रिपोर्टबिहिवार, श्रावण १९, २०७४

फर्कन थाले वैज्ञानिक

बच्चु विक

घोषणाताका महत्वांकाक्षी ठानिएको नास्टको वैज्ञानिक स्वदेश फर्काउने कार्यक्रमको शुरूआती नतिजा सुखद देखिएको छ ।


नास्टको आहृवानपछि विदेशबाट फर्केका वैज्ञानिकद्वय डा. माधवप्रसाद न्यौपाने (४५) र डा. लक्ष्मीप्रसाद थापा (४०) बायो इनर्जी प्रयोगशालामा । तस्वीरः बिक्रम राई

दक्षिणकोरियाको जन्जुस्थित चोनबुक नेशनल विश्वविद्यालयबाट सन् २००९ मा विद्यावारिधि पूरा गर्ने बित्तिकै अनुसन्धाताका रूपमा काम गर्ने अवसर पाएका डा. माधवप्रसाद न्यौपाने -४५) लाई अहिल्यै नेपाल फर्कौंला जस्तो लागेको थिएन । बायोमटेरियल्स वैज्ञानिक न्यौपानेलाई नेपालमा त्यस अनुसारको अध्ययन-अनुसन्धान गर्ने वातावरण पनि थिएन । 

२१ माघ, २०७३ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान -नास्ट) ले सार्वजनिक रूपमा जारी गरेको 'र्फक है र्फक वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल कार्यक्रम' ले भने स्वदेश ल्याइछाड्यो । जेठदेखि उनी नास्टको 'रिर्सच ल्याब' मा कार्यरत छन् । "जति विदेशमा गरेका छौं, त्यसको अलिकति पनि यहाँ गर्न सकियो भने भावी पुस्ताले विदेशिनु नपर्ला भनेर आएको हुँ", डा. न्यौपाने भन्छन् ।

उनीसँगै अर्का वैज्ञानिक डा. लक्ष्मीप्रसाद थापा -४०) पनि जेठदेखि नास्टको रिर्सच ल्याबमै व्यस्त छन् । सोलस्थित कोरिया विश्वविद्यालयको जागिर छाडेर आएका उनी 'बायो इनर्जी' सम्बन्धी अनुसन्धान गरिरहेका छन् । "नेपालमा अनुसन्धानका लागि आधार मात्रै खडा गर्न सकियो भने पनि ठूलो काम हुन्छ", डा. थापा भन्छन् ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत वैज्ञानिक डा. चन्द्रबहादुर केसी र चीनको चाइनिज एकेडेमी अफ साइन्सेज, लान्झाउमा कार्यरत वैज्ञानिक डा. लेखेन्द्र त्रिपाठी पनि नास्टको त्यही आग्रह मानेर केही महीनाभित्रै स्वदेश आउँदैछन् । नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेल भन्छन्, "थप १८ जना वैज्ञानिकले स्वदेश फर्केर नास्टमा काम गर्ने इच्छा जनाएका छन् ।"

शिरमा स्वदेश सेवा

दाँत कीराले खायो वा बिग्रियो भने नयाँ दाँत हाल्नुपर्छ । अस्थायी रूपमा 'रेजिन' को गिजा र 'सेरामिक्स' को दाँत राखिन्छ । सधैंका लागि राख्ने हो भने विभिन्न धातुको 'फिक्सचर' माथि सेरामिक्सको दाँत बनाएर राखिन्छ । दाँतको जराको रूपमा राखिने धातु स्वास्थ्यमा असर नगर्ने हुनुर्पर्छ ।

शरीरका विभिन्न भागको हाड भाँचियो भने पनि जोड्न वा भरथेग गर्न धातु नै राखिन्छ । त्यो धातु पनि हानि पुर्‍याउने हुनुहुन्न । "अहिले म शरीरमा कुनै पनि असर नगर्ने त्यस्तो धातु कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छु", बायोमटेरियल्स वैज्ञानिक डा. न्यौपाने भन्छन् ।

