रिपोर्टशुक्रवार, श्रावण २०, २०७४

प्रविधि उद्यममा होमिएका युवा

सविता श्रेष्ठ

परम्परागत सीपको साटो प्रविधिमा आधारित नयाँ उद्यममा होमिएका युवालाई आन्तरिक समस्यासँगै बजारको स्वभाव बुझ्ने चुनौती छ ।

रोशन लिम्बू, केयूरकृष्ण श्रेष्ठ, विश्व थापा । तस्वीरः गोपेन राई

झापाका रोशन लिम्बू (२८), भक्तपुरका विश्व थापा (३४) र काठमाडौंका केयूरकृष्ण श्रेष्ठ (३३) उद्यमी हुन्। तर, उनीहरूको उद्यम परम्परागत खेतीकिसानी वा कलकारखानासँग होइन, प्रविधिमा आधारित छ । रोशन सजिलो स्कूल म्यानेजर सञ्चालन गर्छन् भने विश्व रेष्ट्रो अर्डर चलाउँछन्। केयूरकृष्ण स्मार्ट होम बनाइरहेका छन् । 

रोशनले दुई वर्षअघि प्रबल प्रधानसँग मिलेर खोलेको इटोन टेक्नोलोजीले बनाएको 'सजिलो स्कूल म्यानेजर' सफ्टवेयर स्कूल र कलेज व्यवस्थापनसँग सम्बन्धित छ। सफ्टवेयरलाई अभिभावकसँग जोड्न एप र बेवसाइट पनि बनाइएको छ

स्कूलले यो सफ्टवेयर 'इन्स्टल' गरेपछि हरेक विद्यार्थीको छुट्टै अकाउन्ट बनाउन सकिन्छ। अभिभावकले स्कूलको नामको एप स्मार्ट फोनमा राखेपछि स्कूलसँगै आफ्ना सन्तानको नतिजा, उपस्थिति, मासिक शुल्क, अतिरिक्त क्रियाकलापमा सहभागिता, कक्षामा पढाइएका विषयवस्तुका साथै पाठ्यक्रमसमेत थाहा पाउन सक्छन्। स्कूलका सूचना, गृहकार्य, स्कूल बसको 'ट्र्याकिङ' देखि पुस्तकालय व्यवस्थापन लगायतका जानकारी एपबाट हेर्न सकिन्छ ।

आफू विद्यार्थी हुँदा झोलामा अर्को लुगा बोकेर 'बंक' गर्न, शुल्क तिर्न मागेको पैसा फुर्मास गर्न खप्पिस रोशन विद्यार्थीका त्यसखाले गलत व्यवहारलाई नियन्त्रण गर्न नै सफ्टवेयर, एप बनाएको बताउँछन् । “सफ्टवेयर प्रयोगबाट सन्तानको पढाइबारे बुझ्न अभिभावकलाई स्कूलसम्म गइरहनुपर्दैन” रोशन भन्छन्, “अभिभावक विदेशबाट पनि छोराछोरीको पढाइबारे दैनिक 'अपडेट' हुन पाउँछन् ।”

मानविकीमा स्नातक रोशन प्रविधिप्रतिको रुचिकै कारण सफ्टवेयर तथा एप बनाउन सिकेको बताउँछन् । रोशनका अनुसार, यो सफ्टवेयर काठमाडौं उपत्यका, पोखरा, दमक, विराटनगरलगायतका ७० भन्दा बढी स्कूल र कलेजले प्रयोग गरिरहेका छन् । रु.३० हजारमा सफ्टवेयर, वेबसाइट र एप उपलब्ध गराउँदै आएका उनी स्कूल, कलेजलाई 'डिजिटलाइजेशन' गर्ने आफ्नो उद्देश्य रहेको बताउँछन् ।

इन्फर्मेसन टेक्नोलोजीमा बीएस्सी सिध्याएका विश्व विदेशी कम्पनीका लागि 'आउट सोर्सिङ' काम गर्थे। यही क्रममा क्यानडाका दुई रेष्टुरेन्टका लागि ट्याबबाट अर्डर लिन सकिने एप्लिकेशन बनाए । त्यही अनुभवको उपज हो, रेष्ट्रो अर्डर । ६ वर्षअघि डाँफे सोलुशन कम्पनी खोलेका उनले प्रेप क्वेष्ट, पर्चेच अर्डर, आफ्टर सेल्स सर्भिसिङलगायतका एप्लिकेशन पनि बनाइसकेका छन् ।

रेस्ट्रो अर्डर एप ट्याबमा 'इन्स्टल' गरेपछि वेटरले ट्याबमार्फत नै 'अर्डर' लिन्छन्। वेटरले टिप्नासाथ अर्डर किचन र बारमा पुग्छ। सँगै विलिङमा पनि पुग्छ ।

