पहिरोमा ट्याक्सी पुरियो
बागलुङको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल राजमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् ।
१७ साउन साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध.१ ज. ६५७ नं.को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्रै रहेको बेला ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ ।
उनी ट्याक्सीको सिसा फोरेर भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताए । “चालकको टाउको, पिठ्युँमा चोट लागेको छ, अवस्था सामान्य नै छ” उनले भने ।
डेढसय मिटर माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ । रासस