चोनबुक विश्वविद्यालयमा हुँदा पनि न्यौपाने त्यहाँको डिपार्टमेन्ट अफ बायोमटेरियल्समा रिर्सच प्रोफेसरका रूपमा कार्यरत थिए । ११ वर्षदक्षिण कोरिया बस्दा उनले आकर्ष जागिर मात्र होइन, थुप्रै पुरस्कार पनि पाए । कोरिया सरकारबाट पाँच लाख डलरको तीनवर्षो 'रिर्सच ग्रान्ट' समेत पाएका उनी भन्छन्, "विदेशको काम अनुसन्धानका क्षेत्रमा योगदान त मानिएला तर आफ्नो देशका लागि नहुने रहेछ ।"

गोरखाको पालुङटार नगरपालिका छापथोकमा जन्मिएका न्यौपानेले स्थानीय अमरज्योति जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । काठमाडौंको त्रिचन्द्र कलेजबाट आइएस्सी र बीएस्सी गर्दासम्म उनमा वैज्ञानिक होइएला भन्ने लागेकै थिएन । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, किर्तिपुरबाट एमएस्सी गरेपछि भने उनमा थप अध्ययनका लागि विदेश जान पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । सन् २००५ मा उनले दक्षिणकोरियाको चोनबुक नेशनल विश्वविद्यालयमा 'रिर्सच फेलो' को रूपमा छात्रवृत्तिमा पढ्ने मौका पाए । उनले सन् २००९ मा चोनबुक नेशनल विश्वविद्यालय, जन्जुबाट बायोमटेरियल्समै विद्यावारिधि गरेका हुन् ।

स्वदेशको विडम्बना, नास्टमा बायोमटेरियल्स अनुसन्धानका लागि प्रयोगशाला नै छैन । अहिले बल्ल प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ । यतिबेला नास्टको बायो-इन्जिनियरिङ ल्याबमै बसेर काम गरिरहेका उनलाई देशको गाह्रोसाह्रो थाहा छ । "कोरियाजस्तो सबै कुरा ठिक्क होला भन्ने सोचेर फर्किएको भए असहज हुन्थ्यो होला" न्यौपाने भन्छन्, "तर, अप्ठेराहरू आफैंले सुल्झाउनुपर्छ भन्ने थाहा पाएरै आएकोले झन्झट मानेको छैन ।"

संसारका विभिन्न देशहरूले जैविक पदार्थबाट इन्धन उत्पादन गरेका छन् । नेपालमै पनि वनमाराबाट कोइला उत्पादन हुँदै आएको छ । वैज्ञानिकहरू प्रयोगशालामा हुर्काइने ब्याक्टेरियाबाट जैविक इन्धन उत्पादन गर्छन् । अहिले नास्टको बायो इनर्जी ल्याबमा डा. लक्ष्मीप्रसाद थापा त्यसैको अनुसन्धानमा छन् । "मेटाबोलिक इन्जिनियरिङबाट बायो फ्यूल उत्पादन गर्ने विषयमा घोत्लिरहेको छु", उनी भन्छन् ।

थापाले कोरिया विश्वविद्यालयको रिर्सच प्रोफेसरका रूपमा यही विषयमै अनुसन्धान गरेका थिए । "विदेशमा रिर्सच गर्दाको जस्तो सजिलो त यहाँ छैन, तैपनि देशका लागि केही गर्न पाउनु ठूलो कुरा हो", थापा भन्छन् ।

तेह्रथुमको फेदाप गाउँपालिका-१ सिग्लेका थापाले शंकर माध्यमिक विद्यालय, जलजलेबाट २०४९ सालमा एसएलसी गरेका थिए । धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसबाट आईएस्सी गरेका उनले पनि त्रिचन्द्र कलेजबाट बीएस्सी र किर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा रसायनशास्त्रमा एमएस्सी सिध्याए । सन् २००८ मा दक्षिणकोरियाको सनमुन विश्वविद्यालयबाट 'बायोकेमेस्ट्री' मा विद्यावारिधि गरेका उनले कोरियाबाटै 'पोस्टडक्टरेट' पनि सके ।

त्यसयता कोरिया विश्वविद्यालयमा अनुसन्धानमै संलग्न थापा देश र्फकनुलाई सुविधाभन्दा सेवासँग जोडेर हेरेको बताउँछन् । "यहाँको तलब त चिया, खाजा र आउन-जानमै ठिक्क हुन्छ । देशको सेवा ठूलो कुरा हो", उनी भन्छन् । समृद्धिका लागि वैज्ञानिक अनुसन्धानको ठूलो महत्त्व हुने बताउँदै उनी भन्छन्, "अहिले धेरै कुरा गर्न नसकिएला तर शुरूआत चाहिं गर्न सक्छौं ।"

