ब्लगआइतवार, भाद्र १८, २०७४

‘नयाँदिल्ली रिसाउँछ’

कनकमणि दीक्षित

भारत भ्रमणको सन्दर्भमा प्रम शेरबहादुर देउवालाई नेपालको जीर्ण राज्य संयन्त्रले साथ नदिएको देखियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्लीको पत्रकार सम्मेलनमा संविधान संशोधनबारे बोलेको कुरालाई लिएर घरभित्रको कुरा बाहिर गरेको भनेर आलोचित भए, तर उनले केही वाह्वाहीका अभिव्यक्ति पनि दिएका थिए । एक समारोहमा मन्त्री रामविलास पासवान चीनविरुद्ध बम्की बम्की बोले, र प्रत्युत्तरका क्रममा नेपालका प्रधानमन्त्रीले भने, “चीन नेपालको असल मित्र हो । उसले नेपालको केही बिगार गरेको छैन ।”

प्रम देउवाको भारत भ्रमण वरिपरिको खबर र विश्लेषणले के दर्शायो भने थोरै अथवा अपूर्ण सूचनाको भरमा पनि हामी टीकाटिप्पणी गरिहाल्छौं । गाली त जिब्रोमा कहिले हाम्फालौं भनी कुरी बसेको हुन्छ । आफ्नो सरकारप्रमुखको विदेश भ्रमणलाई एक त पार्टीगत चश्माले हेरिन्छ । अझ कतिपयको नजर त नजानिंदो ईख, ईष्र्या, कुनैबेला खपेको चोट तथा कसैलाई छाँस्न पाए मुलुककै नाक काटिए पनि केही छैन भन्ने हिसाबमा पुग्छ । ओठ लेप्य्राउन, घृणा पोख्न त हामी अभ्यस्त भइसक्यौं, तारिफ सजिलो गरी मन र मुखमा आउँदैन ।

प्रधानमन्त्री देउवालक्षित रिपोर्टिङ गर्ने मौका मिलेको थियो, यो पंक्तिकारलाई जब ११ भदौमा रौतहट पुगियो । रौतहटमा बाढीको असर बुझ्न डा. गौरीशंकरलाल दास, सुशील प्याकुरेल, यज्ञ थापालगायतको हाम्रो टोली दशगजा पारिको त्यो भारतीय तटबन्धमा पुग्यौं, जसले गर्दा नै दक्षिणी रौतहट डुबानमा परेको थियो । सदरमुकाम गौरलगायतका क्षेत्रमा पसेको पूर्वको वागमती र पश्चिमको बकैया खोलाको पानीलाई यही ‘दशगजा तटबन्ध’ ले रोकिदिएको थियो ।

३१ साउनको बाढीले भत्काएको सीमावर्ती भारतीय भूमिमा रहेको ‘दशगजा तटबन्ध’ पुनःनिर्माण गरिंदै । यही तटबन्धकै कारण दक्षिणी रौतहट डुबानमा परेको थियो । तस्वीरः कनकमणि दीक्षित

३१ साउनमा भयावह स्थिति उत्पन्न भयो, जलमग्न दक्षिण रौतहटमा पानी बढ्दै जाँदा हजारौं हताहत हुने स्थिति भयो । त्यत्तिकैमा त्यो दशगजा तटबन्धको पूर्वी भागको १०० मिटर जति फुटेर पानीले निकास पायो र गौरलगायतका क्षेत्र सर्वनाशबाट बचे ।

हामी तटबन्धमा पुग्दा २०० भन्दा बढी भारतीय मजदूर फुटेको भाग पुर्न खटिएको देखिए । बालुवा भरिएका बोरा पानीमा बिछ्याइँदै फेरि तटबन्ध जत्रै पर्खाल बनाइँदै थियो । रौतहट डुबाउने त्यो तटबन्धलाई पूर्वावस्थामा लग्दै जाँदा नेपालपट्टि खतराको चिन्ता कतै देखिएन । त्यहाँ नेपाल सरकार र नेपाली नेताको न उपस्थिति थियो न चासो देखियो ।

स्थानीय राष्ट्रसेवकहरूलाई यो पुनःनिर्माणबारे जिज्ञासा राख्दा माथि ‘मौखिक खबर’ पठाएको बताए । पूर्व प्रम माधवकुमार नेपाल गौर आएर गए, तर यो तटबन्ध पुनःनिर्माणबारे बोलेको सुनिएन । ठूला दल वा मधेशकेन्द्रित दल, कसैले यसबारे बोलेनन् । र, आजसम्ममा सम्भवतः त्यो पुनःनिर्माणको काम सकिइसक्यो ।

