टिप्पणीशनिवार, भाद्र २४, २०७४

भिक्षुणीको खोजी

वसन्त महर्जन

नेपाली थेरवादी बौद्ध समाजले नागरिकाहरूलाई भिक्षुणीको व्यवहार गर्न खोज्नुको अर्थ हो– भिक्षुणी संघको आवश्यकता बोध ।

तस्वीरः डा. कन्चना सिठिकुल

चार परिषद्– भिक्षु, भिक्षुणी, उपासक र उपासिका बौद्ध धर्मका मूल आधार हुन्। थेरवादी बौद्ध सम्प्रदाय भने सयौं वर्षदेखि भिक्षुणीविहीन छ। भिक्षु संघबाट मान्यता नपाइसकेका कारण थेरवादी बौद्ध परम्परा तीन परिषद्मा खुम्चिएको अवस्थामा भिक्षुणी परम्परालाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्ने चिन्तन आजको आवश्यकता हो। 

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेकै वर्ष (इ.पू. ५२८) भिक्षु संघ र त्यसको पाँच वर्षपछि भिक्षुणी संघ स्थापना भएको थियो। सर्वप्रथम बुद्धकी सानीआमा प्रजापति गौतमी भिक्षुणी बनेकी थिइन्। त्यसपछि कपिलवस्तुबाट उनीसँगै गएका पाँचसय महिला र अन्य विधिवत् भिक्षुणी बनेको बौद्ध साहित्यमा उल्लेख छ।

बुद्धले महिला र पुरुष दुवैले धर्मको अभ्यासद्वारा धर्मलाभी बन्न सक्ने भनेर त्यतिबेलै लैंगिक समानताको अभ्यास गराएका थिए। यो कुरा त्रिपिटकअन्तर्गतकै 'थेरीगाथा' र अन्य प्रसङ्गहरूमा पनि पाइन्छ। सारिपुत्र, मौद्गल्यायन, महाकाश्यप, आनन्दजस्ता प्रभावशाली भिक्षुहरूले पाएका अर्हत् (श्रावक बौधि) पद महाप्रजावती, यशोधरा, भद्रा कुण्डलकेशा, कुशा गौतमी, उत्पलवर्णा, पटाचारा आदि भिक्षुणीहरूले पनि प्राप्त गरेका थिए।

मौर्यसम्राट अशोकपुत्री भिक्षुणी संघमित्रा इसापूर्व तेस्रो शताब्दीमा श्रीलंका गएर भिक्षुणी संघ बनाएको, हजारौं महिलालाई प्रवज्या (भिक्षुणीको दीक्षा) दिएको वर्णन पाइन्छ। थेरवादी सम्प्रदायमा कुन समयमा, के कारणले भिक्षुणी परम्परा लुप्त भयो भन्ने प्रश्नको जवाफ भने पाउन सकिएको छैन।

नेपाली थेरवादी बौद्ध भिक्षुहरू श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनामलगायतका देशमा अध्ययन–अभ्यास गरेका र भारतमा दीक्षित भएका हुन्छन्। त्यताका बौद्ध केन्द्रहरूमा भिक्षुणी परम्परा नहुँदा नेपालमा पनि भिक्षुणी परम्परा नहुनु स्वाभाविक हो। ती केन्द्रहरूमा महिलाका लागि अनागरिका भएअनुसार नेपालमा पनि शुरूदेखि नै यो चलन चलेको छ। अनागरिका गृहत्यागी हुन्, तर श्रामणिकासम्म पनि होइनन्। 'गुरुमाँ' भनेर सम्बोधन गरिने अनागरिकाहरू शील पालना गर्ने बौद्ध धर्मदर्शनको अभ्यासी भएका कारण उपासक–उपासिकाहरूका लागि भिक्षुणीको विकल्पमा सम्मानित छन्। थाइल्याण्ड र श्रीलंकामा यस्तो सम्मान पाइँदैन।

आवश्यकता बोध
नेपाल, श्रीलंका, थाइल्याण्डलगायतका देशमा भिक्षुणी संघ पुनःस्थापनाको माग हुन थालेको केही दशक भयो। ठूलो बहसपछि १९९८ मा भारतको सारनाथमा श्रीलंकाका भिक्षुणी समूहलाई प्रवज्या दिइयो। भियतनाममा सन् २००० देखि यता भिक्षुणी प्रवज्या दिइँदै आएको छ। तर त्यो निर्णय विवादमुक्त छैन।

