डा केसी रामचन्द्र पौडेलसँग बोल्न सकेनन्
आज ११ औं पटकको अनशनको २१ औं दिन डा केसीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ ।
उनलाई भेट्न पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग डा केसी राम्रोसँग बोल्न सकेनन् । कसैसँग बोल्न खोज्दा मात्रै पनि उनको मुटुको चाल प्रतिमिनेट २०० भन्दा माथि पुग्ने गरेको छ । त्यसैले आज विहानैदेखि उनी मौन छन् ।
बेलुका पौडेलसँग बोल्न प्रयास गरेका डा केसीको सास फुलेको र मुटुको चाल २०० भन्दा माथि पुगेपछि रोकिनु परेको थियो ।
यसबाहेका उनको बेलाबेलामा छातीमा असह्य पीडा हुने क्रम जारी छ । अक्सिजन स्याचुरेसन निकै घटेकाले एकैछिन पनि पनि अक्सिजन मास्क निकाल्न नमिल्ने अवस्था छ ।
रगतमा म्याग्नेसियम, पोटासियम, क्याल्सियम, फोसफोरसको मात्रा र श्वेत रक्तकोशिकाको मात्रा अत्यन्तै न्यून छ ।
यस्तो अवस्थाको विरामीलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गर्नुपर्ने भए पनि डा केसीले आफू अचेत नहुँदासम्म कुनै पनि हालतमा आइसीयूमा नजाने अडानमा छन् ।