रिपोर्टमंगलवार, भाद्र १३, २०७४

राहतको पर्खाइमा धनुषा

हिमालखबर

बाढी र डुबानले बिचल्ली भएको दुई साता बित्दा पनि धनुषाका बाढी पीडितले राहत पाएका छैनन् ।


धनुषाको मुखियापट्टी मुसहरनियाँस्थित बाढीले भत्किएको घरमा चम्पादेवी माझी। तस्वीरः ईश्वरचन्द्र झा

२९ साउनको बाढीले फुसको घर बगाएपछि मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–१, धनुषाका बिक्रु यादव तीन छोरासहित स्थानीय राष्ट्रिय प्राविको खाली जमीनमा आश्रय लिइरहेका छन्। भोकभोकै बस्नु परेपछि आठ महीने गर्भवती पत्नीलाई जनकपुरस्थित ओरेक नेपालमा पठाएका उनले ९ भदौसम्म कतैबाट राहत नपाएको बताए। बाढीले उनको सहित २२ घर भत्किएका र ६५ घर डुबानमा परेका थिए। 

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–२ की चम्पादेवी माझीले डुबान भएको एक सातासम्म पानी जमेकै घरमा बसेको सुनाइन्। पानी सफा गरेर तथा बाँसको आडले घरलाई भत्किनबाट जोगाएकी चम्पादेवीले पनि अझै राहत पाएकी छैनन्।

उनका छिमेकी कपिलेश्वर ठाकुर, कुशेश्वर ठाकुर, राम प्रकाश ठाकुर, जगदीश माझी, रामसेवक माझी, रामकिशुन यादव, संजय रामलगायतका थुप्रै घर डुबानमा परेर बस्नलायक छैनन्। अझै पनि घर वरिपरि पानी जमेकै छ। सर्पको विगविगीले रातभरि जाग्राम बस्ने गरेका उनीहरू राहत नपाएको बताउँछन्।

जनकपुर उपमहानगरपालिका–१ धर्मवान टोलमा दर्जनौं घरमा बाढी पस्यो। मुसहर समुदायको बाक्लो बस्ती रहेको यहाँका २०० भन्दा बढी विस्थापित भए। कतैबाट सहयोग नमिलेपछि उनीहरू आफैं अस्थायी टहरा निर्माणमा जुटेका छन्।

पूर्वी धनुषाको कमला सिद्धिदात्री, शहीदनगर नगरपालिकामा मात्रै बाढीले दुई हजार विस्थापित भए। घरमा बस्न नसकिने भएपछि उनीहरूले अहिले पनि छिमेकीको घरमा आश्रय लिएका छन्।

जिल्लामा बाढीले तीन जनाको मृत्यु भयो भने हजारौं प्रभावित भए। सरकारले मृतकका परिवारलाई रु.२ लाख सहयोग दिने घोषणा गरेको थियो। तर अहिलेसम्म किरिया खर्च समेत नपाएको उनीहरू बताउँछन्।

डुबानले विराटनगर विमानस्थल अवरुद्ध हुँदा जनकपुर विमानस्थलबाट बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका सामग्री पुर्‍याइयो। धनुषाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उपरीक्षकलगायतका अधिकारीहरू तीन दिन विमानस्थलमै खटिए। यहींबाट अन्य जिल्लामा राहत सामग्री पुर्‍याइए पनि नजिकैका बासिन्दा भने हेरेको हेर्‍यै भएका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाई रौतहटदेखि सप्तरीसम्म जनकपुर विमानस्थलबाटै राहत पठाउन खटिनु परेकोले धनुषामा ध्यान दिन नसकिएको स्वीकार्छन्। प्रभावितको तथ्यांक संकलन भइरहेको बताउँदै प्रजिअ चापागाई भन्छन्, “दशहजार जति विस्थापित भएको प्रारम्भिक जानकारी आएको थियो। अहिले सबै घर फर्किसकेका छन्।”

कृषकलाई सकस
नगराइन नगरपालिका–८ देवडिहाका प्रमोद मुखियाका आठमध्ये पाँचवटा पोखरीमा पालेका माछाका भुरा बाढीले बगायो। ग्रामीण विकास, निर्धन उत्थान, नेशनल र राजश्री ब्यांकबाट ऋण निकालेर राखेका माछाका भुरा बगेपछि राहतका लागि सरकारी कार्यालय धाइरहेको प्रमोद बताउँछन्। उनी भन्छन्, “अहिलेसम्म कहींबाट केही पाएको छैन।”

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–३ बहेडाका पल्टु मुखिया रु.५० हजार ऋण निकालेर राखेका माछाका भुरा बगाएपछि अप्ठ्यारोमा परेको बताउँछन्। कृषि फार्ममा पानी जम्दा गाईबस्तु बिरामी परेर मर्न थालेपछि कृषक झ्न् सकसमा परेका छन्।

साउन तेस्रो सातासम्म सुक्खा तथा अन्तिम साताको वर्षा र बाढीले सबैभन्दा बढी कृषक मारमा परेका छन्। ४० प्रतिशत धानबाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कृषि विकास कार्यालय, धनुषाका बाली विकास अधिकृत बद्रीप्रसाद साहका अनुसार, नौ लाख २५ हजार ६४६ टन अर्थात् रु.२ अर्ब ३ करोड ३३ लाख ४८ हजार बराबरको धान क्षति भएको छ।

ईश्वरचन्द्र झा, धनुषा

सम्बन्धित समाचार

तरार्इ डुबानः मानवीय देखिएन सत्ता

प्रतिकृया दिनुहोस