प्रदूषणको चपेटामा कालीगण्डकी
वातावरणीय तथा मानवीय कारणले कालीगण्डकी नदी प्रदूषणको चपेटामा परेको छ ।
उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रितरुपमा ढल मिसाउनेजस्ता गलत मानवीय क्रियाकलापले कालीगण्डकी नदीको पानी प्रदूषित भएको हो ।
तापक्रम वृद्धिसँगै हिँउ पग्लने क्रम बढ्दै जाँदा कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन समेत कमजोर बन्दै गएको छ ।
मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बाग्लुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औद्योगिक फोहरमैला थुप्रिने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।
हिन्दूधर्मावलम्बीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको नदीका साथै शालिग्राम पाइने विश्वकै एकमात्र नदीका रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ ।
प्रदूषणका कारण धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसाबले संवेदनशील नदी कुरुप बन्दै गएको छ । रासस