ब्लगमंगलवार, श्रावण ३, २०७४

'नेपाल खादलको वंशावली'

कनकमणि दीक्षित

काठमाडौं उपत्यकाको भौगर्भिक इतिहास र वंशावलीहरूमा लेखिएको अलौकिक वर्णन बेग्लाबेग्लै कोण र धारबाट बगेका छन्, तर ती एकैठाउँमा आएर टुंगिन्छन्; मानव बसोबास। 

भूगर्भले भन्छ– 'नेपाल खाल्डो' पहिला ठूलो ताल थियो, पूरै २५०० किलोमिटरको हिमालय पर्वत श्रृंखलामा अन्यत्र नपाइने कचौरा आकारको उपत्यकामा अवस्थित।

सन् १८४४ मा राजमानसिंह चित्रकारले कोरेको स्वयम्भू स्तूप तथा हारती र प्रतापपुर मन्दिरहरु । चित्र स्रोत: नेपालिकभूपवंशावली

लाखौं वर्षको कटानका क्रममा पानी विस्तारै बाहिरिंदै गयो र केही जापानी विशेषज्ञका अनुसार, चार–पाँच स–साना ताल रहन पुगे– एउटा ललितपुरको कोड्कूले थामेको, एउटा गोकर्ण माथि र यस्तै यस्तै।

पछि कटानले यी पनि रित्तिए, अनि उपत्यकाको मलिलो माटोमा जंगल हुर्कियो, जसको पुरानो आकार अझै गोकर्ण जंगलमा हामी देख्दछौं।

वंशावलीमा उपलब्ध तथा किम्बदन्ती अनुसार पनि यो 'नेपाल मण्डल' शुरूमा ठूलो ताल नै थियो, जसलाई महाचीनबाट आएका बोधिसत्व मञ्जुश्रीले दक्षिण पर्ने कटुवाल दह क्षेत्रमा तरबार प्रहार गरेर पानी कटाइदिए।

यहाँनेर भूगर्भशास्त्र र वंशावलीको कथन जोडिन पुग्छ– पानी नजमेपछि जंगल हुर्किएको उपत्यकामा मानव बसोबास शुरु हुन्छ। अन्ततोगत्वा दक्षिणएशियाकै उत्कृष्ट शहरी सभ्यता यहाँ हुर्किन्छ– मूर्तिकला, वास्तुकला र आध्यात्मिक उपलब्धिदेखि राज्य व्यवस्थासम्ममा उत्कृष्ट!

यस्तो गजबको उपत्यका हाम्रो पोल्टामा पर्‍यो, तर आधुनिक युगको गत २०–२५ वर्षसम्म पनि पूर्णतः प्राचीनता झल्कने यस उपत्यकाको संरक्षण हामीले गर्न सकेनौं।

आज इचङ्गुदेखि नगरकोटसम्म, बूढानीलकण्ठदेखि चोभारसम्मको 'सत्ययुग' को विशाल ताल भएको ठाउँमा लटरम्म जलकुम्भी हुर्केजस्तो गरी शहरीकरणले ढाकेको छ।

यस शहरीकरणमाझ जनमानसको वातावरणीय, सांस्कृतिक तथा सामाजिक जीवनस्तर घट्दो छ। ताल र पोखरीको के कुरा, चौर र चोक नै मासिएका छन्, उपत्यका निस्सासिंदै छ।

यहाँको सांस्कृतिक र भौतिक वातावरण थप बिग्रन नदिन उपत्यकाको उत्पत्तिबारे इतिहास र किम्बदन्तीको सम्मिश्रण भएको वंशावलीहरूको अध्ययन गरौं, जसले हामीलाई वातावरणीयदेखि संस्कृति संरक्षणमा उत्प्रेरित गरून्।

'नेपाल वंशावली' भनेकै आखिर उपत्यकाको वंशावली हो। दक्षिणएशियाकै तुलनामा यहाँ धेरै वंशावली तयार पारिए दुई–तीन शताब्दी अघि, विशेषज्ञहरूको भनाइमा।

यहाँ लिपिबद्ध धेरैजसो वंशावली संस्कृत वा पुरानो नेपाल भाषामा छन्। अतः (र अफसोच) उपत्यकाका वर्तमानका अधिकांश बासिन्दाले बुझ्दैनन्।

पाटनका एक बौद्ध भिक्षुले झण्डै दुई शताब्दीअघि एउटा वंशावली तयार पारेका रहेछन्, जसले उपत्यकाका वर्तमान गैर–नेवार बासिन्दालाई समेत लालायित पार्न सक्दछ।

केही अंश स्वयम्भू पुराणबाट उद्धृत गर्दै नेपाली भाषामा तयार पारिएको यो वंशावलीको नाम हो– 'नेपालिकभूपवंशावली' अर्थात् नेपालका राजाहरूको वंशावली।

