पोखराः सडक दुर्घटनाको प्रमुख कारण सडकका खाल्डा
पोखरा महानगरमा सडक दुर्घटनाको प्रमुख कारक बनेको सडक अब मर्मत सम्भार मात्रै होइन, गुरुयोजना बनाएर पुनर्निर्माण गर्नुपर्ने बेला भइसकेको छ ।
पोखराको बाटुलेचौरको सडक र नाली व्यवस्थित भइदिएको भए गण्डकी बोर्डिङ स्कुलका तत्कालीन मुख्य प्रशासक कृष्ण थापा अहिले पनि स्कुलको प्रशासनिक र सामाजिक काममा खटिइरहेका हुन्थे । तर अफसोच ! गतवर्ष उनको बाटुलेचौरमा सडकको नालीमा बगेर ज्यान गयो ।
पानी परेको बेला सडकमा निस्कनु र नालीमा पर्नु थापाको गल्ती थिएन । वर्षाको पानीलाई सडकबाट निकास दिन नसक्नुको परिणाम थियो त्यो । तर, थापाको दुर्घटना र त्यस्ता अन्य दुर्घटनाको जिम्मेवारी लिने कोही भएन । न त त्यो दुर्घटनाबाट पाठ सिकियो ।
काठमाडौंको सामाखुशीमा एक बालिका सडकको नालीमा बगेको भिडियो ‘भाइरल’ भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्रै सम्पूर्ण खाल्डा पुर्न निर्देशन दिए तर, देशभर भइरहेका यस्ता घटना हुन नदिन कसले निर्देशन दिने ? कसले जिम्मेवारी लिने ?
नेपालमा सबै भन्दा धेरै पानी पर्ने ठाउँमध्येको पोखरा महानगरका सडक वर्षाका बेला जलमग्न हुन्छन् । सडकको छेउका नाला धेरै ठाउँमा टालिएका छन् भने कतिपय ठाउँमा वर्षाको पानी धान्नै नसक्ने गरी साँघुरा छन् । यहाँका अधिकांश खुल्ला ठाउँमा घर बनेपछि वर्षाको पानी जमिनले सोस्दैन, बगेर जाने निकास पनि छैन ।
परिणामस्वरुप जिर्ण सडकको खाल्डा, नाली केही देखिंदैनन्, यात्रुदेखि सवारी साधनसम्म तीनै नाली र खाल्डामा परेर दुर्घटना भइरहेको छ ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रेमप्रकाश खत्री सडकलाई क्षतिग्रस्त हुन नदिन पनि सडकमा पानी जम्न दिन नहुने बताउँछन् । सडक फराकिलो र नाली ठूलो बनाउने गरी पोखरा उपत्यका सडक गुरुयोजना बनाउन आत्यावश्यक भइसकेको उनको भनाई छ ।
महानगर क्षेत्रभित्रका केही भित्री सडक बाहेक २७ किलोमिटर मर्मत सम्भारको जिम्मा डिभिजन सडक कार्यालयले लिएको छ । पोखरा महानगरका मेयर मानबहादुर जिसीसँग डिभिजन कार्यालयले असारभित्रै मर्मत सम्भार सक्ने जनाए पनि अझै काम हुन सकेको छैन ।
कार्यालयका सिनियर सुपरभाइजर रमेशराज पौडेलका अनुसार, साउन महिनाभित्रै महानगरभित्रका सडकको मर्मत सम्भार सकिने छ । तर मर्मतभित्र नाली निर्माण भने परेको छैन ।
महानगर क्षेत्रमा पृथ्वीचोक देखि लेकसाइडको हलनचोक, नयाँबजार क्षेत्र, नागढुङ्गा, बाटुलेचौर लगायतका क्षेत्र जोखिमयुक्त छन् ।
वर्षाको पानी जमेर नदेखिने खाल्डाखुल्डीले दुर्घटना बढाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
पोखरा उपत्यकाभित्र हुने धेरै दुर्घटना मध्ये सडकको दुरावस्था पनि एउटा कारण रहेको ट्राफिक प्रमुख इन्सपेक्टर विश्वराज अधिकारी बताउँछन् ।
सिधै जानुपर्ने सवारी खाल्डा छल्न अर्को साइडमा जाने र लेन अनुशासन मिचिने, अगाडिको सवारी खाल्डाका कारण अचानक रोकिँदा पछाडिबाट गएको सवारी ठोक्किने जस्ता समस्या भइरहेको भन्दै इन्सपेक्टर अधिकारीले थपे, “पानी परेको बेला त झनै समस्या हुन्छ ।”
उनका अनुसार पानी परेको समयमा खाल्डा नदेखिँदा साना गाडी र स्कुटर दुर्घटना हुने गरेको छ ।
युवराज श्रेष्ठ, पोखरा