दाहाल भन्छन्, 'चितवनबाट चुनाव लड्छु'
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका छन् ।
पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको भन्दै उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा भने टुंगो नलागेको बताए ।
“पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ,” उनले भने । देशका विभिन्न स्थानबाट उम्मेदवार बनेर अनुभव संलागेको बताउँदै उनले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि निर्वाचन लड्ने निर्णय गरेको दाबी गरे ।
“रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु,” उनले भने ।
प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने उनले बताएका छन् । "कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्छ" दाहालले भने ।
चितवनमा राष्ट्रियस्तरको मिडिया एकेडेमी निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने दाहालले प्रतिवद्धता व्यक्त गरे ।
उनले संविधानका केही प्रावधानका कारण सधैं मिलिजुली सरकार बन्ने परिस्थिति रहेकोले संघको निर्वाचनपछि संविधान संशोधन गरेर निर्वाचन प्रणाली र शासकियस्वरुप परिवर्तन गर्नुपर्ने बताए ।
रासस