चार पत्रकार पुरस्कृत
सञ्चारिका समूहको २१औं साधारण सभाको अवसरमा चार जना पत्रकार पुरस्कृत भएका छन् ।
१२ भदौमा समूहले हरेक वर्ष प्रदान गर्दै आएको सञ्चारिका समानता पुरस्कार २०७३ बाट नेपाली टाइम्स साप्ताहिककी पत्रकार सिर्जना श्रेष्ठ र स्व. उमा सिहं पत्रकारिता पुरस्कारबाट बाराको रेडियो संस्कारमा कार्यरत पत्रकार रेणु चौधरी पुरस्कृत भएका छन् । १० असार, २०७३ मा नेपाली टाइम्समा प्रकाशित ‘हर सेकेन्ड मनसुन’ रिपोर्टका लागि श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी रु.१५ हजार रहेको छ ।
त्यसैगरी स्व. उमा सिंह पत्रकारिता पुरस्कार तराईमा रहेर पत्रकारितामा क्रियाशिल भएकोले चौधरीलाई प्रदान गरिएको समूहले जनाएको छ । पुरस्कारको राशी रु.७ हजार १११ रहेको छ ।
त्यसैगरि सञ्चारिका समानता पुरस्कारबाट दोलखाबाट बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार निराशी थामी र बाह्रखरी अनलाईनमा कार्यरत पत्रकार रुमु न्यौपाने पुरस्कृत भएका छन् । छोटो समयमा नै पत्रकारितामा प्रभावकारी काम गरेको हुनाले थप प्रोत्साहनको लागि उक्त पुरस्कार प्रदान गरिएको सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले बताइन् ।
यसैबीच सञ्चारिका समूहले पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्नको लागि अक्षय कोषको स्थापना गरेको छ । समूहका सदस्यहरुबाट नै सहयोग रकम संकलन गरी अक्षय कोष स्थापना गरेको जनाएको छ । समूहको २१ औं साधारण सभाको अवसरमा स्थापना गरिएको अक्षय कोष कम्तिमा रु.३ लाखको बनाउने लक्ष्य राखिएको संस्थाकी कोषाध्यक्ष यशोदा अधिकारीले बताइन ।
सञ्चारिका समूह अध्यक्ष शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष महेन्द्र बिष्ट, सञ्चारिका समूह पूर्व अध्यक्ष तथा सल्लाहकार बबिता बस्नेत, संस्थापक अमृता लम्सालले शुभकामना मन्तव्य राखेका थिए ।