नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान
एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली मलेशिया प्रस्थान गरेको छ ।
दीपेन्द्रसिंह ऐरी नेतृत्वको टोली २३ भदौमा मलेशिया गएको हो ।
२५ भदौदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान, सिंगापुर र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङ्कङ, चीन र म्यानमार छन् ।
नेपालले २६ भदौमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । २८ भदौमा भुटान, २९ भदौमा सिंगापुरसँग भिड्नेछ ।
प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन् ।
त्यस्तै सहभागी अन्य खेलाडीमा सन्दीप लामिछाने, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, सुमित महर्जन, प्रनित थापामगर, अनिलकुमार शाह, पवन सर्राफ, नन्दन यादव र विक्रमकुमार भुसाल छन् ।
टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा कलाम अली छन् । रासस