ह्विलचेयरले ल्याएको खुशी
शारीरिक रुपमा अशक्त बिक्रम दर्जीको स्थानीय तहको निर्वाचनमा मतदान गरिरहेकोे कान्तिपुर दैनिकमा प्रकाशित तस्वीर सामाजिक सञ्जालमा पनि निकै ‘शेयर’ भयो ।
दमकका पत्रकार अर्जुन राजबंशीले खिचेको तस्वीर अर्का पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमा ‘शेयर’ गरेका थिए ।
उक्त तस्वीर र समाचाार पढेकी पोखराकी सामाजिक कार्यकर्ता सरिता गुरुङले विक्रमका लागि ह्विलचेयर खरिद गर्ने चाँजोपाँजो मिलाइन् । हङकङ बस्ने रामकाजी र प्रभातले सहयोग गरे । सरिताकै पहलमा उक्त ह्वीलचेयर झापाका पत्रकार तीर्थ सिग्देलले विक्रमलाई हस्तान्तरण गरे ।
“झट्ट हेर्दा सामान्य सहयोगजस्तो देखिए पनि यसले ठूलो महत्व राख्दो रहेछ,” ह्विलचेयर हस्तान्तरणपछि पत्रकार सिग्देलले भने, “अब विक्रमलाई यतउती जान कसैको भर पर्नु पर्दैन ।”
पोलियो रोगका कारण आजसम्म खुट्टा टेकेर हिँड्न नसकेका झापा शिवसताक्षीका विक्रम दर्जी ह्विलचेयर पाएर दंग छन् । हातमा चप्पल लगाएर घस्रिदै हिँड्ने उनलाई ह्वीलचियर जीवनकै अमूल्य उपहार बन्यो ।
घरको बरण्डामा विक्रमले लुगा सिलाइरहेका ठाउँमा पत्रकार सिग्देल, गाउँपालिका प्रमुख मेनुका काफ्ले तथा छरछिमेकीहरु ह्वीलचियर लिएर पुग्दा विक्रम भावुक बने । “मैले सोचेकै थिइनँ ह्विलचेयरम सजिलै हिंडडुल गर्न पाउँला भनेर,” उनले भने ।
विक्रमलाई ह्वीलचेयर हस्तान्तरण गर्न प्रमुख अतिथि बनेर पुगेकी कमल गाउँपालिका अध्यक्ष काफ्लेले सरकारले गर्नुपर्ने काम हङकङका नेपालीले गरेको भन्दै खुशी व्यक्त गरिन् ।