ठगी गर्ने व्यवसायीलाई कारबाही हुन्छ: मन्त्री मण्डल
आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानून अनुसार कार्वाही हुने बताएका छन् ।
चर्को मूल्य लिएको पाइएपछि शिलबन्दी गरीएका पसल खुलाउन माग गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री मण्डलले भने, “यो विषय कानूनी रुपमा हल हुन्छ, विद्यमान कानूनले जे भन्छ त्यसै अनुसार हुन्छ ।”
उपभोक्तालाई सहज र सुलभ तरीकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा पुगेको ठाउँमा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको र त्यस्तै व्यवहार गर्ने गरेकोले गलत काम गर्ने व्यवसायी कार्वाहीको भागीदार हुने उनले बताए ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणसहितको टोलीलाई उनले भने, “राज्यको सशक्त उपस्थिति भएको ठाउँमा त जे गरेपनि हुन्छ भन्ने हुन्छ भन्ने सोचाई छ भने सर्वसाधरणलाई कस्तो व्यवहार होला ?”
टोलीले अनुगमनबाट व्यापारीको छवि नै विग्रेकोले शिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेको थियो ।