नक्कली लाईसेन्स बनाउने गिरोहका दुई जना पक्राउ
प्रहरीले ६ साउन दिउँसो नक्कली सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाउने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारत जोगीयाही बस्ने दीपक ठाकुर र वीरगञ्ज महानगरपालिका १४ श्रीपुर बस्ने उमेश चौधरी छन् ।
वीरगञ्जमा नक्कली लाइसेन्स बनाउने गिरोह नै सक्रिय रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली र प्रहरी चौकी ईनर्वाको टोलीले रजत जयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रक्सौलबाट ना १२ प २५८४ नम्बरको मोटरसाईकलमा नक्कली लाईसेन्स तथा लाइसेन्स बनाउने प्रक्रियामा रहेका व्यक्तिहरुको फोटो सहितका कागजपत्र लिएर आउँदै गरेका उनीहरुलाई ५ साउन दिउँसो पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीप गिरीले बताए ।
“२० जना जतिको गिरोह नै यस्तो काममा सक्रिय छ भन्ने जानकारी हामीले पाएका छौं,” गिरीले भने “थप अनुसन्धान भईरहेको छ, कर्मचारीको संलग्नताको बारेमा समेत अनुसन्धान गर्छौं ।”
उनीहरुको साथबाट प्रहरीले विभिन्न व्यक्तिहरुको नक्कली लाईसेन्स ४ थान, होलोग्राम स्टिकर ६ थान, मोबाईल २ थान, विभिन्न व्यक्तिको ३८ वटा फोटोहरु, राजश्व तिरेको रसिद ५ थान, रसिदको फोटोकपी १ थान, टाईप गरेर तयार पारेको कार्ड १ थान, कार्ड मात्रै २ थान, रातो कलम, विभिन्न ४ जना मानिसहरुको नागरिकताको प्रतिलिपि, प्रवेश पत्रको फोटोकपी ४ थान, २ थान डायरी र सक्कली प्रवेश पत्र १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
भारतीय नागरिक दीपक ठाकुर आर्थिक वर्ष ०६६/०६७ मा सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भई १ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् ।
सुरेश बिडारी, वीरगञ्ज