रिपोर्टबिहिवार, श्रावण १२, २०७४

हिमालमाथि वायुमण्डलमा प्रदूषण मापन

कुन्द दीक्षित

हिमालयको उँचाइभन्दा झण्डै तीन गुणा माथिसम्म पुगेको प्रदूषणले मनसुनमा पारेको प्रभाव अध्ययन गर्न विश्वका वातावरण वैज्ञानिकहरू नेपाल आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्याङ्गरमा राखिएको एम ५५ विमान। तत्कालीन सोभियत सेनाको यो विमान युरोपियन वैज्ञानिकहरुले नेपालको हिमाली क्षेत्रको उच्च वायुमण्डलमा रहेका प्रदूषणका कणबारे अध्ययनमा उपयोग गर्दैछन्। तस्वीरहरुः कुन्द दीक्षित

६ साउन बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अचम्मलाग्दो विमानमा एउटा समूह विभिन्न उपकरण जडान गरिरहेको थियो। विमानका विशाल पखेटाहरू बुद्ध एयरको ह्यांगरमा अटाउन सकेका थिएनन्।

४० जनाको संख्यामा रहेका यी मानिस विभिन्न देशका वातावरण वैज्ञानिक हुन्। उनीहरू पृथ्वीभन्दा माथि वायुमण्डलको 'स्ट्राटोस्फेयर' तहसम्म पुगेका धूलोका कण र एरोसोल्स् (वायुमण्डलीय चापका कारण ग्याँसमा रुपान्तरित पदार्थ) ले दक्षिण एशियाली मनसुनमा पारेको प्रभाव अध्ययन गर्ने युरोपियन परियोजना स्ट्राटोक्लिमका सदस्य हुन्।

यो अचम्मको विमान चाहिं २५ किलोमिटर माथिसम्म उडान भर्न सक्ने 'एम ५५ जियोफिजिका' हो। यो तत्कालीन सोभियत वायुसेनाको गुप्तचर विमान हो। विश्वभर नै वातावरणीय अध्ययनमा यसको उपयोग भइरहेको छ।

“मानव सिर्जित प्रदूषणका कण र एरोसोलले एशियाली मनसुनमा पारेको प्रभावबारे राम्ररी अध्ययन भएकै छैन”, जर्मनीस्थित अल्फ्रेड वेग्नर इन्ष्टिच्यूटका प्राध्यापक मार्कस रेक्स भन्छन्, “वायुमण्डलमा माथिमाथिसम्म प्रदूषणका कणहरू ठूलो परिमाणमा थुप्रिने पृथ्वीको एकमात्र स्थान नेपालको हिमालय क्षेत्र मात्र हो, र यस्तो मनसुनका बेला मात्रै हुन्छ।”

यसरी प्रदूषणका कणहरू 'स्ट्राटोस्फेयर' मा थुप्रिंदा विश्वको मौसममा पार्ने प्रभाव र जलवायु परिवर्तनमा पर्ने असरबारे पनि अध्ययन गर्न लागेको उनले बताए।

एम ५५ विमान अगाडि उभिएका अल्फ्रेड वेग्नर इन्ष्टिच्यूटका प्राध्यापक मार्कस रेक्स ।

मनसुनको शुरुआतमा उत्तर भारतको तीव्र गर्मीबाट वातावरणमा उत्पन्न हुने न्यून चापले पारेको प्रभावबाट यी कणहरू उचालिएर हिमालय क्षेत्रमा जम्मा हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ। यी कणहरूले विश्वकै मौसममै असर पारिरहेको हुनसक्ने वैज्ञानिकहरूको धारणा छ।

“हामी यी कणहरूमा एरोसोल, मरुभूमिको धूलो अथवा औद्योगिक प्रदूषणको मात्रा कति छ भन्ने थाहा पाउन खोजिरहेका छौं”, रेक्स भन्छन्।

अमेरिकी यू–२ गुप्तचर विमान जस्तो देखिने एम ५५ विमानमा जडित अत्याधुनिक सेन्सरले समुद्र सतहदेखि २१ हजार मिटरभन्दा माथिका एरोसोल कण संकलन गरेर विमानमै रहेको स्पेक्ट्रोमिटरमा विश्लेषण गरी त्यसको उत्पत्तिस्थल पत्ता लगाउने क्षमता राख्दछ।

यदि वायुमण्डलका कणहरूमा रासायनिक प्रदूषणको मात्रा अत्यधिक पाइए यी कणहरू विश्वभर फैलने प्रक्रियाबारे वैज्ञानिकहरूले थप अध्ययन गर्नेछन्। कणका कारण मनसुनको तीव्रतामा असर पारेको देखिएमा एशियाली देशहरूले प्रदूषण नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।

त्यसो त काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले दक्षिणएशियामा वायुमण्डलको कम उँचाइमा हावाले उडाएर सीमापार पुर्‍याउने प्रदूषणबारे पनि अध्ययन गरिरहेका छन्।

अध्ययनले प्रदूषणका कणहरू हिमालय क्षेत्रमा जम्मा भएका कारण हिउँ पग्लिने र विश्व तापमानमा वृद्धि भएको देखाएको छ। तर, स्ट्राटोक्लिम टोली भने हिमालयक्षेत्र भन्दा पनि माथिको वायुमण्डलीय प्रदूषणमा केन्द्रित छ।

नेपाली आकाशमाथि 'हाइ अल्टिच्यूड' विमानमा एकपटकमा चार घण्टासम्म उडान भरेर उनीहरूले स्ट्राटोस्फेयर तहको हावाको नमूना संकलन गरी त्यसको विश्लेषण गर्नेछन्। प्राप्त तथ्याङ्क जर्मनी, फ्रान्स, इटाली र अमेरिकाका वैज्ञानिकहरूले कम्प्युटर मोडलिङबाट मनसुनको उत्पत्ति र विस्तारबारे गहिरो अध्ययन गर्ने छन्।

विमानलाई सोभियत संघताका दर्जनौं सैन्य विमान उडाएका ओले शेपेत्कोभले उडाउने छन्। विभिन्न उपकरणले भरिभराउ एम ५५ मा एकजना पाइलटबाहेक अरुका लागि ठाउँ हुँदैन, अत्यधिक उँचाइमा उड्ने हुँदा पाइलटले पनि 'स्पेस सुट' लगाउनुपर्नेछ।

“यत्रो लगानी र दुःख गर्नुभन्दा सगरमाथाको टुप्पोमै सेन्सर जडान गरे हुँदैन?” जवाफमा इटालीस्थित इन्ष्टिच्यूट अफ एट्मोस्फोरिक साइन्सेज एण्ड क्लाइमेटका वैज्ञानिक फ्रान्सेस्को कायरोले हाँस्दै भने, “हाम्रो अध्ययनका लागि सगरमाथाको उँचाइले पुग्दैन, यो विमान त सगरमाथाभन्दा झण्डै तीन गुणा माथिसम्म पुगेर अध्ययन गर्नेछ।”

 

प्रतिकृया दिनुहोस