विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी
विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ ।
आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको समेत उद्गम भूमिका रुपमा रहेको उक्त मिल आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो ।
पटक–पटक बन्द हुँदै खुल्दै आएको जुट मिल सञ्चालनको जिम्मा पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई दिइएको थियो । हरेक वर्ष नेपाल सरकारलाई रु एक करोड ३५ लाख बुझाउने गरी विमसमलाई सञ्चालन गर्न दिइए पनि विद्युत्भार कटौतीका कारण लामो समय सञ्चालन हुन सकेन ।
२०६९ सालबाट लिजमा २५ वर्षका लागि जुट मिल सञ्चालनको जिम्मा लिएपनि विमसमले जम्मा १३ महीना मात्रै सञ्चालन गरेको थियो । त्यसयता उद्योग बन्द थियो ।
जुट मिलका निर्देशक राजेन्द्र कार्कीका अनुसार सरकारले धेरै पटक आश्वासन दिए पनि पूरा गर्न नसकेको र अब मिल प्रशासन आफैंले पहलकदमी लिएर मंसिरदेखि सञ्चालन गर्ने बताए ।
गोपालप्रसाद पोखरेल, रासस