थाइल्याण्डमा सन् १९२७ देखि नै भिक्षुणी संघ स्थापनाको प्रयत्न भए पनि त्यसविरुद्ध कारबाहीस्वरुप कैदमा समेत राखियो। २००१ मा प्रवज्या लिएकी भिक्षुणी धम्मानन्दपछि भने परिस्थितिमा केही परिवर्तन आएको महसूस गरिएको छ अर्थात् उनैको पहलमा थाई भिक्षुणीहरूको संख्या बढेर केही दर्जन पुगेको अवस्था छ।

विदेशमा भिक्षुणीको प्रवज्या लिएर फर्केका नेपालका तीस जना अनागरिकाले त्यसलाई निरन्तरता नदिई अनागरिकाकै पहिचानमा रहेका छन्। भिक्षु संघ भने परम्परा नै हराइसकेको हुँदा भिक्षुणी संघ पुनर्स्थापनाको आधार निर्क्योल हुन नसकेको भनी पन्छिरहेको पाइन्छ।

यही ११–१२ भदौमा अक्षेश्वर महाविहार संरक्षण समिति र त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रीय विभागको आयोजनामा गरिएको 'बौद्ध मूलको सबलीकरणः नेपालका थेरवादी भिक्षुणीहरू' विषयक सेमिनारमा थाइल्याण्डकी भिक्षुणी संघकी अगुवा धम्मानन्दले बौद्ध धर्मको सम्पूर्णताका लागि भिक्षुणी परम्परा कुनै न कुनै रूपमा पुनर्जीवित गर्नु जरूरी रहेको बताएकी थिइन्।

त्यस्तै, नेपाली अनागरिका ञानवतीले भिक्षुणी संघको स्थापनामा जोड दिएकी थिइन्। नेपाली थेरवादी बौद्ध समाजले अनागरिकाहरूलाई भिक्षुणीको विकल्पको रूपमा लिएको र यसमा अरू देशका थेरवादी भिक्षु संघहरूलाई आपत्ति नरहेको देखिन्छ।

भिक्षुणी संघ स्वयं बुद्धबाट स्थापना भएको हो। बीचमा हराएको यो परम्परालाई कसले, कसरी शुरू गर्ने भन्ने मात्रै हो। यो परम्पराको वकालत गर्ने भिक्षु अश्वघोष महास्थविर अहिले अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष छन्। दिवंगत भिक्षु कुमार काश्यप महास्थविर नेपालमा निकै थोरै थेरवादी भिक्षु रहेकाले निर्णय गर्न कठिन भएको बताउनुहुन्थ्यो। उहाँका अनुसार यो अवस्थामा श्रीलंका, बर्मा आदि देशका भिक्षु संघहरूसँग छलफल गर्दा निर्णयमा पुग्न सहज होला।

अर्को संगायन
बौद्ध समाजमा संगायनबाट सामूहिक निर्णय लिने परम्परा छ। प्रथम संगायन बुद्धको महापरिनिर्वाणको तीन महीनापछि मगध नरेश अजातशत्रुको संरक्षकत्वमा राजगृहमा सम्पन्न भएको थियो। त्यसको १०० वर्षपछि भिक्षुहरूबीच विनय विवाद हुँदा वैशालीमा दोस्रो संगायन भएको थियो भने मौर्य सम्राट अशोकको संरक्षकत्वमा पाटलीपुत्रमा तेस्रो र श्रीलंकामा भएको चौथो संगायनबाट सम्पूर्ण त्रिपिटकलाई लिपिबद्ध गरिएको थियो।

पछि सन् १८७१ र १९५४–५६ मा गरी दुई पटक यस्तो संगायन भयो, म्यानमारमा। समस्या आउँदा अन्य बौद्ध सम्प्रदायमा पनि संगायन गर्ने चलन छ, उदाहरणका लागि इस्वीको दोस्रो शताब्दीमा कुषाण सम्राट कणिष्कको संरक्षकत्वमा कश्मीरमा सर्वास्तिवादी बौद्ध सम्प्रदायको पनि संगायन भएको थियो। भनेपछि, यसअघि छैटौं पटक संगायन गरिसकेका थेरवादी बौद्ध सम्प्रदायले भिक्षुणी परम्पराका सम्बन्धमा सातौं संगायन किन नगर्ने?

यसका लागि भिक्षुहरूको अग्रसरता, ठूलो तयारी र संरक्षण आवश्यक पर्छ। अहिलेलाई संगायन गराउने सामर्थ्य श्रीलंका, थाइल्याण्ड र म्यानमारसँग मात्र रहेको कुरा पनि भन्नै पर्छ। 

प्रतिकृया दिनुहोस