दक्षिणएशिया र नेपालका अन्य वंशावली जस्तै यसमा पनि अगाडिका भागहरू देवदेवी तथा विभिन्न बुद्धको योगदान, महिमा र घुमफिरमा केन्द्रित छन् भने पछिल्लो भागमा ऐतिहासिक पात्र र तिनको गुणगान छ।

बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा रहेको यो वंशावली ११ह४.५ इन्चको १८४ पाना नेपाली कागजमा उतारिएको छ। हरेक पानामा ९ लाइन अक्षर छन्।

यो र यसका समकालीन अन्य वंशावलीको तुलनात्मक अध्ययन गरेर तीन भागको पुस्तक हालै प्रकाशनमा आएको छ, जुन विद्वानत्रय माणिक बज्राचार्य, एक्सेल माइकल्स र निल्स गुत्सोको परिश्रमको फल हो। ('नेपालिकभूपवंशावली' । History of Kings of Nepal: A Buddhist Chronicle . हिमाल बुक्स / सोसल साइन्स बहा: सन् २०१६)

यहाँ वंशावलीको धेरै बखान गर्नुभन्दा रसास्वादनका लागि शुरुको पंक्ति पेश गर्नु नै उपयुक्त हुनेछ। 'नेपाल मण्डल' काठमाण्डू उपत्यकाको उत्पत्तिको वर्णनबाटै वंशावली शुरु हुन्छ। यसरी उपत्यकाको चिनारी दिइन्छ– 'सुमेरुमध्ये हिमालय पर्वतको दक्षिणपादमा रह्याको १ खादल जो छन्...'

बोधिसत्व मञ्जुश्रीले आएर पानीको निकास खोलिदिएको त सबैलाई थाहा छ, तर कसरी?

विपश्वी बुद्ध जब यहाँ आए, उपत्यकाको नाम 'नागवास हृद' रहेछ। उनले उपत्यकाको पश्चिमपट्टिको पहाडको एउटा चुचुरोमा कमल रोपेर चुचुरोको नाम राखे– 'जातमात्रोच्च' (आजको जामाचो/नागार्जुन)। यो थियो सत्ययुगको कुरा।

तस्पछि त्रेतायुगैमा . महाचीनबाट . मंजुश्री नाम बोधिसत्व प्राप्त भै . महामण्डपमा ३ रात बास गरी . स्वयंभूज्योतीरुप दर्शन गरी . पर्वत छेदन गर्न निमित्त . दक्षिण दिशामा . अग्लो नभयाको पर्वतमा गै वरदा मोक्षदा नाम गरियाका . आफ्ना देवीहरूमा . एक फुल्लोच्चपर्वतमा बसाई . एक ध्यानोच्चपर्वतमा बसाई . आफू बीचमा बसी पर्वत छेदन गरी . तलाउका जल निकाली पठाई . छेदन गर्याको पर्वतलाई . कोटवालपर्वत भनी . नाम राखी . पानीका साथ अनेक नाग जलजंतु . चली गयाका जस्तै . जान खोजन्या . कर्कोटक नागराजलाई बुझाई . मेषसंक्रातिका दिन . वास दी यस् क्षेत्रका धनद्रव्य सबै . तम्रा खुसी भयो भनी . कर्कोटक नागराजलाई बुझाई . ठूलो तलाउ बनाई . उस् तलाउमा राखी . खादलमाका पानी सबै . निकालि सकी . श्रीज्योतीरुपस्वयंभूका . विश्वरुप . कार्त्तिकशुक्लका . पूर्णिमाका दिन . दर्शन गरी . श्रीगुह्येश्वरी प्रकाश गरी . श्री गुह्येश्वरीका पनि . विश्वरुप दर्शन . शुक्लादि मार्गशिर महिनाका . कृष्णपक्ष नवमीका रात्रिमा . दर्शन गरी . तस्पछि . गुह्येश्वरीदेखिन् . पद्मनाल छोपी लै गैपद्मगिरिपर्वत बनाई . पद्मका मध्यमा . प्रकाश भैरह्याका . श्रीस्वयंभूज्योतीरुपका दर्शन पूजाभाव गरी स्वयं भूपर्वतमनिदेखिन् . गुह्येश्वरीका संनिधानसम्म . मंजुपट्टन नाम गरी . ठूलो नगर बनाई . औ . गुह्येश्वरीका संनिधान . अनेक . वृक्ष रोपी . आफ्ना शिष्यहरूलाई . अभिषेक दीक्षा दी . तंत्रमार्ग बताई . मंजुपट्टननगरमा बसाई . गृहस्थधर्ममा राखी . गृहस्थधर्ममा रहन ईक्षा नगर्न्यालाई विहार बनाई . विहारमा राखी . धर्म्माकर नाम गरियाकालाई राजा थापना गरी . आफू उत्तरापंथबाट . महाचीनैमा फर्कनुभया.

प्रतिकृया दिनुहोस