टिप्पणीबिहिवार, श्रावण ५, २०७४

पर्यटनको नयाँ आकर्षण बन्न सक्छ– रोपाइँ महोत्सव र ध्यान शिविर

वसन्त महर्जन

कपिलवस्तुमा रोपाइँ महोत्सव र ध्यान शिविर विश्वभरका बौद्ध तीर्थयात्रीलाई आकर्षित गर्ने गज्जबको नयाँ प्रडक्ट हुन सक्छ ।

कपिलवस्तु क्षेत्रमा रोपाइँ महोत्सव र ध्यान शिविर संचालन गरेर पर्यटकीय गतिविधि बढाउने अवधारणा निकै महत्वपूर्ण छ। रोपाइँ महोत्सवले २६ सय वर्षअघिको कपिलवस्तुको झलक दिनुका साथै गौतम बुद्ध (इ.पू. ५६३–४८३) को जीवनको महत्वपूर्ण घटनासँग पनि सम्बन्ध राख्छ । 

लुम्बिनी संसारकै लागि महत्वपूर्ण बौद्ध क्षेत्र हो । त्यसअनुसारको ध्यानाकर्षण पनि पाएकै छ भन्नुपर्छ, बुद्ध जन्मस्थल लुम्बिनीले। त्यहाँबाट २७ किलोमिटर पश्चिममा रहेको कपिलवस्तुको सन्दर्भमा भने 'माल पाएर पनि चाल नपाएको' उखान चरितार्थ भइरहेको छ। कपिलवस्तुबारे बोल्दा वा लेख्दा प्रायः गौतम बुद्धले २९ वर्ष गृहस्थ जीवन बिताएको गृहनगरको रूपमा मात्र प्रस्तुत गरिन्छ। कपिलवस्तुलाई यति वर्णनमा सीमित गर्नु भनेको अरू धेरै पक्षलाई नजरअन्दाज गर्नु हो ।

कपिलवस्तु गौतम बुद्धभन्दा अगाडि नै विकसित भइसकेको एक समृद्ध जनपद (राज्य) थियो। सँगैको महाजनपद कोशलको प्रभावमा परेको भए पनि त्यसले स्वाधीनता गुमाएको थिएन । उमेर पुगेका कुलीन शाक्यहरू गणतन्त्रात्मक कपिलवस्तुको संस्थागार (पार्लियामेन्ट) का सभासद् हुन्थे। ती सभासद्बाट चुनिएका गणप्रमुखलाई 'महाराज' भनी सम्बोधन गरिन्थ्यो। सभासद्हरूलाई भने 'राजा' भनिन्थ्यो। गृहत्याग गर्नुअघि गौतम बुद्ध पनि संस्थागारका सभासद् थिएर 'राजा' भनी सम्बोधन गरिन्थ्यो। मल्ल, बज्जिलगायतका तत्कालीन गणराज्यहरूको पद्धतिबाट पनि यस कुराको पुष्टि हुन्छ। बुद्धले गणतन्त्र रुचाउने भएकोले भिक्षु संघको संरचनालाई पनि गणतन्त्रात्मक पद्धतिअनुसार संचालन गरेका थिए। यो क्रम संसारभर निरन्तर चलिरहेको छ ।

