पर्सामा ४८ प्रतिशत बजेट फ्रिज, एक महिनामै २० प्रतिशत खर्च
पर्सामा आर्थिक वर्ष २०७३/०७४ मा चालु र पुँजीगत गरी ४८ प्रतिशत रकम अर्थात २ अर्ब १७ करोड ६० लाख ९८ हजार रुपैंया फ्रिज भएको छ ।
खर्च भएको बजेटमध्ये पनि आवको अन्तिम महिना असारमा मात्र पुँजीगततर्फ कुल बजेटको २०.१७ प्रतिशत अर्थात ८६ करोड ७० लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी चालुतर्फ १५.६२ अर्थात कुल बजेटको ९७ करोड ९१ लाख ९७ हजार रुपैंया पनि असारमै खर्च भएको छ ।
पर्सामा पुँजीगत तर्फ विकास निर्माणका कार्यालयहरुले बजेट खर्च गर्न नसक्दा ठुलो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
पर्सामा पुँजीगततर्फ आएको ४ अर्ब २९ करोड ७७ लाख ४६ हजार रुपैंयामध्ये ५८.२७ प्रतिशत अर्थात २ अर्ब ५० करोड ४५ लाख ८७ हजार रुपैंया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक बालाकृष्ण अधिकारी जानकारी दिए ।
जियालाल साह , पर्सा