झगरे खेतको घाटमा सोला सजाइयो। पाएसम्म श्रीखण्डचन्दन, तुलसी, कपुर, घिउ राखिएको चितामा सती चढेर पतिसँग पलेंटी कसिन्।

सतीले चाटेको मोहर घरमा राखेमा श्रीवृद्धि हुन्छ भन्ने जनविश्वासले मोहर चढाउनेको धुइरो लाग्यो। पीताम्बरले मोहर चढाउँदा सतीले भनिन् रे, “हेर, तँलाई म सराप भने पनि आसिक भने पनि यति भन्छु– सात पुस्तासम्म एकाको एकै रहनु।”

देवदत्त देवरले मोहर चटाउँदा भनिन् रे, “बाबु! तिम्रा सन्तान दरसन्तानले डाँडाकाँडा ढाकुन्।” भयो पनि त्यस्तै। देवदत्तका सन्तानले सातगाउँ ढाके।

हरिनारायणका सात पुस्तापछि मात्र सन्तान विस्तार भयो। यो सतीकै वचन सिद्ध भएको भन्ने जनविश्वास छ। हरिनारायण कुन साल बिते, उनकी पत्नी सती भइन् या भइनन्, यकिन भन्न सकिंदैन।

६४ साल पर्व
संवत् १८६४ मा नेपालको राजसिंहासनमा १० वर्षका गीर्वाणयुद्धविक्रम शाह विराजमान थिए। जोगी राजा रणबहादुर शाह, उनका पत्नी, भाइभारदारसमेत ९३ जना स्त्रीपुरुष मारिएको प्रथम भण्डारखाल पर्व परेको डेढ वर्ष भइसकेको थियो।

नेपालको सम्पूर्ण शासनको बागडोर भीमसेन थापाको हातमा परिसकेको थियो। सबै अरिष्ट पन्साएर उनी नेपालका सर्वेसर्वा बनेका थिए।

त्यसबेलाको नेपालको इतिहासको सिंहावलोकन गरेको खण्डमा अलिकता ऐतिहासिक पृष्ठभूमि पहिल्याएको खण्डमा त्यो पर्व पर्नामा त्यसअघिका विनाशकारी गृहकलहबाट उब्जेका पर्वहरू नै जिम्मेवार देखिन्छन्।

विशेषतः स्वामी महाराज र भीमसेन थापाका सल्लाह–सहमतिबाट ढुकुटीको धन बढाउन गरिएको बिर्ता, गुठी, किपट अधिग्रहण अर्थात् बासठ्ठी हरण जस्ता कामकुरा नै पूर्व–पश्चिममा असन्तोषका लहर उठाउने र यो पर्व पार्ने कारण बनेका थिए।

बहादुर शाहको अवसानपछि नेपालको दुर्दशा शुरू भएको कुरालाई नकार्न सकिंदैन। तात्कालिक स्वामी महाराज रणबहादुर शाह त्यसका प्रमुख कारक देखिए।

उनले राज्याधिकार लिनेवित्तिकै मनखुशी गर्न लागे। धेरै धन आवश्यक पर्दा उनलाई काका बहादुर शाहले धन मासेको वा राखेको शंका भयो। त्यत्रो पश्चिमको लडाइँ, भोटसँगको युद्ध, चीनसँगको जोखिमी लडाइँ लड्दा ढुकुटी रित्तो थियो।

तर, स्वामी महाराजले आफूले गरेको, भनेको कुरा नमान्ने भनी वीर देशभक्त सपूत बहादुर शाहलाई राजद्रोहको झूटो अभियोग लगाई जेलमा कोचे।

स्वामी महाराजबाट परम्परा विपरीत प्रतिलोम प्रेमविवाह गरी त्यसबाट जन्मने सन्तानलाई राजगद्दी दिने कबोल गर्ने, त्यसको विरोध गर्नेको दोहोलो काढ्ने, काका बहादुर शाहलाई बन्धनमा पारेर मार्ने, डेढ वर्षका शिशुलाई राजा बनाउने, तीन–चार वर्षका बालकलाई मुख्य चौतरिया घोषित गर्ने, २४ वर्षको उमेरमा जोगी हुन राजकाज त्याग्ने, फेरि राजकाजमा हस्तक्षेप गर्ने, सात कुल उँभो सात कुल उँधो धर्म भकाएर राजभार सुम्पेका भाइभारदारसँग लड्न मोर्चा कस्ने, आफ्नो राष्ट्रको सम्प्रभुतामा समेत आँच पुर्‍याउँदै पराइलाई उठाएर राजपाठ पुनः प्राप्त गर्ने, आफ्ना अधीनका भारदारलाई नानाभाँती अप्टिक लगाई बध गराउने, आफ्ना हातमुखले गद्दी सुम्पेको आफ्नै छोराका बफादार भाइभारदारमाथि राजद्रोहको बात लगाउने लगायतका कुकामहरू भए।

