चितवनमा गाडीको ठक्करबाट वर्षमै १७ वन्यजन्तु मरे
चितवनको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनकोे ठक्करबाट मरेका छन् ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको ठक्करबाट मरेका हुन् । यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारीदेखि जुगेडीसम्मको सडक खण्डमा पाँचवटा वन्यजन्तु मरेका छन् । मरेका जनावरमा मृग, रतुवा र बँदेल रहेका छन् ।
हाल उक्त क्षेत्रमा संयुक्त अप्रेशन क्याम्प खडा गरी गस्ती गरिँदै आएको छ । उक्त खण्डमा दुई ठाउँमा सडकमुनि जनावर आवतजावत गर्नका लागि बाटो निर्माण गरिएको भएपनि सो बाटो वन्यजन्तुले उपयोग नगरेको पोडेलले बताए ।
वन्यजन्तु संरक्षणका लागि वन्यजन्तुअनुकुल आकाशे सडकको विकल्प नरहेको पौडेलको भनाइ छ । पानी पिउन, चरनका लागि र संसर्गका लागि वन्यजन्तु सडकबाटै आवतजावत गर्ने गरेको उनले बताए । रासस