थप समाचारबुधवार, श्रावण २५, २०७४

पाटनमा मतया पर्व मनाइँदै (फोटो फिचर)

हिमालखबर

प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ आज बिहान शुरु भएको छ । 

तस्वीरहरु: गोपेन राई

गाईजात्राको भोलिपल्ट पर्ने यो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन् । 

विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने मतया पर्वमा वर्ष दिनभित्र मृत्यु भएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ । 

आज साँझसम्म हुने कार्यक्रममा मानिसलाई सिंगारेर स्थानीय नागवहालबाट विभिन्न टोलमा परिक्रमा गराई पुनः नागवहालमा आउने व्यवस्था मिलाइएको छ । यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिको आत्माले शान्ति प्राप्त गरी स्वर्ग (सुखावती भुवन) मा बास गर्ने सम्बन्धित धर्मावलम्बीको विश्वास छ । 

उक्त पर्वका क्रममा ससाना बालबालिका तथा वयस्कलाई समेत आआफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ । सोही क्रममा विभिन्न टोलटोलमा भएका बौद्ध सम्पदा, चैत्य तथा वहा वहीमा दीप प्रज्वलन गरिन्छ । 

यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा रहेको स्थानीयवासी रवीनमुनि बज्रचार्यले जानकारी दिए । 

मृतकका आफन्तले पितृको स्मृतिमा मनाउने मतया पर्वमा सहभागी भएमा सुख, शान्ति तथा पारिवारिक समृद्धि कायम हुने विश्वास गरिन्छ ।

 

 

प्रतिकृया दिनुहोस