उनका तिनै कार्यले प्रजामा आतङ्क र नेपालको इतिहासमा जहानियाँ शासनको शुरूआत गराएको थियो। गुठबिर्ता, किपट हरण त्यस जमानामा चिताइनसक्नु कुरा थियो।

राजा नाबालक छँदा कुमन्त्रीका खेलमा परेका, जोगी भएर द्यौता–पितृबाट अलग्गिएका भूतपूर्व राजाबाट पो त्यस्तो काम भएको थियो, उनी आफ्नै कर्मले नष्ट भएपछि वर्तमान राजाबाट पुनः धर्म थामी ब्राह्मणहरूको खाइनपाइन पनि फिर्ता हुन्छ भन्ने अड्कलबाजी देशभर फैलियो।

बूढा–पुराना भाइभारदारहरू पनि विन्तीपत्र दिन आउने, कराउन आउने ब्राह्मण गुठियारहरूलाई देश जित्नका लागि त्यस्तो काम भएको भए पनि किल्ला काँगडा फत्ये हुनासाथ आफ्नो–आफ्नो खाइनपाइन फिर्ता, थमौती हुने आश्वासन पनि दिइराखिएकै थियो। त्यो पृष्ठभूमिमा चौसठ्ठी साल पर्व भएको थियो।

१८५४ सालमा बहादुर शाह मारिएपछि नेपाल केन्द्रमा राजनीतिक जालझेल र खेलखाल शुरू भयो। अर्काे साल श्री ५ स्वामी पनि पाल्नुभयो, त्यस्तै हुँदा घरकलह हुँदै थियो।

श्री बहादुर शाहका पालादेखि श्री ५ स्वामी स्वर्गे हुँदाका बीचमा धेरै भारदार खर्च भया।' यो पर्व नेपालको पूर्वप्रदेश माझ्किरातको भोजपुर र खोटाङमा घटेको थियो। त्यसबेला खोटाङ खुटा पनि भोजपुरभित्रै पर्दथे।

दूधकोशी र अरुणबीचको भाग माझकिरात कहिन्थ्यो। यस घटनाका उद्देश्य, कार्यविधि, नीतिनिर्देशन के कस्ता थिए, ती सबै अहिले पर्गेलेर भन्न सबै प्रमाण नपाए पनि यस पर्वलाई हृदयङ्गम गर्न सजिलो परोस् भन्ने उद्देश्यले त्यस बेलाको परिस्थितिलाई संक्षेप रूपमा समीक्षण गरेको हुँ।

आफैं वा पूर्वराजाहरूले दिएका बिर्तावितलप, छाप, खर्क किपट हरण गर्नु भनेको त्यस बेला सानो कुरा थिएन। त्यही कारण माझकिरातका जङ्गी बाहुन–क्षेत्री र राईहरूले राजा विरुद्ध वाग्यान उठाएका थिए।

यसलाई ६४ साल पर्वको नामले पहिलो पल्ट मैले नै (नेपालको महाभारत) प्रचारमा ल्याएको थिएँ।

चौसठ्ठी साल पर्वमा पूर्वका निकै मानिस लागेका थिए। यसमा लागेका मानिस र दण्डसजायको स्वरुप हेर्दा यो निकै डरलाग्दो भएको बुझिन्छ, तर तुरुन्तै यसलाई दबाइयो।

सबैलाई मार्ने, मुड्ने, सर्वस्व गर्ने, मास्ने आदि दण्डसजाय गरियो। तिनको सर्वस्व गरेर जायदाद र जहानपरिवारसमेत ल्याउन केन्द्रबाट हवल्दार केहरसिंह थापा खटाइएका थिए। 

यस पर्वमा परेका १९ मध्ये ६ जना बाहुन, दुई जना क्षेत्री, ६ जना राई र पाँच जना घर्ती छन्। बाहुनलाई मृत्युदण्ड दिनु नहुने नियम भएकोले उनीहरू चारपाटा मुडिए, सर्वस्वहरण, जात पतित गरिए।

रामभद्र पाध्या र पीताम्बर नेपालको चाहिं भाइ–छोराको अंश पर सारेर उनको जति मात्रै सर्वस्व गरियो। अरू चारजना बाहुनको पूरै सर्वस्व गरियो। क्षेत्री, राई र घर्ती जति सबै काटिए।

अटल खत्रीका छोरा दरबारमा जागीर खाई बसेका हुनाले उसको अंश राखी बाँकी सर्वस्व भयो। अटल राई, भरतसिं राई, कंठवीर राईहरूको त जहान छोराछोरी समेतलाई कमाराकमारी बनाइए। अरूका आ–आफ्नो ज्यान र धन मात्र गयो, भाइ–छोरा, तिनको अंश र जहान छोराछोरीमाथि दाग लागेन। यस पर्वमा लागेका अरू चार जनालाई सर्वस्व गरी कायनामा लेखाई दरबारै लगियो भनिएको छ।

