आक्रमणबाट घाइते वडा अध्यक्ष कोइरालाको निधन
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ ।
गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि ४ भदौमा घर नजिकै आक्रमण भएको थियो । आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेका कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला परेका थिए ।
नेकपा एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमा छन् । उनी जिल्लामा सामाजिक अभियन्ताको रुपमा समेत परिचित थिए ।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले उनी माथि आक्रमण गर्नेको खोजी भइरहेको बताउँदै अपराध अनुसन्धान ब्यूरो (सिआइवी) ले पनि घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
रासस