वीरगञ्ज भन्सारबाट लक्ष्यभन्दा एक अर्ब बढी राजश्व संकलन
दुई वर्षदेखि ओरालो लागेको वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा एक अर्ब बढी राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७३/०७४ का लागि भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ७ अर्ब ११ करोड ३१ लाख रुपैंयाको लक्ष्य दिएको थियो । तर, कार्यालयले लक्ष्यभन्दा बढी १ खर्ब ८ अर्ब १० करोड ७७ लाख रुपैंया राजश्व असुली गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा लक्ष्यको ९८.७५ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा लक्ष्यको ७७.४२ प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो ।
वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजश्वतर्फ ४० अर्ब ४४ करोड, मुल्य अभिवृद्धि करतर्फ ४० अर्ब ९१ करोड, अन्तशुल्कतर्फ १९ अर्ब १७ करोड र पूर्वाधार, स्थानीय विकास लगायतको करतर्फ ७ अर्ब ५० करोड राजश्व असुली गरेको कार्यालय प्रमुुख सेवन्तक पोखरेलले जानकारी दिए ।
जियालाल साह, पर्सा