विश्व अब रेष्ट्रो अर्डर को 'कस्टमर मोडल' लञ्च गर्ने तयारीमा छन्। यसमा ग्राहकले मोबाइल एपबाटै रेष्टुरेन्टको टेबल र खाना अर्डर गर्न सक्नेछन् । 

रु.६० हजार पर्ने यो एप अहिले १७ वटा रेष्टुरेन्ट तथा रिसोर्टले प्रयोग गरिरहेको उनी बताउँछन्। एपमा नयाँ विशेषता थप्ने प्रयत्नमा रहेका उनी भन्छन्, “रेस्ट्रो अर्डर मार्फत रेष्टुरेन्ट व्यवस्थापन प्रणालीका सम्पूर्ण कार्य गर्न सक्ने बनाउने चुनौती छ।”

होम अटोमेसन नेपालमार्फत केयूरकृष्णले सात वर्षदेखि घरलाई 'स्मार्ट' बनाइरहेका छन्। उनको स्मार्ट होम प्रविधिमार्फत घरका सामानलाई स्मार्ट फोन र ट्याबबाटै सञ्चालन गर्न सकिन्छ। यो प्रणालीमा जुन सामग्रीलाई चलाउने हो त्यसमा हार्डवेयर जडान गरेर मोबाइल तथा ट्याबमार्फत प्रयोग गरिन्छ।

केयूरकृष्णका अनुसार, अहिलेसम्म होम थिएटर सिस्टम, पानी तान्ने मोटर, बत्ती, सेक्युरिटी सिस्टम, स्मोक सेन्सरलगायतमा स्मार्ट सुविधा जडान गरिएको छ। यसबाहेक पर्दा, ढोका, एसीलगायतका अधिकांश इलक्ट्रोनिक्स सामग्रीमा स्मार्ट सुविधा राख्न सकिने उनी बताउँछन्। यसअघि निर्माणाधीन घरमा मात्र यो सुविधा दिइएकोमा अब पुराना घरतर्फ पनि प्रोडक्ट जडान गर्न थालिएको उनी बताउँछन् ।

केयूरकृष्ण काठमाडौं उपत्यकासँगै विराटनगर, चितवन, पोखराका १०० भन्दा बढी घरमा स्मार्ट होम प्रोडक्ट जडान गरिएको बताउँछन् । यो प्रविधि जोड्न रु.५ हजारदेखि रु.९० हजारसम्म लाग्ने बताउँदै उनी रेष्टुरेन्ट, होटल, व्यावसायिक भवनलगायत जुनसुकै ठाउँमा यो प्रणाली प्रयोग गर्न सकिने दाबी गर्छन्। “स्मार्ट होम प्रविधिले घरलाई थप स्मार्ट बनाएको छ”, उनी भन्छन् । 

बुझ्दै उद्यमकारिता

फरक भूगोल, पृष्ठभूमि र प्रतिभाका धनी रोशन, विश्व र केयूरकृष्ण अहिले भने एकैठाउँ आइपुगेका छन्। एमएण्डएस नेक्स्ट भेञ्चर कर्पको 'नेक्स्ट लञ्चप्याड' मा प्रविधितर्फमा उद्यमीमा छानिएका उनीहरू आफ्नो सानो उद्यमलाई व्यवसायकै रुपमा कसरी ढाल्ने भन्नेबारे सिकिरहेका छन् ।

नेक्स्ट भेञ्चरकी सञ्चार तथा जनसम्पर्क सहायक प्रभा तिमिल्सिना कार्यक्रममा एक वर्षभन्दा लामो समय उद्यम सञ्चालन गरिरहेका उद्यमीहरूमध्येबाट उत्कृष्टलाई छनोट गरिएको बताउँछिन् । उनका अनुसार, लञ्चप्याडमा छनोटमा परेका ६ वटा उद्यमी (कृषितर्फको थप तीन उद्यमसहित) लाई चार महीने कार्यशालामा सहभागी गराई थप प्रभावकारी बनाउन सहयोग गरिएको छ ।

नेक्स्ट भेञ्चर कर्पका सह संस्थापक तथा प्रबन्ध निर्देशक कविराज जोशी कार्यक्रममार्फत उद्यम शुरु गरिसकेका नयाँ उद्यमीलाई बजार विस्तार, लगानीकर्ताको खोजीलगायतका काममा सहयोग र सुझाव दिइने बताउँछन् । “उद्यमको आन्तरिक व्यवस्थापनका समस्यालगायतका बारेमा पनि कार्यशालामा छलफल हुन्छ, अग्रज उद्यमीहरूबाट 'मेन्टरिङ' गर्ने पनि गरिन्छ”, उनी भन्छन्। कार्यशालापछि 'डेमो डे' मा उद्यमीहरूको 'आइडिया' देखाएर लगानीका लागि प्रोत्साहन गरिने तयारी पनि भेञ्चरले गरिरहेको छ ।

प्रतिकृया दिनुहोस