खेल क्षेत्रमा राजनीति हुन दिन्नः मन्त्री केसी
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताएका छन् । राजधानीमा १९ साउनमा आयोजित कार्यक्रममा उनले खेलकुदमा देखिएका राजनीति कम गर्न आफ्नो ध्यान केन्द्रित रहने बताए ।
मन्त्री केसीले विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका खेलकुदसंग सम्बन्धित भौतिक पूर्वाधारको पुनःनिर्माणमा जोड दिने र आगामी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि रंगशाला निर्माण कार्यलाई अघि बढाउने बताए ।
देश संघीयतामा गइसकेकाले आगामी दिन सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा विशेष पहल गर्ने मन्त्री केसीको भनाइ थियो ।
विद्यालयस्तरदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन सके खेल र खेलाडीको विकास हुने थियो भन्दै उहाँले खेलाडीको वृत्ति विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गरे ।रासस