रौतहटको फतुवा विजयपुरमा निर्वाचन प्रक्रिया अवरुद्ध
रौतहटको फतुवा विजयपुर नगरपालिकामा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
मनोनयन दर्ताका लागि एक उम्मेदवारले बुझाएको फाइल हराएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।
नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्ष पदका लागि प्रमोद पासवानले उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालयमा बुझाएको फाइल हराएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो ।
माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र राय यादवले आफूले सबै वडा अध्यक्ष र सदस्यको फाइल बुझाएकोमा एकजनाको फाइल कार्यालयबाट हराएकाले उनको पुनः उम्मेदवारी दर्ता हुनुपर्ने माग राखेका छन् ।
यता निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले भने उम्मेदवारीका लागि आएका सबै फाइल आफूसँग सुरक्षित रहेकाले पासवानको फाइल नबुझइएको हुनसक्ने बताइएका छन् । उनले यसविषयमा निर्वाचन आयोगलाई लेखी पठाएकाले उताबाट निर्देशन प्राप्त नहुन्जेल काम अघि नबढ्ने बताएका छन् ।
सञ्जय मित्र, रौतहट