रिपोर्टबुधवार, भाद्र १४, २०७४

पुगेन नेपालको पर्यटन प्रवर्धन

युवराज श्रेष्ठ

कुनै बेलाका पर्यटक तर अहिलेका व्यवसायी चिनियाँहरू चीनमा पर्यटन प्रवर्धनमा नेपालको जोडबल नपुगेको ठान्छन् ।

पोखराको लेकसाइडस्थित चिनियाँ रेस्टुरेन्टमा चिनियाँ युवती । तस्वीरहरूः युवराज श्रेष्ठ

२३ साउनमा पोखरा लेकसाइडस्थित एक चाइनिज रेस्टुरेन्टमा केही चिनियाँ युवती खानपानमा रमाइरहेका थिए। प्रोजेक्टरबाट सञ्चालित चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) मा चिनियाँ सेनाको युद्धकलाको दृश्य आइरहेको थियो, तर युवतीलाई त्यसको खासै सरोकार थिएन। 

यी युवतीहरू जस्तै झ्ण्डै पाँच वर्षअघि चाङ युएनयुएन पनि घुम्नकै लागि पोखरा आइपुगेका थिए। अहिले उनी आफैं पोखरा चाइनिज रेस्टुरेन्ट चलाइरहेका छन्। पोखरा र आसपासमा चिनियाँ पर्यटकको बाक्लो उपस्थिति भएर पनि चिनियाँ रेस्टुरेन्ट खासै नदेखेपछि चाङ यसतर्फ आकर्षित भएका थिए। काठमाडौंमा चिनियाँ रेस्टुरेन्टमा काम गरेको अनुभव बटुलेका मनोज श्रेष्ठलाई प्रबन्धक बनाएका उनी पोखरा–चीन आउजाउ गरिरहन्छन्।

ओभरसिज चाइनिज एसोसिएसन, पोखराका अध्यक्ष एवं व्यवसायी चान्ता सी।

चान्ता सी (५१) को पृष्ठभूमि पनि खासै फरक छैन। १३ वर्षअघि चाइना रेलवे फर ब्यूरो फुजान कम्पनीमार्फत बाटो बनाउन नेपाल आएका सीलाई यहीं बस्न मन लाग्यो। र, काठमाडौंमा रेस्टुरेन्ट चलाए। जब पोखरा घुम्न आए, यहाँको हावापानी, सौन्दर्य, चिनियाँ पर्यटकको बढ्दो आगमनले उनको मन तान्यो। चिनियाँले नै चलाएको रेस्टुरेन्ट रु.५५ लाखमा किने। “व्यापार त काठमाडौंमै राम्रो थियो। तर, बस्न यहाँ आनन्द लाग्छ”, पोखराको ६ वर्षे बसाइको अनुभव सुनाउँदै सी भन्छन्।

अहिले लेकसाइड क्षेत्रमा चिनियाँ लगानीका १९ वटा होटल र रेस्टुरेन्ट संचालनमा छन्। कम्तीमा ६० जना चिनियाँ व्यवसायकै लागि पोखरा बसिरहेका छन्।

चिनियाँ पर्यटकको पोखरा आगमन 'अफ सिजन' मा पनि घट्दैन। त्यसबाट व्यवसायीले राहत महसूस गर्छन्। तर, १२ वैशाख २०७२ को महाभूकम्पका कारण स्वाट्टै कमी आएको चिनियाँ पर्यटकको संख्या बल्ल उकालो लाग्न थालेको छ। (हे. ग्राफ)

थुप्रै अप्ठेरा
चीन–नेपाल मार्ग जति असजिलो छ, यहाँ व्यवसाय गर्न पनि उत्तिकै कठिन रहेको चिनियाँ व्यवसायीहरूको अनुभव छ। “चाइनिज होटल/रेस्टुरेन्ट भनेपछि चीनबाटै खाद्य सामग्री मगाउनुपर्छ, साह्रै गाह्रो छ”, ओभरसिज चाइनिज एसोसिएसन, पोखराका अध्यक्ष समेत रहेका चान्ता सी भन्छन्। 

भूकम्पले त झनै सास्ती थपिदियो। चीन जोडिने प्रमुख नाका सिन्धुपाल्चोकको तातोपानी भूकम्पपछि ठप्प छ भने रसुवा र अन्य स्थानबाट पर्यटक आउने सम्भावना नरहेको व्यवसायीहरू बताउँछन्। जति आउँछन्, महँगो भाडा तिरेर हवाई मार्गबाटै आउँछन्। भूगोलले नजिक र चिनियाँले बढी मन पराए पनि असुविधाका कारण नेपाल आउन नसकेको बताउँदै सी थप्छन्, “त्यसैले पनि नेपालभन्दा थाइल्याण्ड, श्रीलंकाजस्ता देशमा जाने चिनियाँको संख्या बढ्दो छ।”

लेकसाइडस्थित होटल स्नोल्याण्डका संचालक गणेशबहादुर थापाका भनाइमा, पोखरा आउने अधिकांश चिनियाँ अल्ट्रालाइट, प्याराग्लाइडिङ, ट्रेकिङ जस्ता गतिविधिमा रमाउँछन्।

नेपाल–चीन जनमैत्री संघ, पोखराका अध्यक्ष विश्वशंकर पालिखे भूकम्पपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देश चिनियाँसामु अझै पुर्‍याउन नसकिएको बताउँछन्। “भारतपछि चीनबाटै धेरै पर्यटक आउँछन्, तर सरकारले चीनमा नेपाल प्रवर्धन गर्नै चाहेन”, उनी भन्छन्।

विश्वमा सबैभन्दा धेरै घुमफिर गर्ने नै चिनियाँ भएकाले अन्य देशले चिनियाँ पर्यटक भित्र्याउन आकर्षक 'अफर' दिइरहेको तर नेपाली सीमामा भने बाटो समेत सहज नबनाइएको उनको गुनासो छ।

त्यसो त नेपाल पर्यटन बोर्डले भूकम्पपछि चीनमा नेपाल प्रवर्धन गर्न ६० वटा भ्रमण गरिसकेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी चीनको छन्तु टेलिभिजन र रेडियोका साथै बेइजिङस्थित नेपाली दूतावास, विभिन्न एअरलायन्सलगायतको सहकार्यमा पर्यटन प्रवर्धनका थुप्रै कार्यक्रम गरेको बताउँछन्।

“चिनियाँ पर्यटक भित्र्याउन उच्च प्राथमिकताका साथ काम गरिरहेका छौं” जोशी भन्छन्, “विस्तारै पर्यटकको आगमन पनि बढ्दैछ।”

प्रतिकृया दिनुहोस