कला/साहित्यबुधवार, श्रावण ४, २०७४

'एन्टिगोनी' ग्रीक क्लासिकसँग साक्षात्कार

शंकर तिवारी

कानून ठूलो कि विवेक ? यो प्रश्नले शासकहरूलाई सदैव पिरोल्छ। जनसाधारणमा पनि यो बहसमा एकमत निकाल्न गाह्रो हुन्छ । वास्तवमा यो बहस अनादिकालदेखि चल्दै आएको देखिन्छ। ग्रीक नाटककारहरूले उहिल्यै यसबारे विमर्श गरेका छन्। तीमध्ये सोफोक्लिज प्रमुख हुन् । 

मण्डला नाटकघरमा चलिरहेको 'एन्टिगोनी' नाटकको दृश्य । तस्वीरः देव न्यौपाने

सोफोक्लिज वियोगान्त नाट्य परम्पराका लागि प्रसिद्ध छन्। उनले दुई सहस्राब्दी पहिले एन्टिगोनी नाटकमा लामो पत्रमार्फत विवेकका पक्षमा आदिम विद्रोह उतारेका छन् । थिबिस राज्यमा राजा इडिपसको निधनपश्चात् उनका दुई छोरा एटियोक्विस र पोलिनाइसिसमा उत्तराधिकारको विवाद चल्छ । पोलिनाइसिसलाई देशनिकाला गरिन्छ। तर, बदलामा उनी शत्रु सेनालाई साथमा लिएर आफ्नै देशमाथि आक्रमण गर्न तम्सन्छन् । परिणामतः युद्धमा दुवै दाजुभाइ मारिन्छन्। नयाँ राजा इडिपसका साला अर्थात् मृत राजकुमारहरूका मामा क्रियोनले जेठा एटियोक्विसलाई राष्ट्रभक्त र कान्छा पोलिनाइसिसलाई देशद्रोही घोषणा गर्छन्। र, उनको शवलाई कसैले अन्तिम संस्कार गर्ने प्रयत्न गरे मृत्युदण्ड दिने आदेश दिन्छन् ।

बहिनी एन्टिगोनीलाई भने मामा क्रियोनले आफ्ना मृत दाजुभाइको लाशमाथि गरेको विभेद मन पर्दैन । उनले नयाँ क्रियोनको आदेश अर्थात् कानूनको अवज्ञा गर्छिन्। कानूनको अवज्ञाले एन्टिगोनीलाई मृत्युदण्डको भागिदार बनाउँछ, तर उनी यसलाई सहर्ष स्वीकार गर्छिन्। एन्टिगोनीले गरेको विद्रोहले क्रियोनको राज्यमा मात्र नभएर परिवारमा पनि भुइँचालो ल्याइदिन्छ ।

क्रियोनले कानूनको पक्ष लिन्छन्, एन्टिगोनीले विवेकको। एन्टिगोनी राजालाई भन्छिन्– एउटा लाशलाई राजकीय सम्मानको घोषणा र अर्को लाशलाई बेवास्ता अर्थात् लाश छुनेलाई पनि मृत्युदण्डको घोषणा तपाइँले राजा भएर गर्नुभयो। तर एउटी बहिनीका लागि राजाको कानून भन्दा विवेक अर्थात् अन्तर्मनको आवाज ठूलो हुन्छ। तपाइँ मामा भन्दा राजा बेसी हुनुभयो। म बहिनी भएकोले मेरो कर्तव्य पूरा गर्छु । तर, क्रियोन कानून र त्यसमाथि पनि नारीका अघि नझुक्ने दोहोर्‍याइरहन्छन्। नाटकमा शासकहरूले महिलाप्रति गरिने भेदभावपूर्ण व्यवहार देखाइएको छ ।

दुई सहस्राब्दी पहिले नारीले गरेको यस्तो विद्रोह अहिले सोच्दा कस्तो अनुभूति हुँदो हो, यसबारे चर्चा त हुनै बाँकी छ। तर जे होस् एन्टिगोनी त्यस अर्थमा नारी स्वतन्त्रताभन्दा विवेकको आवाज बोल्नेहरूका लागि जुगजुगान्तरसम्म प्रेरणाकी स्रोत बनेकी छन् ।

ग्रीक नाटकलाई मञ्चन गर्नु आफैंमा कम जोखिम छैन। दशकअघि इडिपस नाटकलाई गुरुकुलमा मञ्चन गरेर सुनिल पोखरेलले त्यस्तो जोखिममार्फत वाह्वाही बटुलेका थिए।  गुरुकुलबाटै प्रशिक्षित राजन खतिवडाको निर्देशकीय अवतारमा एन्टिगोनी प्रस्तुत भएको छ । कोलकाता निवासी विक्रम परियारले हिन्दीबाट गरेको अनुवादलाई सोमनाथ खनालले अंग्रेजीसँग मिलान गर्दै नाटकलाई नेपालीकरण गरेका छन् । नाटकको संवाद सहज र स्वाभाविक लाग्छ ।

एन्टिगोनीको भूमिकामा सिर्जना सुब्बाले न्याय गरेकी छन्। क्रियोन बनेका विजय बरालले राम्रो छाप छोडेका छन्। पहरेदारको भूमिकामा प्रदीपकुमार चौधरी संवादमार्फत दर्शकलाई प्रभावित पार्छन् । कोरागरु (पशुपति राई), इस्मेली (रेजना ओली), हेमन (विकास जोशी), टेरेसिया (सोमनाथ खनाल) र दूत (उमेश तामाङ) कोही पनि कमजोर लाग्दैनन् ।

मण्डला नाटकघरमा २३ असारदेखि २२ साउनसम्म चल्ने नाटक एन्टिगोनी ले दर्शकलाई ग्रीक क्लासिकसँग साक्षात्कार गराउँछ। मञ्च सटिक तर भव्य देखिन्छ। नाटक पारखीका लागि एन्टिगोनी मण्डलामा मञ्चित हुनु अनुपम उपहार नै मान्नुपर्दछ ।

प्रतिकृया दिनुहोस