पुनःनिर्माणको काम भइरहँदा हाम्रो टोली तटबन्ध पुगेकै दिन, भारत भ्रमणको क्रममा पटना पुगेका प्रम देउवा बिहारका मुख्यमन्त्री नितिश कुमारसँग वार्तामा थिए । सीमा क्षेत्रमा बाढीको समस्या हल गर्न दुवै पक्ष राजी भएको खबर पनि आयो, तर क्षमता र आत्मबलको अभावमा नेपालले पुनःनिर्माण भइरहेको ‘दशगजा तटबन्ध’ को कुरा त्यहाँ उठाएन ।

प्रम कार्यालयलाई दोष दिऔं, गृहमन्त्रालयलाई दोष दिऔं (दैवी प्रकोप सम्बन्धी उसको अभिभाराका कारण), यो विषयमा केही नबोल्ने सांसद्हरूलाई औंल्याऔं, तराईका अनगिन्ती विषयमा टिप्पणी गर्ने विश्लेषक भनौं– बुझियो के भने भारतलाई ‘इन जनरल’ गाली गर्न सबै अग्रसर तर ठोस समस्या उठाउन र समाधान सुझाउन कोही अगाडि नसर्ने । किनकि, सोलोडोलो आलोचनाले भारतलाई बिझाउँदैन, तर ठोस कुरा गर्दा ‘नयाँदिल्ली रिसाउँछ’ ।

‘भारत रिसाउँछ’ ले कसैलाई फरक पर्दैन, किनकि अमूर्त राष्ट्रबारे केही भन्दा त्यताको कुनै शक्तिकेन्द्रले आफूमाथि लक्षित ठान्दैन । तर, प्रमाण र डाटासहित केही माग र अडान पेश हुँदा त भारतीय कर्मचारीतन्त्र तथा राजनीतिक वृत्तबाट तत्कालै ‘रियाक्सन’ आउने भयो । त्यो खतरा मोल्न नेपालको राजनीतिक नेतृत्व तयार छैन । यसैकारण पूरै कर्मचारी संयन्त्र– सचिव, सहसचिव, सिडिओ, एलडिओ– जो कोही केन्द्र र फिल्डका पदाधिकारी सबै चूप रहनुलाई नै श्रेयस्कर ठान्दछन् ।

यसै कारण रौतहटको ‘दशगजा तटबन्ध’ पुनःनिर्माणमाथि टिप्पणी गर्न कोही अग्रसर नभएको हुुनुपर्छ । पानीढलोको प्राकृतिक नियम विपरीत दक्षिणले बाँध निर्माण गरेको धेरैले भने, तर जब ठोस कुरा भन्नुपर्‍यो, याने कि पुनःनिर्माण नगर या यसरी गर– सबै चूप ।

पहिला त लाग्यो, प्रधानमन्त्री देउवाले पनि रौतहट डुबानको खबर सुनीसुनी बुझपचाए, यसै कारण नितिश कुमारसामु ‘स्पेसिफिक्स’ मा गएनन् । तर पुनर्विचार गर्दा यसो भएको हुनुपर्छ– राजनीतीकरण, भागबण्डा, विदेशी हस्तक्षेप, कमजोर बौद्धिक समाज आदिका कारण हाम्रो राज्य संयन्त्र यति कमजोर भइसक्यो कि सरकारी संरचनाले दुईपक्षीय वार्तामा प्रयोगको लागि त्यो खबर आफ्नै प्रमसम्म पुर्‍याउन न क्षमता राख्यो न आत्मबल । किन ? किनकि, ‘नयाँदिल्ली रिसाउँछ’ ।

यी हरफहरू लेख्दा लेख्दै एउटा विश्वसनीय सूचना पाएँ कि नेपाल–भारत प्रधानमन्त्रीस्तरीय औपचारिक वार्तामा प्रम देउवाले तटबन्धीय डुबानबारे भन्न चुकेका रहेनछन् । उनलाई दिइएको ‘टकिङ प्वाइन्ट्स’ भित्रैबाट उनले अंग्रेजीमा यसरी कुरा राखेछन्– “तराई क्षेत्रको, विशेषगरी सिमाना आसपासको डुबान (‘इनन्डेशन्’) नेपालको लागि गम्भीर समस्या हो । सिमानाको सामुन्ने निर्माण भएका सडक, तटबन्ध तथा अन्य भौतिक संरचनाले पानीको प्राकृतिक बहावमा अवरोध पुर्‍याएका  छन् । यस्ता अवरोध हटाउन दुई देशबीच सहकार्य जरुरी छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यत्ति भन्न सक्ने प्रम देउवाले शायद नितिश कुमारलाई पनि रौतहटको ‘दशगजा तटबन्ध’ को हतारोमा गर्दै गरिएको पुनःनिर्माणबारे प्रश्न र सुझाव सम्भवतः राख्दथे ।

प्रतिकृया दिनुहोस