सरकारी डाक्टरको मेडिकलमा ताला
जिल्ला अनुगमन समिति कास्कीले पोखरा बसपार्कस्थित सरकारी डाक्टरले सञ्चालन गरेको मेडिकलमा ताला लगाएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज ढाकाराम श्रेष्ठले सञ्चालन गरिरहको अस्पतालमा अनुगमन समितिले ताला लगाएको हो ।
मेडिकल सञ्चालनको अनुमति लिएर गैरकानुनी रूपमा अस्पताल चलाएको पाइएकाले ताला लगाएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख बोधराज सुवेदीले जानकारी दिए । अनुमतिबिना नै बहिरंग सेवा, प्रयोगशाला, एक्सरेलगायतका सेवा सञ्चालन गरेको भेटिएको सुवेदीले बताए ।
अनुगमनमा खटिएका सरकारी अधिकारी तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिहरूले श्रेष्ठलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएका छन । अस्पताल चलाउने भए सोही बमोजिमको प्रक्रिया र मापदण्ड पुरा गर्न आग्रह गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक अधिकृत रवीन्द्र बस्ताकोटीले जानकारी दिए । “मेडिकल र अस्पताल चलाउन फरक प्रक्रिया र मापदण्ड चाहिन्छ,” उनले भने, “सोही बमोजिम प्रक्रिया पुरा गर्न भनेका छौँ ।”
यस्तै, अनुगमन समितिले स्याङ्जा सिटी ल्याबरोटरीमा पनि ताला लगाएको छ । बिनादर्ता सञ्चालन भएको पाइएकाले ताला लगाएको अनुगमन टोलीले जनाएको छ ।
जिल्ला अनुगमन समितिले पोखरामा रहेका विभिन्न सातवटा निजी स्वास्थ्य संस्थाहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांशले मापदण्ड पुरा नगरेको अनुगमनमा सहभागीले बताएका छन् ।
पोखरा उपत्यकामा हालसम्म २१ वटा निजी अस्पताल, ५० वटा दन्त अस्पताल र १०० वटा क्लिनिकले सञ्चालनको अनुमति लिएका छन् ।
युवराज श्रेष्ठ, पोखरा