सकारात्मक पहल

नास्टको 'र्फक है र्फक वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल कार्यक्रम' नामक सानो सूचनाले सुखद परिणाम ल्याएकोमा उपकुलपति पोखरेल दंग छन् । दक्षिणकोरिया, भारत र पाकिस्तानले आफ्ना वैज्ञानिकलाई स्वदेश फर्काउन प्रयास गर्दा शुरूआतका केही वर्षएक जना पनि नपाएको प्रसङ्ग कोट्याउँदै उनी भन्छन्, "हामीकहाँ त पहिलो वर्षनै उत्साहजनक परिणाम देखिएको छ ।"

नास्टले कार्यक्रममा आवेदन दिन स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण र विदेशमा एक वर्षकाम गरेको हुनुपर्ने मापदण्ड तोकेको थियो । यससँगै कृषि, वातावरण, जलवायु, ऊर्जा, इन्जिनियरिङलगायतका क्षेत्रमा अनुसन्धानरत वैज्ञानिकले साइन्टिफिक साइटेसन इन्डेक्स -एससीआई) को राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा कम्तीमा पाँचवटा अनुसन्धानात्मक शोध प्रकाशित गरेको हुनुपर्ने शर्त पनि राखेको थियो । नास्टकी सूचना अधिकृत प्रमिला रावत श्रेष्ठका अनुसार विदेशमा रहेका थुप्रै वैज्ञानिकले कार्यक्रमप्रति रुचि देखाएको र १८ जनाले आवेदन नै दिएको बताउँछिन् ।

विदेशमा रहेका नेपाली वैज्ञानिकहरूलाई त्यहाँको जस्तो सेवा-सुविधा र वातावरण सिर्जना गरेर फर्काउन नसकिए पनि स्वदेशमा वैज्ञानिक अनुसन्धानलाई प्रेरित गर्नु नै कार्यक्रमको उद्देश्य भएको उपकुलपति प्रा.डा. जीवराज पोखरेल बताउँछन् । "हाम्रो उद्देश्य 'ब्रेन ड्रेन' रोकेर 'ब्रेन गेन' गर्ने हो । तर, तत्काल सबैलाई र्फक भन्ने अवस्था पनि छैन", उपकुलपति पोखरेल भन्छन् ।

नास्टजस्तै विज्ञान तथा प्रविधि मन्त्रालयले पनि 'र्फक है वैज्ञानिक कार्यक्रम' को कार्यविधि बनाएको छ । नास्टको भन्दा फराकिलो रहेको मन्त्रालयको कार्यविधिमा कृषि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, वन विज्ञानलगायत विज्ञान तथा प्रविधिका विविध विषयमा कम्तीमा स्नातकोत्तर र एससीआईमा कम्तीमा दर्ुइवटा अनुसन्धानात्मक शोध प्रकाशन गरेको हुनुपर्ने प्रावधान राखिएको छ । मन्त्रालयका उपसचिव कृष्ण गैरे कार्यविधि पारित हुनेबित्तिकै कार्यान्वयनमा जाने बताउँछन् ।

नेपालका कति वैज्ञानिक विदेशमा छन् भन्ने यकिन तथ्यांक छैन । अहिले मन्त्रालय तथ्यांक संकलनमा पनि लागेको छ ।

नेपालमा आविष्कार केन्द्र स्थापनाका लागि विदेशमा रहेका नेपाली वैज्ञानिकहरूसँग सर्म्पर्कमा रहेका सूचनाप्रविधि विज्ञ महावीर पुनका भनाइमा भने ८०० जनाको हाराहारीमा नेपाली वैज्ञानिक विदेशमा छन् । नेपाली वैज्ञानिक फर्काउने नास्टको प्रयासलाई सकारात्मक मानेका पुन यत्तिले मात्र नपुग्ने बताउँछन् । उनी भन्छन्, "फर्केर सधैंका लागि यहीं बसाउन सक्ने गरिको दिर्घकालीन कार्यक्रम ल्याउनुपर्छ ।"

प्रतिकृया दिनुहोस