टिप्पणीशुक्रवार, श्रावण २०, २०७४

बुद्ध शान्तिका 'सेलिब्रेटी' होइनन्

वसन्त महर्जन

सिद्धार्थ गौतमले शान्तिका खातिर 'बुद्धत्व' प्राप्त गरेका होइनन्, यो त बुद्धत्वको सह–उत्पादन मात्र हो ।

बुद्धलाई 'विश्वशान्ति' को प्रतीक ठान्ने र त्यही अनुरूप प्रस्तुत गर्ने चलन खूबै चलेको छ । व्यापारिक विज्ञापनमा कुनै 'सेलिब्रेटी' प्रयोग गरिए जस्तै विश्वशान्तिको नारामा बुद्धको नाम लिइन्छ । नाराका क्रममा बुद्धलाई गरिएको 'महिमामण्डन' ले बुद्ध शिक्षालाई कोसौं टाढा धकेल्ने काम पनि भइरहेको छ । तर 'शान्ति' बारेको बुझाइले बुद्धको शिक्षासँग कत्तिको नजिक वा टाढाको सम्बन्ध राख्छ भन्ने पक्षमा खासै चिन्तन गरिएको पाइँदैन।  

बुद्धलाई कतिपयले विश्वशान्तिका लागि बुद्धत्व प्राप्त गरेको त कतिले क्रान्तिकारी सुधारक पनि भन्ने गरेका छन् । तर यस्ता शब्दहरूले बुद्धलाई चिन्न सकिन्न । जीवनदर्शनका अनेकौं आयाममा बुद्धले सबै प्राणी अनेकौं जन्ममा पिल्सिरहनु परेकोलाई 'दुःख' का रूपमा व्याख्या गरी दुःखबाट मुक्त हुने उपाय दिएका हुन्। जीवनको यो सत्य साक्षात्कार गरेका बुद्धले आफ्नो भूमिका मुक्तिदाता होइन, मार्गदर्शकका रूपमा मात्र निर्वाह गरेका छन् ।

बुद्धकालको समाजमा जात–भातको कुरा थियो । 'तल्लो', 'माथ्लो' को भेदभावमा सबैले स्वतन्त्रपूर्वक धर्म–कर्म गर्न पाउँदैनथे। त्यस्तो बेला जातीय भेदभावविरुद्ध बोल्नु, जातीय संकीर्णता तोड्नु आफैंमा क्रान्तिकारी कदम त थियो नै । तर, समाज सुधारका गतिविधिहरू पनि उनको प्रमुख कार्य नभएर परिआएका घटना मात्रै हुन् ।

गौतम बुद्धको व्यक्तिगत स्वभाव एकान्तप्रिय तथा सरसफाइमा ध्यान दिने खालको थियो । भिक्षुहरूले होहल्ला गरेका कारण दर्शन नै नदिएको तथा झ्गडालु भिक्षुहरूबाट वाक्क भएर बुद्ध 'पारिलेयक' वनमा एकान्तवास गएको वर्णन पनि पाइन्छ । बुद्ध उपदेशका बेला अत्यन्त शान्त वातावरण चाहन्थे । यही वातावरणलाई भिक्षुहरूले पछिसम्म कायम राखेका हुन् । शान्त वातावरणले मान्छेलाई मानसिक रूपमा सकारात्मक प्रभाव पार्ने त छँदैछ, हिंसाबाट विरक्त हुने, चोरी नगर्ने, लागूपदार्थको प्रयोग नगर्ने, झूटो नबोल्ने, व्यभिचार नगर्ने तथा नकारात्मक कुरा विरुद्ध मनलाई सुदृढ पार्दछ। मैत्री, करुणा, मुदिता र उपेक्षाजस्ता भावना त बौद्धहरूका गहना नै भए जसलाई 'चतुर्ब्रह्मविहार' भनिएको छ । चतुर्ब्रह्मविहारले आपसी सम्बन्ध हार्दिक बनाउँछ ।

बौद्ध धर्मअनुसार, समस्याको जड भनेकै तृष्णा हो। हत्या, हिंसा तथा युद्धहरूको कारक पनि तृष्णा नै हो। तृष्णाकै कारण मान्छेले पाप गर्छ । त्यसैले तृष्णा क्षय नै सही अर्थमा रूपान्तरण हो। यही रूपान्तरणले 'बुद्धत्व' तर्फ डोर्‍याउँछ। बुद्ध शिक्षाको मुख्य ध्येय 'बुद्धत्व' प्राप्ति हो ।

बुद्धत्व प्राप्ति (इ.पू. ५२८) पछिको ४५ वर्ष गौतम बुद्धले 'राजनीति निरपेक्ष' जीवन बिताए। आपसमा लडिरहेका छिमेकी राज्यहरूको चरित्रप्रति असन्तुष्ट भए पनि सबैतिर आउजाउ गर्नुपर्ने भएकाले बुद्धले कसैको कामकारबाहीमा दक्खल दिएनन्। त्यसो त तत्कालीन सम्पूर्ण समाज बुद्धको धर्मबाट प्रभावित पनि थिएन। बुद्धको उपासक बनिसकेका राजाहरू पनि परिस्थितिसँग सामना गर्न युद्ध गरिरहन्थे ।

कोलीय र कपिलवस्तु राज्यबीच रोहिणी नदीको पानीलाई लिएर युद्ध हुनै लाग्दा बुद्धले सुलह गरिदिएको प्रसंग पाइन्छ । विशाल कोशल राज्यका राजा विडूडभले कपिलवस्तुमाथि आक्रमण गर्न आउँदा बुद्धले तीनपटकसम्म बाटैबाट फर्काइदिएका थिए । चौथो पटक भने आक्रमण हुँदैछ भनेर थाहा पाए पनि उनले हस्तक्षेप गरेनन् । यस्ता प्रसंगहरूकै आधारमा बुद्धलाई शान्तिसँग जोडेर बुझन भने हुँदैन ।

हत्या, हिंसा, आतंकवाद तथा युद्धको समाधान कसरी गर्ने भन्नेबारे पहिलेदेखि नै अनेक चिन्तन र बहस हुँदै आएको छ । कतिपय शैक्षिक संस्थाहरूमा त यसबारे पढाइ नै हुन्छ । तर, शान्ति अभियानका यी प्रयासमा बुद्धको शिक्षा मुश्किलले मात्रै भेट्टाउन सकिन्छ । स्वयं बुद्धका उपदेश संग्रहित ग्रन्थहरूमा पनि विश्वशान्तिको कुरा कतै भेटिन्न ।

परिबन्द वा बाध्यतामा सिर्जना गरिने शान्तिहरू क्षणिक मात्रै हुन्छन्, जसले अन्ततः अर्को अशान्तिको बीउ रोप्दछ। बुद्धले त आन्तरिक रूपान्तरणको शिक्षा दिएका हुन्, जहाँ शान्ति स्वस्फूर्त सिर्जना हुन्छ । बुद्ध शिक्षा र विश्वशान्तिबारे फरक बुझाइका कारण कतिपय विशिष्टदेखि सर्वसाधारणसम्मले प्रयोग गर्ने शब्द 'लोकरिझयाइँ' मै सीमित हुन पुगेको छ ।

प्रतिकृया दिनुहोस