कृषि वैज्ञानिक स्थापितको निधन
वरिष्ठ कृषि वैज्ञानिक डा.भुवनरत्न स्थापितको उपचारका क्रममा अमेरिकामा निधन भएको छ ।
अमेरिकास्थित जेम्स ग्रह्म ब्राउन क्यान्सर सेन्टरमा उपचार क्रममा ११ भदौ दिउसो निधन भएको परिवारजनले बताएका छन् । जिब्रोको क्यान्सरबाट पीडित वैज्ञानिक स्थापित डेढ महीना अघि उपचारका लागि अमेरिका गएका थिए ।
दुई वर्ष अघि जिब्रोको क्यान्सर देखिएपछि थाइल्याण्डमा उपचार भएको थियो । निको भएर फर्किका वैज्ञानिक स्थापितको जिब्रो चार/पाँच महीना अघि समस्या देखिएको थियो । लेखनाथ पोखरा महानगरपालिका–३ का स्थापितका श्रीमती र तीन छोराछारी छन् ।
सन् १९७७ मा कृषि विशेषज्ञका रुपमा कृषि अनुसन्धान केन्द्र, लुम्लेबाट कामको शुरुआत गरेका उनले १९९७ सम्म नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत रहेका थिए ।
उनले हिमाली क्षेत्रमा उत्पादन गर्न सकिने छोमरोङ धानको विकास गरेका थिए । छोमरोङ धान एकहथजार ८०० मिटरदेखि दुईहजार ६०० मिटरसम्मको उचाइमा फलाउन सकिने पुष्टि भएपछि राष्ट्रिय विउ ब्यांकमा दर्ता गरिएको थियो ।
उनकै अगुवाइमा पोखरामा जैविक विविवधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) को स्थापना भएको थियो । पछिल्लो समय उनी बायोभर्सिटी इन्टरनेशनलको नेपाल प्रमुख भएर काम गरिरहेका थिए ।
-युवराज श्रेष्ठ, पोखरा