नेपाल कुलका भएकाले पीताम्बर उपाध्याय (पीतांपाध्या) बारे केही कुरा श्रुतिपरम्पराबाट र कागतलिखतबाट जान्न सकेको छु। केहरसिंह थापाले पीतांपाध्याको सर्वस्व गर्न खोज्दा उनका दाजुभाइले अंश नै नभएको जनाइदिएछन्। त्यसपछि सर्वस्वको कारबाही त्यतिकै रोकिएर रह्यो।

पछि सबै दाजुभाइ–इष्टमित्र मिलेर नेपाल ब्राह्मणको सिक्तेल कुशबिर्ताको खर्कको रूपमा रहेको सल्लेनी निजको अंश देखाइदिए। पीताम्बरको जवदी अर्थात् सर्वस्वमा परेर रैकरमा परिणत भएको सो ठाउँबाट धेरै पछि भीमसेन थापाको अन्तिम कालतिर मुखिया चामुनारायण नेपालमार्फत रकमकलम असुलतहसिल हुन लाग्यो। 

पीताम्बर नेपाललाई वाग्यान लागेर अंश सर्वस्वमा परे तापनि दाजुभाइहरूले बहिष्कार गरेनन्, बरु आ–आफ्ना अंश बाँडीचुँडी गरेर उनलाई दिन थाले। सल्लेनी खर्कलाई चाहिं उनको अंश देखाई सर्वस्वमा पारी रैकर गराए।

(माझकिराँतका बागीलाई मुड्ने, मार्ने, मास्ने, सर्वस्व गर्ने सम्बन्धी पत्रको सकल खावाका अमाली स्व. कालभान राईका छोरा मानबहादुरसँग छ। बाँकी पत्रका नक्कल प्रतिलिपि पीताम्बरका वंशज विष्णुप्रसाद नेपालबाट केही वर्षअघि मैले लिएको हुँ।)

माझकिराँतका बागीलाई मुड्ने,

मार्ने, मास्ने, सर्वस्व गर्ने

स्वस्ति श्रीकाजी रंजीत् पाडे, श्रीकाजी भीमसेन थापा, श्रीकाजी रनधोज थापा, श्रीकाजी बहादुर भडारी, श्रीकाजी बाल नरसिंह कंवरकसे पत्रं

आगे केहेरसिंह थापा हवोलदारके यथोचित् उप्रान्त माझ्किरात कुल्याहाहरूको सर्वसो र कुलकपीला कमारा कमारी लीन पठाएको (छ) तपसील माफिकको सर्वसो कुल कपीला कमारा लेउपुरेउनु...

तपसील

चारपाटे मुडीयाका

दत्तु पाध्या कोइराला १

पशुपति जैसी १

पीताम्बर पाध्या १

इनको अंश लिनु छोराको अंस छोडीदीनु

रामभद्र पाध्या १

इनको अंश लीनु छोराको अंस छोडीदीनु

प्रलाद जैसी १

भगीरथ ढुंगाना १

बांकी ४, को सर्वसो गरी लेखालेखी दरबार ल्याउनु...

काटीया मारीयाका

अटल खत्री १ यसको सर्वसो गर्नु दरबार बस्ने ज्यठा छोराको अंश बांकी

अटलसिं राई १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

भरतसिं राई १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

कंठवीर राई १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

चामुफाल्या राई १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

सुजा राई १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

दीलीमा राई १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

नरी बस्नेत १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

कमलसीं घर्ती १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

केसर घर्ती १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

धीर्जे घर्ती १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

बन्दु घर्ती १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

गजसीं घर्ती १ यसको कपीला मासी धंसंपतीसमेत् ल्याउनु

इति सम्वत् १८६४ साल मीति आस्वीन सुदी ३ रोज १ शुभम्

विरोधी पीताम्बर नेपालको जगा जफत

स्वस्ति श्रीजनरल कम्यांडर ईन चीफ भीमसेन थापाकस्ये पत्रम्

आगे सिक्तेलका द्वारे भलामानिसके यथोचीत् उप्रान्त सिक्तेलका पीताम्पाध्या

नेपाललाई बापत् लागी तीन्को अंस श्री ५ का सर्कारमा लाग्याको हो. तीनको बीर्ता

जगामा भाइ छोरासंग अंस छुट्टियाको रहेनछ. तिमीहरू खोलाटोलाका मानीस् बसी

पीताम्पाध्याका बीर्ताका अंस छुट्याई रैकर गरिदेउ. त्यो रैकर भयाका जग्गाको चामुपाध्यासंग थरीसरहको राहाबाहा लीन्या गर.

इति सम्वत् १८९३ साल कार्तीक सुदी १५ रोज ४ शुभम्

प्रतिकृया दिनुहोस