पुल भाँचिएर बस दुर्घटना, दुई को मृत्यु, एक बेपत्ता (अपडेट)
पोखराबाट लमजुङको रामबजार जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुबहाक बस रुदीखोला माथिको पुल भाँचिदा दुर्घटना भएको छ ।
लमजुङ र कास्कीका सिमानामा रहेको रुदी खोला र मादी नदी दोभानमा बनाइएको पुल तर्ने क्रममा भाँचिएर बस खोलामा खसेको प्रत्यक्षदर्शी स्थानीय सरोज पौडेलले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर २ जना यात्रुको ज्यान गएको छ भन एक जना खोलामा बगेका छन् ।
झण्डै ३५ जना यात्रु रहेको उक्त बस दुर्घटनामा कम्तीमा ७ जना घाइते भएका छन् । घाइतेलाई रामबजार स्थित स्वास्थ्यचौकीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरा पठाएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी आउने वित्तिकै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी टोली पठाइ उद्धार गरिएको लमजुङका प्रहरी नायब उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिए । उनका अनुसार दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको परिचय खुल्न बाँकी नै छ ।
लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ८ रुदीदोभानमा झण्डै ३ बर्ष अघि मात्र मोटरेवल पुल बनाइएको थियो । सोही खोलामा निर्माणाधिन रुदीखोला जलविद्युत आयोजनाले उक्त स्थानमा यसअघि बनाएको पुल बाढीले बगाएको थियो ।
युवराज श्रेष्ठ, पोखरा