पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ अदालतद्वारा अयोग्य ठहर
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई ‘पनामा पेपर लिक्स’ मुद्दामा दोषी ठहर गरेको छ । अदालतको यो फैसलापछि शरीफ प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन् ।
पाकिस्तानी पत्रिका ‘डन’ को अनलाइन संस्करणका अनुसार अदालतले अवैध सम्पत्ति राखेको आरोपमा नवाज शरीफलाई दोषी ठहर गर्दै उनी ‘संसद र अदालतप्रति समेत इमान्दार नभएकाले प्रधानमन्त्री पदका लागि समेत आयोग्य रहेको’ भनेको छ ।
सर्वोच्च अदालतको पाँच सदस्यीय इजलाशले प्रधानमन्त्री नवाजका अतिरिक्त उनकी छोरी र ज्वाइँलाई पनि दोषी ठहर गरेको हो ।
विपक्षी दल तहरीक–ए–इंसाफका अध्यक्ष इमरान खान लगायतले शरीफ विरुद्ध मुद्दा दायर गरेका थिए ।
पाकिस्तानमा पटकपटक प्रधानमन्त्री भएका नवाज शरीफले अवधि पूरा हुनु अगावै सत्ता छोड्नु परेको यो तेस्रो पटक हो । अब अर्को आमनिर्वाचन नहोउन्जेलसम्म प्रधानमन्त्रीको कुर्सीमा को हुने भन्ने अझै निश्चित भइनसकेको ‘डन’ले उल्लेख गरेको छ ।
खोज पत्रकारहरुको संस्था आइसीआईजेले दुई वर्षअघि विश्वका विभिन्न देशका नेता र व्यापारीहरुले ब्रिटिस भर्जिन आइल्याण्ड्स, पनामा जस्ता कर छुट हुने देशहरुमा छाया कम्पनी खडा गरी त्यसमार्फत लगानी गरेको ‘कालो धन’को खुलासा गरेको थियो ।
विश्वभरका सयभन्दा धेरै समाचार संस्थाहरुको सहकार्यमा गरिएको अनुसन्धानपछि भएको खुलासामा विश्वका २०० देशका नेता र सार्वजनिक पदमा रहेका अधिकारीहरु मुछिएका थिए ।
उक्त पेपर्समा नबाज शरीफबारे पनि खुलासा गरिएको थियो ।