गृहत्याग गरेको ६ वर्षमा बुद्धत्व प्राप्त गरेका बुद्ध त्यसपछि पटक–पटक गृहनगर कपिलवस्तु आएका थिए। बुद्ध मात्र नभई शुरूका दिनहरूमा उनलाई सघाउने अरू थुप्रै व्यक्तित्व कपिलवस्तुनिवासी थिए। बुद्धत्व प्राप्तिको लागि साधनारत रहँदा सिद्धार्थ (बुद्धको गृहस्थ नाम) लाई सघाउने पञ्चभद्रवर्गीय भिक्षु पनि कपिलवस्तुकै थिए। प्रथम भिक्षु जस्तै पहिलो भिक्षुणी प्रजापति गौतमी (सानीआमा) पनि कपिलवस्तुकै थिइन्। उपस्थापक (निजी सचिव) भिक्षु आनन्द नाताले बुद्धकै भाइ हुन्। बुद्धले विभिन्न ठाउँ र समयमा दिएका उपदेशहरूका संकलक भिक्षु आनन्द नै थिए, जसबाट पछि 'सूत्रपिटक' बन्यो। भिक्षु र भिक्षुणी संघका लागि बुद्धले बनाएका नियमहरू संकलन गर्ने भिक्षु उपालि पनि कपिलवस्तु निवासी नै थिए। उनकै संकलनबाट 'विनयपिटक' बन्यो ।

गौतम बुद्ध गृहस्थ जीवनमा छँदाकी पत्नी यशोधरा पनि पछि भिक्षुणी र छोरा राहुल भिक्षु बनेका थिए। भाइहरू नन्द, भद्दीय, अनिरुद्ध, भगु, किम्भिल, देवदत्त र दिदी नन्दा पनि संघमा भिक्षु तथा भिक्षुणी बनेका थिए । भिक्षु, भिक्षुणी बन्ने अन्य कपिलवस्तुनिवासी त कति थिए कति! कपिलवस्तु बुद्धकै समयमा बौद्ध धर्म अपनाएर बौद्ध राज्य बनेको कुरा इतिहासप्रसिद्ध छ। बुद्धको महापरिनिर्वाणपछि लामो समयसम्म कपिलवस्तुमा बौद्ध गतिविधि भएको पुरातात्विक अन्वेषणबाट पुष्टि भएको छ ।

हाम्रा नीतिनिर्माताहरूको अल्पज्ञानका कारण विश्वलाई आकर्षित गर्न हामीसँग लुम्बिनीबाहेक अन्य बौद्धस्थल नभएको जस्तै भएको छ। यस्तो साँघुरो दृष्टिकोणले लुम्बिनीलाई नै पनि प्रभावित पारिरहेको छ। लुम्बिनी पुगेका पर्यटकहरूलाई कपिलवस्तु जाने बाटो देखाउने गरिएको छैन। आफैं गएकाहरू पनि आधारभूत सुविधा नहुँदा त्यही दिन फर्किरहेका छन् ।

गौतम बुद्धले बोधगया (भारत) मा ध्यान साधनाबाट बुद्धत्व प्राप्त गरे। उनलाई प्रथमस्तरको ध्यानलाभ भने कपिलवस्तुमै रोपाइँको बेला भएको थियो। रोपाइँ महोत्सवमा लगिएका सिद्धार्थले नजिकै जामुनको रूखमुनि ध्यानमा बसेको समयमा त्यस्तो ध्यानलाभ गरेका थिए । बोधगयामा जतिसुकै ध्यान गर्दा पनि उपलब्धि नभएपछि उनले बालककालको ध्यानलाभकै पृष्ठभूमिमा साधना गर्दा अन्ततः बुद्धत्व प्राप्त गरेका थिए ।

२६ सय वर्षअघिको कपिलवस्तुमा राजकीय रोपाइँ महोत्सव हुन्थ्यो, जहाँ गणप्रमुख (महाराज) हलो बोकेर खेतमा आउँथे । अहिलेको कपिलवस्तु पनि कृषिकर्ममा रमेकाले बुद्धकालीन समयको झल्को दिने गरी भव्य रोपाइँ महोत्सव आयोजना गर्न सकिन्छ। महाराज शुद्धोदनले हलो जोतेको खेत र सिद्धार्थ ध्यानमा बसेको रूख भएको ठाउँ पहिचान नभए पनि कपिलवस्तुमा मजाले रोपाइँ महोत्सव आयोजना गरेर संसारभरका बौद्धहरूलाई आकर्षित गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस